श्री लालीगुराँस सहकारी भवनको सिसा लगाएको भाग पनि भत्काइने, यस्तो बन्दै छ फल्चा !

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक ०४, २०७८ | २२:५२:५१

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको २ सय वर्ष पुरानो ऐतिहासिक समय् फल्चा पुनर्निर्माण तिब्र गतिमा अघि बढेको छ । समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनका अनुसार तिहार अघि नै फल्चा निर्माण सक्ने निर्माण पक्षको तयारी छ ।

‘हामी सकेसम्म तिहार अघि नै सम्पन्न गर्ने लक्षका साथ काममा अघि बढेका छौँ । काठको काम अलिकति बाँकी छ । काठ आउने वित्तिकै त्यो पनि शुरु हुन्छ । यदि तिहारअघि सकिएन भने तिहारपछि केही दिनमै सकिनेछ,’ महर्जनले दियोपोस्टसँग भने ।

 


निर्माण पक्षले यतिबेला फल्चाको गाह्रो लगाउने काम सकाउँने तयारी गरेको छ । अध्यक्ष महर्जनका अनुसार गाह्रो लगाउने काम पनि अब सम्पन्न भइसकेको छ । उनका अनुसार समय् फल्चाको उचाई नजिकै रहेको मछिन्द्रनाथको लामो पाटी ‘धमा’कै सरह हुनेछ । उनका अनुसार धमाकै उचाइमा पाटी फल्चा निर्माण हुँदा श्री लालीगुराँस सहकारीको भवनको सिसा समेत फूटाउनुपर्छ ।

‘त्यो सिसाहरु पनि भत्कने छ । त्यहाँ सिसा लगाएर बनाउन पाउने उनीहरुको जग्गाको सिमा नै छैन । उसले त्यो ओगटेर बसेको भाग हो । मुख्य सिमाना त्यसको पछाडी छ । त्यो उसले हडपेर नै राखेको भयो,’ महर्जनले भने,‘१० फिट जति भत्काउनै पर्ने देखिन्छ । उहाँको प्रशासन हेर्ने स्टाफलाई हामीले अनुरोध गर्ने छौँ । उहाँहरुले भत्काउनु भएन भने हामीले भत्काउनुपर्छ । हामीले भत्काउँदा राम्रो हुँदैन उहाँहरुले नै भत्काउनुपर्छ ।’

ललितपुरको कुपण्डोल–जावलाखेल सडकखण्ड अन्तर्गत पुल्चोकमा रहेको २०६ वर्ष पुरानो समय् फल्चाको भग्नावशेष हडपेर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत पुरानो समय फल्चा निर्माणका लागि बजेट बिनियोजन गरेको थियो ।

फल्चा निर्माण गर्ने अभियान विरुद्ध सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले विभिन्न अदालतमा झूटा मुद्दा दायर गरेर अवरोध गर्दै आएका थिए । सर्वोच्च अदालतको फैसलला तथा आदेशलाई लुकाएर उनले उच्च अदालत र जिल्ला अदालतमा पटक पटक मुद्दा दायर गरेका थिए । तर, ती सबै अदालतमा उनले दायर गरेको झूट निवेदन खारेज भएपछि महानगरले फल्चा निर्माण थालेको थियो ।

 

सम्बन्धित खबर