अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुटा खबर थाहा हुन्छ (भाग-२)

फर्जी समाचार शृंखला

diyopost.com
राजु झल्लु प्रसाद
  शनिबार, कार्तिक १३, २०७८ | १५:५४:२४

प्रथमतः हाम्रो विश्वास र अविश्वासबारे कुरा गरौँ ।

हामी विश्वास गर्दछौँ कि ‘हामी त्यति सजिलै मूर्ख बन्न सक्देनौं’ किनभने ‘हामी सर्वश्रेष्ठ प्राणी हौँ ।’ किनभने ‘हामी आफ्नै इच्छाका मालिक हौँ ।’ आफूलाई ‘मूर्ख हुँ’ भनेर स्वीकारेको खण्डमा आफू नियन्त्रित भएको कुरा पनि हामीले स्विकार्नुपर्दछ । हामीमाथि कसैले नित्य निगरानी गरिरहेको कुरा पनि स्विकार्नुपर्दछ । ‘हामी शासित छौँ । हाम्रा दिमागहरू ढालिएका छन् । हाम्रा स्वादहरू बनाइएका छन् । हाम्रा विचारहरू प्रभावित छन् ।’ लोकतान्त्रिक समाजलाई सङ्गठित बनाउने नाममा यसो (फर्जी कार्य) हुनु खेदजनक कुरा हो तर यसो भइरहेको छ ।

फादर अफ अमेरिकन रिलेसन एडवर्ड बर्नेस (Edward Bernays)का अनुसार ‘हरेक नेताहरू जनतालाई कसरी खुसी पार्ने भन्दा पनि जनतालाई कसरी बहलाउने भन्ने खेतिमा लागेका छन् ।’ हाम्रो शासन व्यवस्थाको नदेखिने यस संयन्त्र (सामूहिक मनोविज्ञानको गलत प्रयोग) ले एउटा अदृश्य सरकार गठन गरिरहेको छ, जुन देशको वास्तविक शासक शक्ति हो।’ ‘जनताको सहमति’ नै लोकतान्त्रिक प्रक्रियाको सार हो तर यहाँ जनता मनाउने र बहलाउने काम मात्रै भइरहेको छ ।

उदाहरण- ‘वाक्पटु’मा गनिएका पूर्व प्रधानमन्त्री ओलीले तथ्यहरू एकातिर राखेर तर तिनलाई झुटको सहारामा लेप लगाएर आफूलाई ‘पानीमाथिको ओभानो’ देखाउने प्रयास निरन्तर गरिरहे । ‘घरघरमा पाइपबाट ग्यास’, ‘कोही भोकै मर्नु पर्दैन’, ‘संसद् विघटनबारे आफ्नै पार्टीका नेतासँग झुट’, ‘नेपाली झन्डावाला पानी जहाज’ लगायतका असङ्ख्य झुट उनले बोलेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा खुब झुट बोले तर उनले झुट बोल्नासाथ त्यहाँका मिडियाहरूले एकाएक झुट पहिचान गरेर सार्वजनिक पनि गरे ।  तर, नेपाली मिडियामा त्यो काम निकै कम भयो ।  मिडियाले चुपी साँधिदिँदा ओली थप हौसिए र लगातार झुट बोलिरहे ।

हामीलाई कसरी विश्वस्त तुल्याइन्छ ?

मनोवैज्ञानिक अनुसन्धानकर्ताहरूका अनुसार- कुनै पनि कथन बुझ्नको लागि अस्थायी रूपमै सही हामीले ‘मानौँ’ भन्नैपर्छ (गणितका सूत्रहरू) । कुनै पनि कुरा बुझ्नको लागि सो कुरा बुझाइरहेको व्यक्तिप्रति विश्वास राख्नै पर्दछ । पूर्णतः अस्वीकारले पूर्णतः अविश्वासलाई जन्म दिन्छ । तर अपूर्ण अस्वीकारले पनि पूर्णतः विश्वासलाई जन्म दिने ल्याकत राख्दछ । जब म तपाईँ मेरा कुरामा पूर्णतः विश्वास राख्नुहुन्छ भनेर चाल पाउँछु, म झुट बोल्ने सामर्थ्य आफूमा बटुल्न सक्छु ।  र, यहाँ भइरहेको पनि यही हो ।  त्यो चाहे, नेताहरूले गर्दै आएका हुन्, लेखकहरूले गर्दै आएका हुन् या सरकार, मिडिया र पण्डित-मौलवीहरूले नै । विश्वास मानसिकता हो, र, यो मानसिकता नै क्रमश: संस्कार, धर्म र संस्था बन्दै जाने हो ।

