चलाउनेमाथि आक्रमणको नालिबेली : आचार्य समुहको गुण्डागर्दीमा यी प्राध्यापकको भूमिका शंकाष्पद !

दियो पोस्ट  

रीता बुढाथोकी


काठमाडौं, ५ कार्तिक । केही वर्षअघि त्रिभुवन विश्वविद्यायलय भित्र उपत्यकाभरिका समाजशास्त्रका विद्यार्थी र प्राध्यापकहरुले जुलुस लगाए । जुलुसको माग थियो– समाजशास्त्र र मानवशास्त्र विभाग विभाजन ।
फलस्वरुप सन् २०१५ मा त्रिभुवन विश्वविद्यालय अनतर्गत रहेको समाजशास्त्र र मानवशास्त्र विभाग विभाजित भयो । विभाग विभाजित हुनु र विश्वविद्यालयमा सेमेस्टर सुरु हुनु संगसंगै जस्तो थियो ।


विभाग विभाजनपछिको पहिलो सेमेस्टरका विद्यार्थी थिए–हरी आचार्य । शिक्षक थिए–प्रेम चलाउने । हरी सरासर कक्षाकोठामा आउने र क्लास सकिएपछि घर फर्किने विद्यार्थी थिएनन्, विभाग विभाजनको आन्दोलनमा डटेका, नेवि संघको राजनीति गर्ने चल्तापुर्जा विद्यार्थी नेता थिए ।

चलाउनेपनि विश्वविद्यालयका कक्षा सकेर अर्को कलेज पढाउन जाने ‘हेलमेट टिचर’ थिएनन्, विश्वविद्यालयको क्याफेमा बसेर अघिल्लो रात पढेका कार्ल मार्क्स र म्याक्स वेवरका सिद्धान्तलाई विश्वविद्यालयको राजनीतिसँग जोडेर व्याख्या गर्ने ल्याकत भएका उर्जाशील र क्षमतावान प्राध्यापक थिए । दुवैले कैयौँ पटक विश्वविद्यालयको क्याफेमा हार्दिक बहस गरे । पहिलो भेटपछिका ६ वर्षसम्म चलाउने र आचार्यबीच शिक्षक र विद्यार्थीबीच कक्षाकोठामा कायम हुने औपचारिक सिमालाई पार गरेर व्यक्तिगत तहमा उठेको सुमधुर सम्बन्ध थियो ।


‘हरी मेरो विद्यार्थी थियो, उसले मेरा अगाडि कहिल्यै मर्यादाको सिमा नाघेर कुरा गरेन, हाम्रो क्याफेमा बसेर संगै चिया खाने स्तरको हार्दिक सम्बन्ध थियो, विद्यार्थी संगठनमाथि मैले यदाकदा गर्ने कडा टिप्पणीप्रति पनि कहिल्यै ठाडो जवाफ फर्काउँदैनथ्यो’, हरीसँगको ६ वर्ष लामो व्यक्तिगत सम्बन्धलाई चलाउनेले आफ्नो सहकर्मीसँग यसरी स्मरण गर्छन् ।

चलाउनेको ६ वर्ष लामो हरीसँगको व्यक्तिगत सम्बन्धले गत २० असोजमा जुन मोड लियो, विश्वविद्यालय र प्राज्ञिक जगतमा त्यसको पराकम्प भने लामो समयसम्म रहिरहनेछ । हरी आचार्य र योगेन्द्र रावलले परिचालित गरेको समुहले २० असोजमा प्रेम चलाउनेमाथि सांघातिक हमला गर्यो, ३ जनाले रड र बाँसका भाटा शरीरभरी प्रहार गरेर चलाउनेलाई विश्वविद्यालयभित्रै मरणाशन्न अवस्थामा छाडिदिए ।

चलाउनेलाई आफू संयोगले बाँचेको अनुभूती हुन्छ । ‘उनीहरुले मलाई ज्युँदो छाड्ने उद्धेश्यले आक्रमण गरेकै होइनन्, म कसरी बाँचेर अहिले सम्झिँदा अचम्म लाग्छ, शरीरमा चोट नलागेको ठाउँ कतै छैन, निधारको सानो भागमा समेत ८, १० ठाउँमा रडले हानेका छन्’, उनी भन्छन् ।

