सामाजिक सञ्जाल के हो ? यसले हामीलाई कसरी बेचिरहेको छ ? 

सामाजिक सञ्जाल- विश्वकै सबैभन्दा ठुलो देश !

diyopost.com
राजु झल्लु प्रसाद
  मंगलबार, कार्तिक ०९, २०७८ | १८:४२:४८

ए, तपाईँ पनि आइपुग्नुभयो ?  लौ, लौ स्वागत छ ।

के तपाईँ कुनै निश्चित उद्देश्यबिना आफ्नो मोबाइल फोन हेरिरहँदा (स्क्रिन कुलत) यता आइपुग्नुभएको  हो? या छिनछिनमा सामाजिक सञ्जाल खोतलेर तलमाथि गरिरहने आदतले घिच्चाएर तपाईँलाई यहाँ ल्याइपुर्‍याएको हो ?

सायदै तपाईँलाई थाहा होला- म आज सवाल-जवाफको मुडमा छु । मसँग प्रश्नै-प्रश्नहरू छन् । सोधौँ ?

पहिलो प्रश्न- तपाईँ यहाँ के खान आउनु’भा ? यहाँ आएर के पाउँछु जस्तो लाग्या छ ?

दोस्रो प्रश्न- यो लिङ्क खोल्नुभन्दा अगाडी तपाईँले कुन लिङ्क खोल्नुभयो ? त्यहाँ के लेखिएको रहेछ ? तपाईँले खोजेकै सामग्री रहेछ कि तपाईँलाई बेवकुफ बनाउने सामग्री रहेछ ? ती वास्तविक थिए या मिथ्या  ? त्यहाँ अति आलोचना थियो या अति प्रशंसा ? शुद्ध थियो कि अशुद्ध ? सबैभन्दा महत्त्वपूर्ण प्रश्न- त्यो सामग्री तपाईँले पुरै पढ्नुभयो कि आधा-अधुरैमै छोडेर यता हाम्फ्याल्नु’भो ? र, किन ?

तेस्रो प्रश्न– यसपछि कता जानुहुन्छ ? यहाँ कतिन्जेल बस्नुहुन्छ ? के तपाईँ यसैगरी हाम्फ्यालिरहने मान्छे हो ?

अरू पनि प्रश्नहरू गरौँ है ? 

नढाँटी भन्नुहोस्- तपाईँले यो लिङ्क ओपन गर्नुको कारण के हो ? एकछिन सोच्नुहोस् ।..उत्तर भेट्नुभयो ? खैर, तपाईँको सहजताको लागि म केही अप्सनहरू उपलब्ध गराउन तयार छु ।

१. ब्यानर आकर्षक लाग्यो यसैले ? 

२. शीर्षकले कौतुहलता जगायो यसैले ? 

३. दियोपोस्टको आर्टिकलहरू पढिरहनुहुन्थ्यो यसैले ? 

४. या, यसैगरी लिङ्क खोलिरहने, पोस्ट लाइक गरिरहने तपाईँको आदत छ यसैले ? 

५. …(स्वेच्छाले खाली ठाउँ भर्नुहोस्)।

भैगो, तपाईँले जवाफ दिइराख्नु पर्दैन । तपाईँको उत्तर तपाईँसँग नै राख्नुस् । तर मेरो अनुरोध छ- तपाईँ आफूलाई एकपटक प्रश्नचाहिँ जरुर गर्नुहोस् ।

र, रमाइलो कुरा- यतिबेरसम्म तपाईँ आफ्नो काम छाडेर मेरा कुराहरूमा अल्झिनुभयो । तपाईँ साँच्चैमा बडो फुर्सदिलो हुनुहुँदो रहेछ । माफ पाउँ तर, तपाईँ सच्चाईमा बेवकुफ पनि हुनुहुँदो रहेछ । यसैगरी कति-कति मिडिया हाउस, व्यापारिक संस्था र सामाजिक सञ्जालको एल्गोरिदमले तपाईँलाई बेवकुफ बनाउँदै आएका होलान् । एकपटक जरुर सोच्नुहोला, आफूलाई बेवकुफ भनेकोमा मलाई गाली त्यसपछि दिँदा पनि हुन्छ ।

खैर, अब कुरा सुरु गरौँ ।

सामाजिक सञ्जाल- विश्वकै सबैभन्दा ठुलो देश !

