काठमाडौं, ३ कार्तिक । एक जमानाको चर्चित राष्ट्रिय दैनिक पत्रिका ‘राजधानी’ मा सञ्चालक तथा सत्तारुढ नेकपाबाट निर्वाचित पूर्वसंविधानसभा सदस्य महेन्द्र शेरचन र रिपोर्टरबाट एकैचोटी सम्पादक बनेका सागर पण्डितले पत्रकार तथा कर्मचारीमाथि चरम श्रम शोषण गर्दै आएको खुलेको छ ।
शेरचन र पण्डितले दशैं सुरु भएको सोमबार तेस्रो दिन बितिसक्दा पनि तीन महिना अगाडी देखिको तलब दिएका छैनन् । पत्रकारहरुले पण्डितसँग निरन्तर तलब माग्दै आए पनि दिने भन्दै पटक–पटक टार्ने गरेका छन् ।
रिपोर्टरहरुलाई तलब आउने बताए पनि राजधानी पब्लिकेशनका अध्यक्ष शेरचनलाई भने उनै पण्डितले रिपोर्टरहरुले काम नगरेको भन्दै पुरै तलब नदिँदा पनि फरक नपर्ने सुझाव दिने गरेको आरोप छ ।
पण्डित र शेरचनको मिलेमतोमा गत वर्षको बिदा बापतको पैसा समेत रोकिएको छ । कुनै रिपोर्टर तथा कर्मचारीको बिदा कटौती नभएमा ३० दिन बराबरको रकम पाउने कानुनी प्रावधान रहेकोमा यस वर्ष भने पण्डितले रोकिदिएका छन् । पत्रकारको पाउने सुविधा रोकेर पण्डितले भने आफ्नो तलब बढाउन र दशैं अघि नै कार किन्न लागि परेका छन् ।
शेरचनले पत्रकार तथा कर्मचारीलाई वर्षौदेखि देखि दशैं बोनश समेत नदिएर श्रम शोषण गर्ने गरेका छन् । कानुनमै एक महिना बराबरको तलब चाडपर्व बोनशको रुपमा दिने प्रावधान रहेकोमा शेरचनले भने त्यो पनि नदिएर श्रम शोषण गर्दै आएका हुन् ।
गत वर्ष नेपाल पत्रकार महासंघको टोलीले राजधानीको कार्यालय कुपण्डोलमै पुगेर शेरचनको ध्यानाकर्षण गराएको थियो । तत्काल दशैं बोनश दिने प्रतिवद्धता जनाएका शेरचनले अहिलेसम्म दशैं बोनश दिएका छैनन् । महासंघसँगैको प्रतिवद्धता पूरा नगर्ने राजधानीमा यस पटक भने महासंघले चासो दिएको छैन ।
जबरजस्ती पत्रकारलाई बिदामा राखेपछि महासंघमा उजुरी पर्दा पनि महासंघले राजधानीमा कुनै आन्दोलनको कार्यक्रम नै गरेन । महासचिव रमेश विष्टलाई दशैं बोनस, बिदा र तलब नपाएको गुनासो गरेको र विष्टले समेत बेवास्ता गरेको राजधानीका रिपोर्टरहरुले बताउने गरेका छन् ।
राजधानीमा काम गर्ने पत्रकारहरुले आफूहरुले साउनदेखि तलब नपाएको, बिदा बापतको पैसा र दशैं बोनस नपाएको गुनासो गरेका छन् ।
राजधानीले पत्रकार तथा कर्मचारीलाई जबरजस्ती बेतलबी बिदा बसाएको समेत पाइएको छ । कोरोनाको बहानामा आधा दर्जन बढी पत्रकार तथा कर्मचारीलाई राजधानीले निकालेको हो । केही पत्रकारले महासंघमा समेत उजुरी दिएको पाइएको छ । महासंघले भने उजुरीको सुनुवाई समेत नगरी चुप लागेको एक पत्रकार बताउँछन् ।
प्रधानमन्त्री भेट्दै साहुजी, कार किन्दै सम्पादक
महिनौदेखिको तलब नदिएर श्रम शोषण गरिरहेका राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा मेनपावर व्यावसायी शेरचन र सम्पादक पण्डितको गतिविधि आश्चर्यजनक छ । साहुजीहरुको संस्था फुटेपछि बनेको नेपाल मिडिया एलाइन्समा उनी उपाध्यक्ष समेत छन् ।