त्रिभुवन विश्वविद्यालयका एकजना पुराना प्राध्यापकको सम्झनामा यसअघि पनि विद्यार्थी र शिक्षकमाथि विभिन्न नाममा हातपातका घटना भएपनि यति क्रुर र बर्बर आक्रमणको घटना भने यो पहिलो हो । मेडिसिटी हस्पिटलमा उपचार गराइरहेका चलाउनेको टाउको र खुट्टामा गम्भीर चोट छ भने भाँचिएको खुट्टाको अप्रेसन गरिएको छ । ६ महिनासम्म सहज रुपमा हिँडडुल गर्न नसक्ने जानकारी अस्पतालले दिइसकेको छ ।


सर्वत्र निन्दा गरिएको यति क्रुर र जघन्य अपराध गर्न हरी र योगेन्द्रको समूहलाई कसले प्रेरित गर्यो ? घटनाको पृष्ठभूमी लामो र यसको सम्बन्ध धेरैतिर जेलिएको छ । चलाउनेको आक्रमणमा संलग्न रहेको भनेर २५ असोजमा जब रुपेश शाह र रवीन लामा पक्राउ परे, टियु समाजशास्त्र विभागलाई नजिकबाट चिनेका एकजना प्राध्यापक अनुसन्धानको दायरालाई प्रहरीले यत्तिमै सिमित गर्ने हो की भन्ने खतरातर्फ औँल्याउँछन् ।

‘अहिले पक्राउ परेका त भाडाका मान्छे हुन्, खास अपराधि अझै फरार छन्, हरी र योगेन्द्रले षड्यन्त्र गरेका हुन् तर उनीहरुका पछाडि विश्वविद्यालयको एउटा गिरोह नै सक्रिय छ, उनीहरुको साँठगाँठ निक्कै पुरानो हो, अहिले यिनै आलाकाँचा दुई भाइ केटालाई देखाएर त्यहाँभित्रको सत्यतथ्य लुकाउने कोसिस भइरहेको हामीले महशुस गरेका छौँ’, उनी भन्छन्, ‘त्यसो भयो भने चलाउने सरले त न्याय पाउनुहुन्न नै, यस्ता आपराधिक घटना पटकपटक दोहोरिरहन्छन्, उनीहरुले अहिले पार्टीको संयन्त्र प्रयोग गरेर घटना दबाउने र यसमा संलग्नलाई बचाउने सबै कसरत गरिरहेका छन् ।’


ती प्राध्यापकले भनेजस्तै घटनाको पृष्ठभूमी भने गहिरो र बहुआयामिक छ, समाजशास्त्रभित्र लामो समयदेखि हुर्किरहेको कटुता र वैमनस्यता एक्कासी विष्फोट हुँदा त्यसको सबैभन्दा ठूलो क्षति चलाउनेले बेहोरे ।


त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिका रुपमा धर्माकान्त बाँस्कोटा आउनासाथ नेवि संघका ५ वटा कमिटीमध्ये कृष्ण प्रसाद सिटौला र गगन थापा गुटका हरी आचार्यको नेतृत्वमा रहेको कमिटीले आन्दोलनको घोषणा गर्यो । बाँस्कोटा अगाडिका उपकुलपति तीर्थ खनियाँले बौद्धिक चोरी गरेको प्रमाण मिडियाबाट सार्वजनिक भइसक्दासमेत कहिल्यै विधिको प्रश्न नउठाएको यो समुहले बास्कोटाको कुर्सी जलाए । विधि र विश्वविद्यालयलाई शान्ती क्षेत्र कायम गर्नका लागि भन्दै आन्दोलनको घोषणा गरे । त्यसबेला कुर्सी जलाएको घटनालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत निन्दा गरेका थिए । खनियाँ उपकुलपति हुँदा हरी आचार्यको समुहले विभागीय प्रमुख र विश्वविद्यालयमा हुने पुननिर्माणको ठेक्कापट्टामा चलखेल गर्ने गरेको नेवि संघकै अन्य कमिटीका सदस्यहरु बताउँछन् ।