इन्टरनेट र स्मार्ट फोनको यस युगमा सामाजिक सञ्जाल ‘एक अलग विश्व’ हो । यो लेखिरहँदासम्मको तथ्यांकअनुसार विश्वभर ४ अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यो भनेको चीनको जनसङ्ख्या भन्दा ३.११ गुणा बढी हो । भारतको भन्दा ३.२४ गुणा बढी र नेपालको भन्दा १४९.३३ गुणा बढी हो । विश्वको  जनसङ्ख्याको तुलना (७.९ अरब) मा लगभग आधा हो । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । सबै ‘इन्टरनेट प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा नभेटिनु पनि स्वाभाविक हो । (पङ्क्तिकार स्वयं भाइबर र ह्वाट्सएपतिर सक्रिय छैन ।)

तथ्याङ्ककै सहारा लियौँ- ४.६६अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको गुगलले देखाउँछ । जसमध्ये- ४ बिलियन गुगल, २.८९ बिलियन फेसबुक, २.२९ बिलियनमा युट्युब, २ बिलियन ह्वाट्सएप, १.३८ बिलियन इन्स्टाग्राम, १ बिलियन टिकटक र १९२ मिलियन ट्विटर प्रयोगकर्ता रहेका छन् ।

यी तथ्याङ्कहरूले यही बताउँदछ कि सामाजिक सञ्जाललाई यदि देश मान्ने हो भने विश्वकै सबैभन्दा ठू लो देश यही हो (खैर, देश हुनलाई जमिन, सार्वभौमिकता, जनता, संविधान जस्ता कुराहरू आवश्यक पर्छन् । इन्टरनेट यसको अभ्यासकर्ता पनि हो) ।  एसिया महादेशको जनसङ्ख्या ४.६४ अरब छ, जबकि ४.४८ अरब त सामाजिक सञ्जाल प्रयोगकर्ता नै छन् । यो तथ्याङ्क साँच्चैमा कहालीलाग्दो छैन ? (अझ यी कम्पनीहरू आफ्नो प्रयोगकर्ताहरूको वास्तविक तथ्याङ्क दिन नचाहिरहेको खुल्न आएको छ । बिबिसी ) ।

इन्टरनेटको अनियन्त्रित प्रयोगले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याउने गरेको प्रमाणस्वरूप नेटफ्लिक्समा ‘द सोसियल दिलेमा’ नामक डकु-ड्रामा हेर्न पङ्क्तिकार सजेस्ट गर्छ । त्यो सिरिजपश्चात् पङ्क्तिकार यस विचारमा पुगेको थियो कि टेक्नोलोजी संस्कृति भन्दा पनि माथि उक्लिसकेको छ । यो विश्वकै सबैभन्दा ठुलो र प्रवाहशील ‘रिलिजन (धर्म होइन)’ बनिसकेको छ । रिलिजन र धर्म दुवैका आ-आफ्ना आचारसंहिताहरू छन्, त्यो भन्दा पनि व्यापक रूपमा ‘सिलिकन भ्याली’का आचारसंहिताहरू, दफा-उपदफाहरू छन् । नजानिँदो रूपमा हामी ‘टेक्नो-रिलिजन’ (यो शब्द हरारीको हुनुपर्दछ) बाट गाइडेड भइसकेका छौँ । डर छ- जुकर्बर्गजस्ता व्यक्तिहरू ‘ईश्वर’ घोषित भएको निकट भविष्यमै देख्न/सुन्न नपरोस् । र,  धन हुनेले धन, रूप हुनेले रूप, ज्ञान हुनेले ज्ञान देखाउने सामाजिक सञ्जाल ‘एक अलग विश्व बन्दै (बनाइँदै)’ हो भने यसले मानव अस्तित्वमाथि यसले के-कस्तो प्रभाव पार्दछ?

सामाजिक सञ्जाल के थियो ? के भयो ? 

आभासी समुदाय र सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्तकर्ताको भूमिकाका सामाजिक सञ्जालहरूको उदय भएको हो । तर यी कम्पनीहरूले आफ्नो भूमिका बिर्सिसकेका छन् । यिनीहरू दायित्वच्यूतको अवस्थामा पुगिसकेका छन् । मानिसहरूले जति इन्टरनेट चलायो उति नाफा हुने सम्भावना भएकोले यी कम्पनीहरूले जानीजानी आफ्नो सामाजिक सञ्जालको सेवालाई लत नै लाग्ने खालको बनाउँदै आइरहेका छन्।  सूचना सम्प्रेषण गर्ने, सूचनामाथिको पहुँच राख्ने, ज्ञान आर्जन गर्ने, कुनै पनि सीप सिक्ने, जान्ने, नाता सम्बन्ध जोड्ने व्यापार प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाह गर्ने लगायतका छिटपुट राम्रा कामहरू यहाँ गर्न सकिएला तर समय बितेको पत्तै नहुने बनाइदिने, घर-नाता-परिवार बिर्साइदिने, ससाना नानीको क्रिएटिभिटी खोसिदिने लगायतका कामहरू पनि यी कम्पनीहरूले गर्दै आएका छन् ।  समाज र राष्ट्रमा भ्रम फैलाउने र सूचनामाथि जासुसी गर्ने साधन पनि सामाजिक सञ्जाल नै बनिरहेको छ ।