म तपाईँलाई सुसूचित गराउन सक्छु, म तपाईँलाई मनाउन सक्छु र यसपछि म तपाईँलाई मेरो ‘फेबर’मा ल्याउन सक्छु । यो एकाएक हुँदैन । एकपछि अर्को खुड्किलो चढ्नुपर्छ । तपाईँलाई सुसूचित गराउने नाममा कोही तपाईँलाई मनाइरहेको त छैन ? तपाईँले मनाई रहँदारहँदै ऊ तपाईँलाई आफ्नो पक्षमा खिँचिरहेको त छैन ? ‘२०७६ सालभित्र नेपालको पानी जहाजले कसरी झन्डा हालेर हिँड्छ, कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौँ ’ भनेर ओलीले बोलिदिएँ, हामीले स्विकारीदियौं । यसप्रकार एकपछि अर्को गर्दै हामी उनलाई स्विकार्दै गयौँ, फलत: उनले  एकपछि अर्को गर्दै हामीलाई झुटा कुराहरू बताउँदै गए ।

आफ्नो विश्वासमाथि प्रश्न गर्नुहोस् !

जब तपाईँलाई कसैले तपाईँ ‘स्वतन्त्र’ र तपाईँ ‘स्मार्ट’ भएको बताइरहेको छ र तपाईँ उसको कुरा सहर्ष स्विकारिरहनु भएको छ भने तपाईँले आफूलाई स्वतन्त्र नागरिक भएको बताउन छाड्नुहोस् किनभने तपाईँ प्रश्न गरिरहनु भएको छैन । प्रश्न गर्नुहोस्- ऊ किन तपाईँलाई ‘स्वतन्त्र र स्मार्ट’ भएको कुरा बरोबर बताइरहेको छ ? प्रश्नहरू अनेक छन्- ऊ किन तपाईँलाई निर्देशित गरिरहेको छ ? ऊ किन तपाईँको गुणगान गाइरहेको छ ? ऊ किन तपाईँको खोइरो खनिरहेको छ ? ऊ किन तपाईँको प्रशंसा गरिरहेको छ ? प्रश्न गर्नुहोस् ।  मानिसको स्वभाव परिवर्तन गर्न सक्ने कुनै क्रान्ति हालसम्म भएको छैन तर ‘स्वतन्त्रता कर्तव्य हो, अधिकार होइन’ भनेर बुझ्न चाहिँ हामीले अबेला गर्नुहुँदैन। यसको लागि कुनै क्रान्तिको आवश्यकता पनि छैन ।  यसै भनिएको होइन, ‘अरूलाई विश्वास गर्नु राम्रो हो तर, त्यसो नगर्नु अझ राम्रो हो।’

यो पक्का कुरा हो- हरेक मानिस तर्क गर्न सक्षम छन् तर यतातर्फ अल्झिराख्न धेरैलाई जाँगर चल्दैन । तर्क गर्न नसक्नेहरू भावनात्मक हुन्छन्, सीमित घेरामा रमाउने स्वभावका । र, यो कुरा उनीहरू जान्दछन्- जो तपाईँलाई ‘तपाई स्वतन्त्र भएको र स्मार्ट भएको’ बरोबर बताइरहेका छन् ।’ उनीहरूमध्येकै एक – मिडिया पनि हो ।

मिडिया हो भनिसकेपछि आममानिसले उसले पस्किरहेको हरेक सामग्रीलाई सूचना (समाचार) हो भनेर बुझ्दछ ।  तर समाचार दिने व्यक्ति एवं संस्थाहरू यति चतुर छन् कि उनीहरू तपाईँकै नाकमुनि बसेर तपाईँलाई धोका दिंदैछन् । आजको मिडियाले के गरिरहेको छ ? ऊ तपाईँलाई के पढाइरहेको छ ? के सुनाइरहेको छ ? देखाइरहेको छ ? तपाइले कहिल्यै गहिरिएर निहार्नुभएको छ ?