घटना हुनुभन्दा करिब एक महिनाअघि चलाउनेलाई आचार्यको फोन आयो । ‘सरलाई थाहै होला मैले धेरैका हातखुट्टा भाँचेको छु भन्ने, हामीले लगाएको ताला खोल्नुपर्छ भन्दै हिँड्नुभयो भने घर परिवार भएको मान्छे भविष्य सम्झिनुहोला है सर, आफ्नो गुरु भएकाले सम्झाएको मात्रै’, आचार्यले एकतर्फी धम्की दिएर फोन राखेको बताउँछन् चलाउने । गुरु भएकाले चलाउनेसँग राम्रै व्यवहार गरेपनि विश्वविद्यालयमा गुण्डागर्दी र आपराधिक कार्यका रेकर्ड राखिसकेका थिए आचार्यले । आचार्यले चलाउनेलाई धम्क्याउनुको पृष्ठभूमीमा समाजशास्त्र विभागमा आचार्यको गुटले लगाएको तालाबन्दी थियो ।


विभागीय प्रमुखमा जब युवराज लुइँटेल नियुक्त भए, यो नियुक्तिमा बरिष्ठता र क्षमता मिचिएको औपचारिक आरोप थियो आचार्य समुमहको । तर, पदाधिकारी र विभागीय प्रमुखसँगको मिटिङमा भने कांग्रेसलाई समाजशास्त्र विभाग चाहिने माग राख्यो । उनीहरुले वरिष्ठता र क्षमताको प्रश्न उठाउनै सकेनन् किनभने कांग्रेस कोटामा आचार्यले ल्याउन खोजेका टिकाराम गौतम वरिष्ठतामा तेश्रो नम्बरमा थिए भने योग्यतामा युवराज लुइँटेलभन्दा निक्कै पछाडि पर्थे । गौतमलाई लुईँटेलले पढाएकामात्रै थिएनन्, उनको मास्टर्स र पिएचडी थेसिसका सुपरभाइजर समेत लुइँटेल नै थिए । त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका थिए गौतमले भने लुइँटेलसँग ४ वटा त अन्तर्राष्ट्रिय डिग्री नै थियो । वरिष्ठतामा पहिलो नम्बरमा सुरेन्द्र मिश्र थिए जो केहि महिनामै रिटायर्ड हुँदै थिए, त्यसपछि लुईँटेलको पालो थियो भने हरी आचार्य नेतृत्वको समुहले डिपार्टमेन्ट प्रमुख बनाउन खोजेका टिकाराम गौतम बरिष्ठताको तेश्रो नम्बरमा मात्रै पर्थे ।

त्यसैले बाहिर देखाउनलाई बरिष्ठताको माग देखाएपनि समाजशास्त्रमा बरिष्ठता र क्षमतालाई मिचेर गुटका आधारमा कांग्रेस निकट टिकाराम गौतमलाई विभागीय प्रमुख बनाउनका लागि आन्दोलनमा थियो आचार्य समुह । गौतमलाई विभागीय प्रमुख बनाउने नैतिक र कानुनी आधार नभएपछि उनीहरुले गुण्डागर्दीको अस्त्र प्रयोग गरेका थिए ।


गौतमजस्ता जुनियर प्राध्यापकको महत्वांक्षा बढाइदिने, उनीहरुलाई आर्थिक रुपमा दोहन गरेर आफ्नो जीवन चलाउने र पार्टीको नाजायज सम्बन्ध प्रयोग गरेर चलखेल गर्ने आचार्य समुहको धन्दा नै थियो विश्वविद्यालयमा । यहि धन्दा प्रयोग गरेर विश्वविद्यालयका तत्कालिन भिसी तीर्थ खनियाँको सहायतामा आचार्य समूहले तुल्सिराम पाण्डेपछि प्रक्रिया मिचेर तीन महिनाका लागि अस्थायी विभागीय प्रमुखमा टिकाराम गौतमलाई नियुक्त गरेको थियो ।

यसलाई कतिपय प्राध्यापकले गौतमलाई खनियाँले तीन महिने सुई लाइदिएको भन्दै व्यंग्य गर्थे । पदावधि नसकिँदै तुल्सिराम पाण्डेलाई राजिनामा गर्न लगाएर रिटायर्ड हुनै लाग्दा खनियाँले अस्थायी रुपमा गौतमलाई विभागीय प्रमुख नियुक्त गरेका थिए । खनियाँपछि केहि समयका लागि भिसीमा नियुक्त भएकी रेक्टर सुधा त्रिपाठीले गौतमको तीन महिनाको अवधिलाई पटकपटक थपिदिएकी थिइन् । गैह्रकानुनी रुपमा तीन महिनाका लागि विभागीय प्रमुख नियुक्त भएपछि गौतमको महत्वाकांक्षा अस्वाभाविक रुपमा बढ्न पुगेको थियो । पुरानो सम्बन्धलाई उपयोग गर्दै पुनः विभागीय प्रमुखमा नियुक्तिका लागि गौतम आचार्यको शरणमा पुगेका थिए । तीन महिनाका लागि नियुक्ति दिएपनि गौतमले करिब एक वर्ष विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।


