आयल निगमको रिफ्युलर खरिदमा भारतीय कम्पनिको एकछत्र : मिलेमतोमा घोटालाको आशंका

दियो पोस्ट  

काठमाडौं । नेपाल आयल निगमले गरेको हवाई इन्धन रिफ्युलर खरिदमा चरम मिलेमतो र सेटिङ गरेको पाइएको छ ।


निगमले एक भारतीय कम्पनिलाई बिना प्रतिष्पर्धा मनोमानी रुपमा ठेक्का दिएको पाइएको छ । उक्त कम्पनिले लागत अनुमानभन्दा झण्डै ३० प्रतिशत महँगोमा निगमलाई २७ हजार लिटरको चार थान रिफ्युलर सप्लाइ गरेको पाइएको हो ।


निगमले भारतको नयाँ दिल्ली फरिदावास्थित मथुरा रोडमा रहेको ग्लोब हाइ फ्याब्स एलएपी नामक कम्पनीले चार थान रिफ्युलर उपलब्ध गराएको छ ।


मिति २०७३ माघ २१ मा २७ हजार लिटर क्षमता भएको एउटा रिफ्युलरको मुल्य एक करोड ९८ लाख ३१ हजार ३ सय ७४ अनुमानित लागत अनुमान तयार पारिएको थियो । तर, निगमले ३० प्रतिशत महँगोमा अर्थात प्रति गोटा २ करोड ९६ लाख नेपाली रुपैयाँ खर्च गरेर हवाई इन्धन खरिद गरेको पाइएको हो ।

निगमले चार वटा रिफ्युलर ७ करोड ९७ लाख ८२ हजार भारतीय रुपयाँ अर्थात् नेपाली रुपैयाँ १२ करोड ७७ लाख ७० हजार ८ सय ७३ मा खरिद गरेको हो ।


२०७३ माघ २१ गते २७ किलोलिटर क्षमताको चार थान, १६ किलोलिटर क्षमताको ६ थान र १२ किलोलिटर क्षमताको चार थान रिफ्युलर खरिद गर्नका लागि आइसिबि टेण्डर (ईन्टरनेश्नल कम्पिटेटिभ बिडिङ) गरिएको थियो ।


२७ किलोलिटर क्षमताको हवाई इन्धन रिफ्युलरको अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ र १७ किलो लिटर क्षमताको रिफ्युलरको अनुमानित लागत मुलय १ करोड २१ लाख ९१ हजार ४ सय १८ र १२ किलोलिटर क्षमताको रिफ्युलरको प्रतिगोटाको अनुमानित लागत मुल्य ९६ लाख ७१ हजार ८ सय ५९ रुपैयाँ तोकिएको थियो ।


निगमले २०७३ साल चैत्र १६ गते टेण्डर खोलको थियो । न्युनतम रकम कबोल गर्ने एमएस÷ग्लोब हाइफ्याब्स एलएलपीले निगमको लागत अनुमान भन्दा ३० प्रतिशत महँगोमा कबोल गरेको थियो । लागत अनुमान भन्दा महँगो भएको भन्दै मुल्यांकन समितिले उक्त ठेक्का नै रद्द गरेको थियो ।

तर फेरी २०७४ फागुन ९ गते २७ हजार लिटर (किलोलिटर) क्षमताका ४ थान रिफ्युलर खरिदका लागि आइसिबि टेण्डर आह्वान गरिएको थियो । सो अवधिमा पनि २७ केएल क्षमताको हवाई इन्धन रिफ्युलरको प्रतिगोटा अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ नै थियो ।


तर, निगमका तत्कालिन डेपुटि प्रबन्ध निर्देशक सुशिल भट्टराईको समेत मिलेमतोमा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै भारतीय कम्पनिलाई ३० प्रतिशत महँगोमा रिफ्युलर खरिद गर्ने ठेक्का दिइएको हो । रिफ्युलर खरिदका लागि छानिएको उक्त कम्पनिसँगको बैठकमा तत्कालिन महाप्रबन्धक तथा भ्रष्टाचार अभियोगमा अख्तियारले डामिएका गोपाल बहादुर खड्का समेत थिए । खड्काकै पालामा यो खरिदको सबै प्रक्रिया अगाडी बढाइएको थियो । स्रोतका अनुसार कमिशन बढाउनकै लागि लागत अनुमान भन्दा महँगोमा रिफ्युलर खरिद गरिएको हो । खड्काको योजनालाई हालका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले पुरा गरिदिएका छन् ।


सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीका अनुसार निगमले एउटै मात्रै कम्पनीलाई लागत अनुमान भन्दा बढीमा रिफ्युलर खरिदको ठेक्का दिनु आफैमा भ्रष्टाचार हो ।

‘हाम्रोमा सार्वजनिक खरिद ऐन छ । त्यो ऐनले स्पष्ट रुपमा ३ वटा भन्दा कम कबोल आएमा ठेक्का रद्द हुन्छ,’ उनले भने,‘यहाँ त एउटैलाई पटक पटक ठेक्का दिइएको छ । यसमा मिलेमतो समेत देखिन्छ । हाम्रो कार्यालयले यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’


लकडाउनले रिफ्युलर नआएपछि..


रक्सौल नाका हुँदै नेपालमा रिफ्युलर ल्याउने ठेक्का पाएको ग्लोब हाइ फाब्स एलएलपीले २ वटा मात्रै रिफ्युलर नेपालको रक्सौल नाका हुँदै भित्र्याएको थियो । २ वटा भने कोरोना भाइरस महामारी र लकडाउका कारण नेपाल ल्याउन नसकेको भन्दै आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेललाई इमेल गरेको पाइएको छ । दियोपोस्टले प्राप्त गरेको पत्र अनुसार भारतमा लकडाउन भएका कारण २ वटा रिफ्युलर नेपाल ल्याउन नसकिएको जनाइएको छ । उक्त कम्पनिका तर्फबाट सिइओ पिके चौधरीले हस्ताक्षेर गरेका छन् ।


थप रिफ्युलर खरिदको ठेक्का पनि सोही कम्पनिलाई !

निगमले केहीदिनअघि गोरखा पत्रमा प्रकाशन गरेको सुचना अनुसार २७ किलो लिटरको रिफ्युलर खरिदका लागि फेरी सोही भारतीय कम्पनिलाई छानेको छ । कुल ८ करोड ७४ लाख रुपैयाँमा ग्लोब हाइ फाब्स कम्पनिलाई नै उक्त रिफ्युलर खरिदको ठेक्काका लागि छनौट गरिएको सुचनामा उल्लेख छ ।

TATA ADD