मेनपावर व्यवसायी समेत रहेका शेरचनले बालुवाटारसँग हिमचिम बढाउने र श्रमिकलाई शोषण गर्नेमा लागेका छन् ।
यता सम्पादक पण्डितले अन्नपूर्ण छाड्दा घर बनाएको २४ लाख ऋण रहेको बताउने उनले अहिले भने अस्वभाविक आर्थिक प्रगति हासिल गरेको राजधानीकै पत्रकारहरु बताउँछन् । आज भोलि उनको दैनिकी कस्तो कार किन्ने भनेर हेर्नमा बित्न थालेको छ । यता रिपोर्टरहरु भने तलब नदिएको भन्दै उनकै विरुद्ध राजधानीको फेसबुक ग्रुप च्याटमा नाराबाजी लगाउन थालिसकेका छन् ।
अध्यक्ष भन्छन्,‘हामीकैमा झुण्डिएर बस्नुपर्छ भन्ने छैन, राम्रो तलब पाए गए हुन्छ’
तलब नपाउने पत्रकारहरुको गुनासोको विषयमा राजधानी दैनिकका मालिक महेन्द्र शेरचनलाई प्रतिक्रियाका लागि फोन गर्दा उनले गुनासो गर्ने पत्रकार को हुन् नाम दिनुस् भन्दै प्रतिप्रश्न गरे ।
‘को हो त्यो गुनासो गर्ने नाम दिनुस् । तलब हामीले दिनुपर्छ । हामीले पनि पैसा उठाउनुपर्छ । कति चेक फिर्ता आएका छन् । कोरोनाको बेला छ तपाईंलाई थाहा छदैछ,’ उनले भने,‘यत्रो २०÷२० वर्षसम्म कसैको एक पैसा तलब बाँकी छैन । तीन महिना बल्ल लाग्न लाग्यो । चारै महिना होस् न । उठाउँदैछ । उठाउने मान्छेहरु पनि छैन । सबैजना कोरोनाले गर्दा आको छैन । कहाँबाट ल्याएर तलब हाल्ने ल भन्नुस् त ।’
शेरचनले आफूले २ महिना अघि नै पत्रकार तथा कर्मचारीहरुलाई राम्रो ठाउँ पाए अन्तै जान भनेको समेत बताए ।
‘उनीहरुलाई मैले २ महिना अघि नै योभन्दा राम्रो ठाउँ पाए अनुकुल मिल्छ भने तपाईंहरुले खोज्नु भए हुन्छ । कतिपय साथीहरु गए,’ उनले भने,‘राम्रो तलब र समयमा पाउँछ भने गए हुन्छ । हामीकैमा झुण्डिएर बस्नुपर्ने जरुरी छैन । यत्रो बीस बीस वर्षसम्म सबैलाई तलब खुवाउँदै आएको छ ।’
शेरचनले उजुरी गर्न विभिन्न निकायमा पुगेका पत्रकारलाई सोही ठाउँबाट तलब लिन समेत धम्की दिए । ‘अन्तै उजुरी गरेर तलब पाउने भए त उतैबाट लिए भइहाल्यो नी । जहाँ जहाँ तलब पाइन्छ उहाँ नै गए हुन्छ हामीकोमा किन काम गर्नु पर्यो । त्यहाँ गएर पाइन्छ र ?’ उनले भने,‘कतिपय आवश्यक परेकाहरुलाई यता उताबाट तानतुन पारेर दिइरहेका छौँ । यो अवस्थामा आफ्नै घरको परिवारले अन्त गएर उजुरी गरेको सुन्दा हामीलाई दुख लागेको छ ।’
दियोपोस्टले समाचार प्रकाशन गर्न लागेकोमा घुमाउरो ढंगले उनले विरोध गरे । ‘तपाईंले छाप्नुस् नछाप्नुस् म भन्दिन तर कसैलाई बद्नाम गरेर के पाइन्छ,’ उनले भने,‘उजुरी गरेको कुरा हामीले थाहा पाउनु पर्यो । हामीकोमा हाँसेर आउने हाँसेरै जाने हो कसैको करकपा छैन । हामी भन्दा राम्रो पैसा पाउने ठाउँ छ भने बाटो खुल्ला छ ।’