यो एक वर्ष गौतम र आचार्यको साँठगाँठ अझ बाक्लियो । विभागमा आर्थिक अपचलन गरेर आचार्यलाई पोस्ने काम गरे गौतमले । भवन पुननिर्माणको ठेक्कापट्टा आचार्यको सिफारिस अनुसारका ठेकेदारलाई मिलाइयो । एउटा साधारण कुर्सी खरिद गर्दा ८ हजारसम्मको बिल बनाइयो । शिक्षकलाई ल्यापटप बाँड्दा त्यसमासमेत दोहन गरिएको थियो । यसरी आचार्यलाई गौतमले आर्थिक श्रोत दुरुपयोग गरेर पोस्ने र आचार्यले पार्टी र संगठनको आड लिएर नियम विपरित गौतमलाई विभागीय प्रमुख बनाउने योजना बनेको थियो । तर, बास्कोटा उपकुलपतिमा नियुक्त भएपछि वरिष्ठताका आधारमा विभागीय प्रमुख बनाउने निर्णय गरे ।

यहि निर्णयका आधारमा समाजशास्त्र, अर्थशास्त्र, भाषा विज्ञान, जनसंख्या र शिक्षाशास्त्रमा समेत वरिष्ठताकै आधारमा विभागीय प्रमुख नियुक्त गरिएको थियो । तर, समाजशास्त्रमा आर्थिक गठजोड बनाएका र लामो समयदेखि कांग्रेस निकट विभागीय प्रमुख रहँदा श्रोत दोहन गरेका आचार्यले धम्की र गुण्डागर्दीको अस्त्र प्रयोग गर्न थाले । उनको एकमात्र माग विभागीय प्रमुख गौतमलाई बनाउनुपर्छ भन्ने थियो । बाहिर बरिष्ठता र क्षमता भनेर देखाए पनि उनले विश्वविद्यालय पदाधिकारीदेखि नयाँ नियुक्त विभागीय प्रमुखसम्मका छलफलमा बरिष्ठता र क्षमताको उच्चारणसमेत गरेनन् ।


‘बाहिर उहाँले क्षमता र योग्यताका आधारमा विभागीय प्रमुख बनाउन आन्दोलन गरेको भन्नुहुन्थ्यो, त्यो त असाध्यै राम्रो माग हो हामीपनि त्यही चाहन्थ्यौँ तर जब छलफलमा बस्यो समाजशास्त्रमा टिका सर नै चाहिन्छ भन्दा बाहेक अर्को माग हुँदैनथ्यो’, नवनियुक्त विभागीय प्रमुख युवराज लुइँटेलको भनाइ उद्धृत गर्दै एकजना प्राध्यापक भन्छन् ।


त्यसपछि सुरु भयो आचार्य समुहको महिनौँ लामो तालाबन्दी । समाजशास्त्र विभागले प्राध्यापक सुरेन्द्र मिश्रको नेतृत्वमा वार्ता टोलीसमेत बनाएको थियो । दर्जनौँ पटकका वार्ता विना निश्कर्ष टुंगिन्थे । त्यही टोलीका एकजना सदस्य थिए – चलाउने । वार्तामा चलाउनेले अन्त्यहीन तालाबन्दीले विद्यार्थीको पढाइमा असर परेकाले आन्दोलनको अरु विकल्प रोज्न आन्दोलनकारीलाई सुझाव दिएका थिए । ताला नखुलेपछि विभागले सर्वोच्च अदालतमा मुद्धा दायर गर्यो । अदालतले ताला खोल्ने आदेश दिएपछि विभागको आग्रहमा प्रहरी प्रशासनले समाजशास्त्रको ताला फुटायो । ताला फुटाएपछि हरी आचार्य र उनको संगठनका सचिव योगेन्द्र रावलले विभागीय प्रमुख युवराज लुइँटेललाई विभागभित्रै आमाचकारी गाली गरे ।