स्ट्यानफर्ड विश्वविद्यालयका अध्यापक निर इयलले बिबिसीसँग भनेका थिए, “यी कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूलाई यसरी नित्य फसाइरहने हो भने पक्का छ यिनीहरूलाई घाटा व्यहोर्नुपर्नेछ । ढिलोचाडो प्रयोगकर्ताले पुनर्विचार गर्न थाल्नेछन् ।” पुनर्विचारको अर्थ ‘प्रयोग गर्न छाड्नेछन्’ भन्ने हो भने पनि यो यति सजिलो कुरा होइन ।  पहिलो कारण- पहिलेको सामाजिक जीवनयापन अब सुरक्षित छैन, यसकारण व्यक्ति कुनै न कुनै तरिकाले इन्टरनेटसम्म आइपुग्छ र, इन्टरनेटमा आफ्नो दुनियाँ क्रियट गरिछाड्छ ।  दोस्रो- कम्पनीहरू सोही अवसरको फाइदा उठाउँदै प्रविधिको सहाराले ‘रिफर्मेसन’ ल्याइछाड्छन्, ‘अपडेट’ गरिहाल्छन् ।

जति धेरै मानिसले प्रविधिले पार्ने नराम्रो असरका बारेमा मानिसहरू बुझ्दै जान्छन्, त्यति छिटो आफ्नो प्रयोगकर्ता (वस्तु) गुमाउने भयले कम्पनीहरूले समाधानको उपाय खोजी छाड्छन् । ‘स्क्रिन समय नियन्त्रण गर्ने विधि’ यतातर्फको पहिलो पाइला हो, जो चिन्तित सामाजिक सञ्जाल कम्पनीका शेअरधनीहरूहरूले स्मार्टफोनहरूलाई दिएको दबाबको प्रतिफल हो ।

उदाहरणबाट बुझौँ- घण्टौँ स्क्रिन बिताएर निस्किएपछि हामी आफैँले सराप्छौँ- ‘ज्या, त्यसै समय खेर गयो ।’ यो विश्वभरकै व्यक्तिहरूले सोच्ने कुरा थियो/छ । ‘स्क्रिन समय’ले हामीलाई असर पारिरहेको हामीले थाहा पायौँ र यसको विरोध पनि गर्‍यौँ । तुरुन्तै गुगलले नयाँ भर्सनको एन्ड्रोइडमा प्रयोगकर्ताले कुन कुन एपमा कति समय बिताएको हेर्न मिल्ने र निश्चित समयमात्रै चलाउन मिल्ने बनाउन सकिने सुविधा थप्यो । एपलले पनि आइ‍ओएस १२ मा सोही प्रकृतिको सुविधा थप्यो। (हरेक रात ‘इट्स अ बेड टाइम्स’लाई ‘डिसमिस’ गरेर पङ्क्तिकार पुराना हिन्दी गीत सुनिरहेको हुन्छ ।) यसपछि हामी चुप लाग्यौँ । र, यतिखेर उनीहरू धमाधम कमाइरहेका छन्, हामीहरूलाई हरेक सेकेन्ड बेचिरहेका छन् । बेचबिखनलाई नैतिकता प्रदान गर्न अनेकन् भाष्य प्रयोग गरिएका छन्, जस्तो – सामाजिक सञ्जालकै कारण मैले मेरो आमालाई रगत दिएर बचाउन सकेँ। फेसबुकले मलाई मबाट बिछोडिएको साथीलाई मिलायो ।  र यावतयावत.. । तर यो सिक्काको अगाडीको पाटो मात्रै हो ।

पछाडिको पाटो !

पछाडिको पाटो हामीलाई देखाइँदैन, यसकारण हामी देख्देनौं । देख्ने चाह राख्ने र देख्नेहरू निकै कम छन् । र, देख्नेहरूका अनुसार सामाजिक सञ्जालले हाम्रो आँखा, औँला, शरीर मात्रै अस्वस्थ पारिरहेको छैन, मानिसिक रूपमा पनि हामीलाई क्षतविक्षत पुर्‍याइरहेको छ । स्नाप्च्याट्स र इन्स्टाग्रामले उपलब्ध गराएको विभिन्न फिल्टर्सका कुलतमा फसेका युवाहरू त्यस्तै सफ्फा (क्लिन) देखिनका लागि ‘सर्जरी’ गराउन इच्छुक भइरहेका छन् । सौन्दर्यशास्त्र (गोरो छाला) को व्यापारीकरण त छँदै छ । टिकटक बनाउने क्रममा रेलको लिग र नदीको भेलमा भासिएर मृत्यु हुनेको सङ्ख्या बढिरहेकै छ । र, यी फेरी पनि मसिना कुराहरू नै हुन् ।

