अर्बौं ठगी गर्ने इच्छाराज तामाङलाई अग्नि खरेलको कानुनी संरक्षण : मासिक शुल्क ५ लाख रुपैयाँ !

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन २०, २०७८ | २३:०८:२५

काठमाडौं । पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले इच्छाराज तामाङलाई कानुनी संरक्षण दिएको पाइएको छ । सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्व एमाले सांसद इच्छाराज तामाङले अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेको खुलाशा भएको हो ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ । सिभिल सहकारी स्रोतका अनुसार खरेलले केपी ओली नेतृत्वको सरकारमा महान्यायधिवक्ता रहँँदासम्म सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

‘अग्नी खरेलले मासिक रुपमा ५ लाख रुपैयाँ बुझ्दै आएको देखियो । उहाँले महान्यायाधीवक्ता पदमा रहँदा समेत कानुनी सल्लाहाकारको रुपमा शुल्क बुझ्दै आएको पाइएको छ,’ स्रोतले भन्यो ।

अनुसन्धान स्रोतका अनुसार खरेलको खातामा निरन्तर ५ वर्षसम्म मासिक ५ लाख रुपैयाँको दरले रकम गएको छ ।

 

 

खरेल र हाल सर्वोच्चकै न्यायाधीश रहेका हरिकृष्ण कार्की मिलेर पुतलीसडकमा एडभान्स ल एसोसिएट्स सञ्चालन गर्दै आएका थिए । तामाङले खरेललाई नियुक्त गरेर कानुनी संरक्षकको रुपमा मासिक लाखौँ बुझाउँदै आएको पाइएको हो । राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए ।

सोमबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सुन्धाराबाट ठगीमा समलग्न तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठसहित १ दर्जन अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउपछि मंगलबार सार्वजनिक प्रेस विज्ञप्ती अनुसार तामाङले सहकारीको अर्बौं रकम हिनामिना गरि विदेश समेत लुकाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

सिआइबीमा हालसम्म १ सय ३७ जना पीडितहरुले उजुरी गरिसकेका छन् । सिआइबीको अनुसन्धानबाट प्रारम्भीक रुपमा खुले अनुसार ७० करोड सतासी लाख १३ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । तामाङमाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ ।

 

खरेल भन्छन्,‘कुनै जमानामा थिएँ’

यस विषयमा प्रतिक्रिया लिन नेकपा एमालेका नेता पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधीवक्ता अग्नि खरेललाई सम्पर्क गर्दा उनले आफूले कानुनी सल्लाहा दिएको स्विकार गरे ।

‘म कुनै जमानामा कानुनी सल्लाहाकार थिएँ । मलाई लाग्छ ७÷८ वर्ष अगाडी हो । त्यसपछि मैले त्यसको मुद्दा पनि हेरेको छैन । कानुनी सल्लाहाकार पनि छैन,’ उनले भने ।

शुरुमा उनले कसरी थाहा पाउनुभो भन्दै जिज्ञासा राखेका थिए । तर, स्रोतको विषयमा भन्न नमिल्ने भनेपछि उनले कुरा मोडेका थिए ।

‘७१ भन्दा अगाडी जस्तो लाग्छ । मुद्दा लडेकै हो । मैले मात्रै होइन अरु साथीले पनि लडेका छन् । अधिकांश मुद्दा लडेकै हो ।  तर, अहिले महान्यायाधिवक्ता भन्दा पछाडी त हैन । कहाँबाट हुनु,’ प्रश्न गर्दै खरेलले भने,‘महान्यायधीवक्ता हुँदा कहाँबाट पैसा लिन्छ ? त्यो सुचना गलत हो । पहिला म थिएँ । सिभिल बैंक खोल्दा त्यतिबेला डकुमेन्ट नै तयार गरेको हो । कानुनी डकुमेन्ट नै मैले बनाएको हुँ । महान्यायाधीवक्ता हुँदा र कानुनमन्त्री हुँदा भयो भन्ने कुरा बेकारको कुरा हो ।’

सम्बन्धित खबर