काठमाडौं, ४ कार्तिक । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एउटा चन्दा प्रकरणले चरम रुप लिएको छ ।
ठूला माफिया र व्यापारीलाई तर्साउँदै चन्दा उठाउँदै आएको यो समुहले केही अघि एक ठूलै घरानाले दिएको चन्दा रकम नै गायब भएपछि लफडा भएको हो ।
आयल निगमले खरिद गरेको जग्गामा अनियमितता भएको विषयमा विप्लव नेतृत्वको समुहले आयल निगमको तत्कालिन कार्यकारी निर्देशक गोपाल बहादुर खड्का र जग्गाकाण्डकै अभियुक्त तथा आइएमएस समुहका अध्यक्ष दीपक मलहोत्रासँग २ करोड रुपैयाँ चन्दा लिएको स्रोतको भनाई छ ।
खड्काद्वारा दिइएको एक करोड रुपैयाँ हाल जेलमा रहेका नेता हेमन्त प्रकाश ओली सुदर्शन मार्फत विप्लवसम्म पुगेको तर, मलहोत्रा मार्फत दिएको एक करोड रुपैयाँ भने गायब भएको उच्च स्रोतले जनाएको छ ।
एक करोड रुपैयाँ चन्दा गायब भएपछि पार्टी हेडक्वार्टरले नेता बसन्त श्रेष्ठ ‘प्रज्वलन’को नेतृत्वमा छानबीन समिति बनाएको थियो । पार्टी केन्द्रीय सदस्य समेत रहेका प्रज्वलनलाई प्रहरीले पक्राउ गरेपछि आन्तरिक छानबीन आयोग नै प्रभावहिन भएको ती नेताको भनाई छ ।
‘बीचमा एक करोड कसले खायो भन्ने नै खुल्न सकेन । प्रज्वलन जी पक्राउ परेपछि यो प्रकरण अहिले अलि सेलाएको छ,’ ती नेताले भने,‘छानबिन नसकिँदै उहाँ पक्राउ पर्नुभयो ।’
प्रज्वलन निकट एक स्रोतको दाबी भने झनै रहस्यमयी छ । उनका अनुसार उक्त चन्दा प्रकरणको छानबीन चलेपछि एक करोड गायब पार्ने समुहले नै उनलाई पक्राउ गर्न सहयोग गरेका थिए ।