कानुनको धज्जी उडाएर मिडियामा मदिरा विज्ञापनको होडबाजी : स्वास्थ्य मन्त्रालय मुकदर्शक !

कानुनको धज्जी उडाएर मिडियामा मदिरा विज्ञापनको होडबाजी : स्वास्थ्य मन्त्रालय मुकदर्शक !

काठमाडौं, ५ असोज । मदिरा स्वास्थ्यका लागि हानिकारक छ । हानिकारक बस्तुको विज्ञापन गर्नु नेपालको ऐन अनुसार अपराध हो । तर, नेपाली मिडियामा भने जबजब चाडपर्वको रौनक शुरु हुन्छ तब मदिराको विज्ञापन हुन थाल्छ ।


प्रहरीले सामान्य नागरिकले आफ्नो घर परिवारमा उत्पादन गरेको घरेलु मदिरा नष्ट गरेर ती नागरिकलाई दुख दिइरहेको छ । तर, जनस्वास्थ्य ऐन २०७५ विपरित खुलमखुल्ला मुलुकका प्रतिष्ठित भनिएका दैनिक पत्रिकाहरुमा हरेक दिनजस्तो ज्याकेट लगाएर आउने विज्ञापनमा भने नियामक निकायको आँखा पुगेको छैन । त्यसो त ती पत्रिकाहरु स्वास्थ्य मन्त्रीको टेबलमा नपुग्ने कुरै हुँदैन तैपनि मन्त्री, मन्त्रालय मुकदर्शक बनिरहेका छन् ।


कोरोना भाइरस कोभिड १९ को महामारीबीच शुरु भएको यो दशैं पर्व नजिकिदै गर्दा आजभोली प्रकाशित हुने दैनिक पत्रिकाहरुमा हरेक दिनजसो मदिराको विज्ञापन आउन थालेका छन् । अनलाइनहरुमा स्किप एडको रुपमा विज्ञापन देख्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयका कानुन तर्फका उपसचिव मान बहादुर बस्नेतका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ जारि भइसकेको छ । ऐनको दफा ४५ (क) अनुसार मदिरा जन्य बस्तुको विज्ञापन गर्न पाइँदैन । मदिराको विज्ञापन गरे १० हजार जरिवाना समेत हुने ऐनमा स्पष्ट उल्लेख गरिएको छ ।
२०७५ असोज ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको यो ऐन लागु भएको वर्षौं वितिसक्दा पनि सरकार भने ऐन कार्यान्वयनमा लागेको देखिँदैन ।


बस्नेतलाई यस विषयमा प्रतिक्रिया लिन फोन गर्दा उनले ऐन जारि भएपनि मदिराको प्रावधानबारे भने अनभिज्ञता प्रकट गरे ।

यसले स्वास्थ्य मन्त्रालय आफैले लागु गर्ने पर्ने ऐनमाथि कति निरिहता देखाउँछ भन्ने स्पष्ट पारेको छ ।

ऐनको दफा ४५ (१) मा – ‘मदिरा चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’ भनेर विज्ञापनमा पूर्णत प्रतिबन्ध लगाएको छ ।

Trending News