हामीकहाँ, सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो जस्ता शीर्षकमा अनलाइन  पत्रिका, युट्युब, फेसबुक र ट्विटरमा भ्रमपूर्ण सामग्रीहरू प्रकाशित भइरहेका छन्। उत्तेजित शीर्षक राखिएका र भावुक विषय लेखिएका सामग्रीहरू प्रवाह पनि उस्तै छ। लेख्न/पढ्न जानियो भने सचेत भइन्छ, साक्षर भइन्छ । तर मिडियामा साक्षरता (सामान्य लेखपढ) लाई ‘रबर स्ट्याम्प’ बनाउने खेती चलिरहेको वास्तविकताप्रति तपाईं सचेत हुनुहुन्छ ? यतिविधि प्रकाशन गृह, पुस्तक, सम्पादकीय, पत्रकारिता, वैज्ञानिक खोजअनुसनधान, प्रयोगशाला, विज्ञापनका नाराहरूको यथार्तता के हो ? यिनमा को सही छन्, को झुट हुन् ? यिनीहरू को-कति गलत छन् ? को-कत्ति भाम्रक सूचना प्रेषित गरिरहेका छन् ? यस्ता गलत र भ्रामक सन्दर्भ स्रोतहरूदेखि कसरी बच्ने ? बहस किन भइरहेको छैन ? बहस नहुँदाको फाइदा कसले उठाइरहेको छ ?

उसो भए समाचार के हो त ?

समाचार भनेको घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो, जसमा जनसमुदायको रुचि हुन्छ। एउटा सानो भन्दा सानो सूचनाको आधरमा पनि मानिसले आफूलाई परिमार्जित गरिरहेको हुन्छ। समाचारपत्रहरू सूचनाका केन्द्र हुन्, यिनले दिने सूचनाले व्यक्तिको जीवनयापनलाई कहीँ न कहीँ प्रभावित पारिरहेकै हुन्छ। समाचार भोलिको इतिहासको टिपोट हो, यसकारण गलत एवं भ्रमपूर्ण घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर सूचनाको व्याख्या गरेर समाचार भनिनु, देखाइनु, सुनाइनु र पढिनु दुर्घटना हो।

सञ्चारको व्यापक रूप अर्थात् आमसञ्चार (पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि) मिथ्या सूचनाको थलो बन्दै गएको छ। यी सार्वजनिक थलोहरूमा एकअर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रियामा झुट बेसी हुँदै गएको छ। सूचना दिने पक्ष र सूचना पाउने पक्ष दुवै जागरूक र सचेत भएमा मात्र साँचो अर्थमा समाचार, समाचार हुन्छ । अन्यथा समाचार पत्रकारिताको सबै नियम तोडेर सत्ताको काखमा लोलाउन पुग्छ, ठुलाहरूको पोल्टोमा सुस्ताउन पुग्छ। यसपछि समाचारले प्रश्न गर्दैन, सूचनाको हवाला दिँदै उत्तर दिन थाल्छ। ती उत्तरहरू,  जो उसलाई सत्ताले दिन अह्राइएको हुन्छ। यस्ता ‘निजी न्यारेटीभ’ पस्किने सूचना केन्द्र (समाचारपत्र, मिडिया हाउस)हरू आफ्ना नियमित ग्राहकका मनोविज्ञानलाई गहिराई बाट निहार्छन् र कुशलतापूर्वक काल्पनिक यथार्थता खडा गरिरहेका छन्।

जब आफूलाई राष्ट्रको चौथो अङ्ग भन्ने मिडियाले यसप्रकार आफ्नो बाटो भुल्छ (मोड्छ) या सुगा बन्ने यात्रामा निस्किन्छ,  समाजले आफ्नो तर्क गर्ने क्षमता गुमाउँछ। तार्किक क्षमता नभएको नागरिकहरूले कसरी आफूलाई लोकतान्त्रिक देशको नागरिक बताउन सक्छन्?

