महेश्वरको ‘अथक’ यात्रा : रुकुमको पहिलो जनसरकार उप–प्रमुखदेखि खेलकुद मन्त्रीसम्म

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन २३, २०७८ | ९:१५:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बाँके क्षेत्र नं १ का निर्बाचित सांसद महेश्वर गहगराज ‘अथक’ युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त भएका छन् । पश्चिम बाँकेका प्रभावशाली नेताका रुपमा स्थापित गहतराज नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री पदमा नियुक्त भएका हुन् ।

अन्य दलले मन्त्री मण्डलमा समावेशी हिसाबले सिफारिस गर्न कन्जुस्याँई गरिरहेका बेला माओवादी केन्द्रले भने ५० प्रतिशत महिलालाई मन्त्री बनाएको छ । त्यसमा पनि एक जना दलित समुदायका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेको छ । सत्ता गठबन्धनमा निर्णायक मानिएको नेकपा माओवादी ‘केन्द्र’ले जनजाती, मधेशी, दलित र ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरि मन्त्री सिफारिस गरेपछि पार्टीले उठाएको समावेशिताले सार्थकता पाएको तर्क गर्न थालिएको छ ।
युवा तथा खेलकुद मन्त्री बनेका गहतराजको लामो संघर्षकथा छ ।

बुवा सुकीराम विश्वकर्मा र आमा रती विश्वकर्माको कोखबाट २०२८ साल भदौ १२ गते रुकुममा जन्मिएका गहतराज बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए । चरम आर्थिक अभाव र सामाजिक बिभेद खेपेका गहतराजले १२ वर्षको उमेरदेखि औपचारिक रुपमा बिद्यालयस्तरको पढाई सुरु गरेका थिए ।

२०४३ देखि कम्युनिष्ट बिचारमा लागेका उनी तत्कालिन पञ्चायतले गरेको आम निर्वाचनमा बिद्यार्थीकालमै पञ्चायती शासन ब्यवस्थाको बिरोधमा उत्रिएका थिए । फलस्वरुप उनलाई पञ्चायती व्यवस्थाले तारो बनाएको थियो ।
दलित समुदायमाथि हुने जातीय बिभेद, शोषण, दमन र उत्पीडनका कारण उनीभित्र तत्कालिन राज्य सत्ताप्रति घृणा उत्पन्न हुनु स्वाभाबिकै थियो । त्यसैले पनि उनी बिद्यालय तथा गाउँघरमा अन्याय, अत्याचार र सामाजिक बिभेदका बिरुद्धमा आवाज उठाउँथे । केही बिद्रोही र चिन्तनशिल स्वभावका उनी राजनीतिबाटै समस्याको समाधान हुने कुरामा विश्वस्त थिए । सोही अनुसार २०४५ सालमा बाफिकोट मा.बी. रुकुममा अध्ययन गर्दैगर्दा उनले तत्कालिन अनेरास्ववियुमा आबद्ध भई बिद्यार्थी राजनीति सुरु गरेका थिए ।

बिद्यार्थी राजनीति हुँदै २०४६ सालमा तत्कालिन नेकपा मसालमा आबद्ध भई राजनीति सुरु गरेका गहतराज २०५२ सालमा तत्कालित नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धमा होमिए । पार्टीले उनलाई रुकुमको वाफिकोट र आठबिसकोट क्षेत्रको जिम्मेवारी दिएको थियो ।

तत्कालिन नेकपा माओवादीले २०५७ सालमा पहिलोपटक रुकुममा जनसरकार घोषणा गर्दा उनी जनसरकार उप–प्रमुख बने । उनी देशकै पहिलो जनसरकार उप–प्रमुख बनेका थिए । २०५७ सालमै रुकुम जिल्लामा नेकपा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनमार्फत रुकुम जिल्ला इन्चार्ज भएका गहतराजले २०५९ सालमा पार्टीको बिषेश क्षेत्रिय ब्युरो र भेरी कर्णालीको मोर्चा समेत सम्हालेका थिए ।

देशभरि माओवादी युद्धले उत्कर्षको रुप लिँदै थियो । पार्टीका हजारौँ नेता कार्यकर्ता मारिएका थिए । उनले पश्चिम क्षेत्रको ‘मोर्चा’ सम्हाल्दै थिए । २०६० सालको अन्त्यतिर हुम्ला, जुम्ला, मुगु र कालिकोटको जिम्म्ेवारी सम्हाल्ने गरि उनी पार्टीको क्षेत्रीय इन्चार्जमा नियुक्त भए । उनले त्यो मोर्चामा पनि आफुलाई अब्बल साबित गर्दै अगाडी बढे । पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै उनले पार्टीको सैन्य र संगठनको जगलाई बलियो बनाउन पहल गरेका थिए । २०६० सालमै उनी पार्टी केन्द्रीय सदस्यमा मनोनित भए । त्यसपछि उनी कर्णालीको मोर्चा हुँदै बाँके बर्दिया र सुर्खेतको जिम्मेवारी सम्हाल्न आइपुगेका थिए ।

युद्धको उथलपुथलपछि पार्टी तत्कालिन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे बृहत शान्ति सम्झौता सम्पन्न भयो ।

२०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा बाँकेका जनतालाई जागरुक गराउँदै सडकमा ओर्लिए । आन्दोलनले सफलता पाएसंगै माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा फर्कियो । त्यसपछि उनले थारुवान राज्य समितिको सेक्रेटरी तथा दाङ्ग, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा पार्टीको नेतत्व लिए ।

२०७० सालको संबिधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका नेता गहतराजले ७ हजार ९ सय ९२ मत ल्याए पनि बिपक्षी पार्टीको बाघी उम्मेद्वारीका कारण हार ब्यहोर्नु पर्यो ।

२०७१ सालमा बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रिय समितिमा निर्वाचित भएका उनी २०७३ सालमा पार्टी केन्द्रिय समितिको सचिवालयमा मनोनित भए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको उम्मेद्वार बनेका गहतराज नेकपा माोवादी केन्द्रको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट बिजयी भएका थिए । त्यससंगै २०७५ साल जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपामा केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए पछि उनी पार्टीको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् । उनी पार्टी भित्र शालिन र बौद्धिक नेताको रुपमा चिनिन्छन् ।

माओवादीले सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने विषयमा बुधबार नै निर्णय गरिसकेको थियो । यस अघि नै नेता जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा नियुक्त भइसकेका छन् ।

सम्बन्धित खबर