‘ए भाइहरु, प्राध्यापकको मर्यादा हुन्छ, हामी यहाँ धेरैजसो तपाईँहरुका शिक्षक हौँ, मर्यादित रुपमा बोल्नुस्’, चलाउनेले भनेका थिए । उनीहरुले चलाउनेमाथि पनि तँ तँ म म को भाषा प्रयोग गरे । यहिबेला विद्यार्थीले विभागको अन्त्यहीन तालाबन्दीले पठनपाठन र थेसिस बुझाउने काममा असर परेको भन्दै विज्ञप्ति निकाले । अदालतको आदेशले ताला खोलिएको घटनाले तिल्मिलाएका हरी आचार्यको समूहले विभागीय प्रमुख लुइँटेललाई विश्वविद्यालय हाताभित्र प्रवेश निषेध गरेको विज्ञप्ति निकाल्यो । नियमित विद्यार्थीले विश्वविद्यालय हाताभित्र भय र त्रासको वातावरण नबनाउन आग्रह गरे ।

डिपार्टमेन्टभित्र भनाभन भएकै दिन विभागबाहिर नेवि संघ सचिव योगेन्द्र रावलले चलाउनेलाई बोलाएर डिपार्टमेन्ट प्रमुख युवराज लुइँटेलका पक्षमा लागे हात काटिदिने धम्की दिएका थिए । चलाउने बस्ने क्वार्टर आफूलाई थाहा भएको र त्यहीँ आएर टाउको फोरिदिने धम्की प्राध्यापकहरुकै बीचमा दिए । त्यसको दुई दिनपछि नेपाल वैँकबाट पैसा निकालेर फर्किँदैगर्दा चलाउनेमाथि आचार्य समुहले सांघातिक आक्रमण गरे ।


किरण आचार्य मानविकी तथा समाज विज्ञानका सहायक डिन हुन् । तर, हरी आचार्यको टोलीबाट उनले डिपार्टमेन्टसँग बार्गेनिङमा बसे । सहायक डिनजस्तो व्यक्ति नेवि संघका अरु कमिटीले समेत अवैधानिक भनेको एउटा गुटको तर्फबाट डिपार्टमेन्टको वार्ता टोलीसँग बस्न मिल्छ ? यस घटनामा आचार्यसंग उनको साँठगाँठ प्रष्टै देख्न सकिन्छ । सहायक डिन आचार्य पटकपटक नेवि संघका तर्फबाट डिपार्टसँग वार्तामा बसेका छन्, त्यसैले यस घटनामा सहायक डिन आचार्यको शंकास्पद भूमिका भएकाले चलाउने पक्षले उनलाई समेत छानविनमा ल्याउन माग गरेको छ ।


टियु समाजशास्त्रकै उपप्राध्यापक हुन् विष्णु बसेल । टिका गौतमका भित्रिया उनी विश्वविद्यालयमा पनि प्रायः आचार्यकै समुहमा देखिन्थे । आचार्यको नामबाट विज्ञप्ति जारी गर्ने र उक्त गुटको रणनीति बनाउने बैठकमा समेत सहभागी हुन्थे । उनलाई नजिकबाट चिन्ने एकजना प्राध्यापकका अनुसार बसेल स्थायी हुन चाहन्थे, त्रिवि सेवा आयोगको परीक्षामा प्रश्नपत्र बनाउने, आन्सर सिट चेक गर्नेदेखि अन्तर्वाता र कृती मुल्यांकनमा डिपार्टमेन्ट प्रमुखको हात हुने भएकाले टिका गौतमलाई उनले प्रयोग गरेका थिए ।

कुनै समय नेवि संघको राजनीति गरेका उनले विश्वविद्यालयमा हुने राजनीतिलाई नबुभ्mने प्रश्नै थिएन । त्यसैले हरी आचार्य र टिकाराम गौतमको सहायताबाट जागीर स्थायी हुने सम्भावना देखेर उनी यो समुहलाई भरमग्दुर साथ दिने गर्थे । आफ्नै सहकर्मी निर्घात कुटिँदा उनले चलाउनेलाई स्वास्थ्य लाभको कामना गर्ने सामान्य शिष्टतासमेत अहिलेसम्म देखाएका छैनन् ।