अङ्ग्रेजी भाषामा लेख्ने साहित्यकार मार्क ट्वेन (१८३५-१९१०) को एउटा भनाइ छ- ‘अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुटा खबर थाहा हुन्छ ।” ट्वेन बितेको नै ११० वर्षपश्चात् पनि पत्रकारिता क्षेत्रमा उही स्थिति रहनु भनेको लज्जास्पद कुरा हो।

(क्रमशः..)

(सम्पादक: दियो पोस्टले फर्जी समाचारको संवेदनशीलतालाई मनन गरेर सुरु गरेको स्तम्भको यो दोस्रो अंक हो ।

तपाईं सूचना कुन माध्यमबाट पाउनुहुन्छ? ती माध्यमप्रति तपाईं विश्वस्त हुनुको कारण के? तपाईंको फेसबुकमा के-कस्ता सूचनाहरू आइरहेका छन्? तपाईंले लाइक, कमेन्ट, शेयर र फरवार्ड गर्ने हर एक समाग्रीहरू कहाँदेखि आइरहेका छन्? किन आइरहेका छन्? तपाईं ती सूचनाहरू किन पढीरहनुभएको छ? के तिनले तपाईंलाई सहि सूचना दिइरहेका छन्? सामाजिक संजाललाई माध्याम बनाएर सूचना पस्किरहने व्यक्ति एवं मिडिया हाउसहरूको वास्तविक अनुहार के हो? उनीहरू कुनै नेताको  भाषण अक्षरश: उतारेर तपाईंलाई किन पढाइरहेका छन् ? कुनै धर्मभिरुको कथित ‘महाववाणी’हरू एकाबिहानै तपाईंको मोबाइलमा किन पुर्याइरहेका छन् ?  तपाईंले समाचार ठानेर सेयर गरेको एउटा फलानो पोर्टलको तिलानो न्यूज लिंकले ढिस्कानो व्यक्तिलाई नकारात्मक असर त पारिरहेको छैन ? र, मुख्य प्रश्न- के यी सबै कुराहरू समाचार हुन्?  

समाचारले सबैप्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहनु पर्छ। हिजोसम्म नजानेको कुरा समाचार हो। र, आज जान्नुपर्ने कुरा? जानकारी कहाँदेखि आउँछ? जानकारी दिने व्यक्ति/संस्थाको वैचारिकी के हो? ऊ स्वतन्त्र र निष्पक्ष छ वा स्वार्थलिप्साका कारण गाइडेड छ?  एक नेता, एक मिडिया’ त भइरहेको छैन, प्रश्न गर्नुपर्ने बेला भएको छ। कुन मिडिया हाउसले कुन-कुन नेता, व्यवसायी, कवि/लेखकलाई आफ्नो मिडियामा बरोबर बोलाइरहेको छ? मिडिया कभरेजमा उच्च महत्त्वका साथ कस्ता-कस्ता घटनाहरू परिरहेका छन्? 

‘को व्यावसायिक पत्रकार हो र को वास्तविक पत्रकार हो, कसरी छुट्टाउने? ‘पेड न्युज’ र ‘हाइलाइटेड न्युज’ वृद्धि किन भइरहेको छ? कसले, किन, कहाँ र कति लगानी मिडियामा गरिरहेको छ, त्यसको पारदर्शिता खोजीको विषय होइन ? हो भने कसले गर्दैछ? नेताविशेषको पिछलग्गू भएर पत्रकारिताका नाममा ‘प्रोपगान्डा’ गर्नमै मस्त पत्रकारहरूको वास्तविकता के हो? के नेपाली पत्रकारिता जनउत्तरदायी छ?

नेपाली मिडियाले आफ्नो विधालाई लिएर बहस गरेको छ? मिडियालक्षित बहसहरू किन भइरहेका छैनन्? मिडियाको चरित्र, प्रस्तुति, प्रवृत्तिमाथि छलफल बढाउने आशयले हामीले यो अङ्क सुरु गरेका छौँ। )

यो पनि पढ्नुहोस्;

अंक-१: सामाजिक सञ्जाल के हो ? यसले हामीलाई कसरी बेचिरहेको छ ? 

सम्बन्धित खबर