चलाउनेमाथि भएको आक्रमणको जरा खोज्नभने समाजशास्त्र र मानवशास्त्र विभाग अलग भएको समयमा पुग्नुपर्ने हुन्छ । डिपार्टमेन्ट अलग गराउने माग समाजशास्त्रकै प्राध्यापक र विद्यार्थीको थियो । भर्ना हुने विद्यार्थी १० जनापनि नकट्ने मानवशास्त्रले अवसर र श्रोत र धेरैजसो समय डिपार्टमेन्ट प्रमुख पाएको तर समाजशास्त्र अवसरबाट बन्चित भएको भन्दै विद्यार्थी र प्राध्यापक आन्दोलित भए । यहि आन्दोलनको बलमा सन् २०१५ मा समाजशास्त्र र मानवशास्त्र अलगअलग डिपार्ट बने । समाजशास्त्र छुट्टिएपछि पहिलो विभागीय प्रमुख बने तुल्सिराम पाण्डे । कांग्रेस निकट पाण्डे र

गौतमको विभागमा रजगज चल्यो । उनीहरुले भ्यालीका विभिन्न कलेजका कांग्रेस निकट प्राध्यापकलाई केन्द्रीय विभाग भित्र्याए । कसैलाई पाटनबाट भित्र्याइयो, त्रिचन्द्रबाट किरण आचार्य भित्रिए भने भ्याली बाहिर कांग्रेस निकट प्राध्यापक संगठनमा राजनीति गरिरहेका प्राध्यापकलाई समेत उनीहरुले विभागमा ल्याए । वामपन्थी पृष्ठभूमिका प्राध्यापकले केन्द्रीय समाजशास्त्र विभागलाई त्रिचन्द्र बनाएको आरोप लगाए । कांग्रेस निकट पाण्डे र गौतम लगायतले भने आफ्नो पार्टी निकट प्राध्यापक र विद्यार्थीको जोडबलमा विभाग विभाजन सम्भव भएकाले डिपार्ट हेड कांग्रेस निकट प्राध्यापक नै हुनुपर्ने मान्यता राखे ।


विभागीय प्रमुख पाण्डे र गौतमको समूहले केन्द्रीय समाजशास्त्र विभागको इतिहासमै पहिलोपटक पार्टीगत भागवण्डाका आधारमा पार्ट टाइम शिक्षक नियुक्ति गरे । ६ जना पार्ट टाइम शिक्षकमध्ये ३ जना हरी आचार्य गुटको नेवि संघको सिफारिसमा गरिएको थियो भने २ जना अनेरास्ववियु र एकजना माओवादी केन्द्र निकट क्रान्तिकारीको सिफारिसमा नियुक्त गरिएको थियो । पार्ट टाइम शिक्षक नियुक्त गर्दा आचार्य र रावलको समुहले नियुक्त गरिएका शिक्षकबाट पैसा उठाएको चर्चा अझै विभागमा सेलाएको छैन ।

विभागमा आधा दशकदेखि जायज नाजायज सबै गरिरहेको एउटा समूह त्यसबेला तिल्मिलायो जब कम्युनिष्ट आस्था भएका युवराज लुइँटेल वरिष्ठता र कार्यक्षमताका आधारमा विभागीय प्रमुखमा नियुक्त गरिए । विभागमा वर्षौँदेखि जमेर बसेका अन्तरविरोध सतहमा आउँदा त्यसको शिकार भए उपप्रध्यापक चलाउने ।

चलाउने शुक्रबार हस्पिटलबाट डिस्चार्ज भए । उनको उपचार र न्यायका लागि दौडधुप गर्दा श्रीमती र छोरालाई कोरोना देखियो । उनी हस्पिटलबाट सिधै क्वार्टरमा जान सकेनन्, अझै ठिक नभएका घाउ बोकेरै दिदीको घरमा बस्न गए ।

आफूसँगै पढाउने केहि प्राध्यापक र शिक्षकहरुले भेट्न त टाढाको कुरा स्वास्थ्य लाभको समेत कामना नगरेको सम्झिँदा उनी खिन्न हुन्छन् । दोषी लुकाउन गरिएका प्रयासका बारेमा सुन्छन् र आप्mनो घाउ हेर्दै निराश हुन्छन् । घटनाका वास्तविक दोषीसम्म नै नपुगी अनुसन्धान टुंगिन्छ कि भनेर चिन्तित उनी भेट्न आउनेलाई मलिन श्वरमा सोध्छन्, —के मैले न्याय पाउँछु ?

सम्बन्धित खबर