मुख्य कुरा- हामी आफ्नो स्क्रिनमा के हेरिरहेका छौँ? हामी आफैँ खोजेर आफूले हेर्न चाहेको सामाग्री हेर्दै छौँ वा हामीमाथि जबर्जस्ति लादिँदै छ? किन न्यूज फिड स्क्रोल गरेर कहिल्यै सकिँदैन ? टिकटकले हरेक १५-१५ सेकेन्डमा नयाँ-नयाँ भिडियो ल्याएर कहाँदेखि दिन्छ ? ट्विटरमा एउटा कथित विद्वानले अन्सन्ट बोलिरहने आँट कहाँदेखि बटुल्छ ? ह्वाट्स एपमा अनर्गल भिडियो कहाँदेखि आइपुग्छन् ? एकछिनको लागि भनेर फेस्बुक, ट्विटरतिर पस्नुभएको तपाईँ घण्टौँ त्यतै कसरी बरालिनुहुन्छ ? यसप्रकार ‘आफूमाथि ‘कालोजादू’ गरिरहेको तपाईँ चाल पाउनुहुन्छ ?

गुगलको नीतिशास्त्रदेखि दिक्क भएर बाहिरिएका ट्रस्टेन ह्यारिसले द सोसियल दिलेमामा बताएका छन्, “क्यालिफोर्निया बसेका २० देखि ४५ उमेरका ५० डिजाइनरले यस्ता फैसलाहरू लिइरहेका छन्, जसको असर २०० करोड व्यक्तिहरूमाथि परिरहेको छ ।” “यदि तपाईँ कुनै वस्तुको मूल्य तिर्नुहुँदैन भने, बिक्नेवाला वस्तु तपाईँ हो’, ह्यारिसको यो वाक्यले इन्टरनेटको अन्तर्य निकालेर राख्दिएको छ । उनी अझ अगाडी भन्छन्, “हामीलाई लाग्छ कि  गुगल सर्च इन्जिन हो, फेसबुकको साथीहरूको हालचाल जान्ने ठाउँ हो तर यी दुई हाम्रो ध्यान खिच्नको युद्ध लडिरहेका छन् । यी कम्पनीहरूको बिजनेस मोडल नै हो प्रयोगकर्ताहरूलाई स्क्रिनमा बाँधेर राख्नु हो ।” साउथ एसिया चेकका सम्पादक दीपक अधिकारी पनि ह्यारिससँग सहमत छन्, उनी भन्छन्, “बकाइदा डिल हुन्छ । यी कम्पनीहरूले प्रयोगकर्तालाई यति समय बाँध्छु भन्छन्, सोअनुसार विज्ञापनदाताहरू पैसा लगानी गर्छन् ।”

इतिहासमा यस्तो कहिल्यै भएको थिएन । लेनेभोको स्मार्ट फोन तपाईँलाई घण्टी दिएर उठाउँछ । गुगल तपाईँको रुचिमा आफ्नो विज्ञापन लादेर तपाईँलाई समाचार पढाउँछ । ओछ्यानमै रहँदारहँदै तपाईँलाई फेसबुक दशौँ पोस्ट पढाएर दशतिर पुर्याउछ । त्यहाँबाट बच्न तपाईँ टिकटक खोल्नुहुन्छ, टिकटक तपाईँलाई एकाबिहानै दशथरी अनुहार देखाएर थकाउँछ । यसपछि तपाईँ ट्विटर खोल्नुहुँदो हो- त्यहाँ पनि तपाईँलाई अनलाइन पोर्टल र ह्यासट्याग अप्सनहरूले छाड्दैनन् । उनीहरू तपाईँलाई ‘बिहान उठ्न गाह्रो हुन्छ ? यसो गर्नुहोस्’, ‘कुलमान घिसिङ फिल्डमै उत्रिएर यस्तो काम गर्न थालेपछि सबैले दिए स्याबासी’, ‘धुर्मुस–सुन्तलीका लागि चितवनबाट आयो खुसीको खबर, रेणु दाहालले गरिन यस्तो ठुलो घोषणा’, ‘चीनको सेनाले भारतमा यस्तो गरेपछि, भारतले चीनलाई यस्तो भन्दै दियो यस्तो कडा चेतावनी’ जस्ता यस्तो-उस्तो नामधारी शीर्षकहरू खोल्दैमा तपाईँको बिहान सकिन्छ । एन्जाइटी, डिप्रेसन यसपछि सामान्य कुरा हुने भइ नै हाल्यो ।

अझ पछाडिको पाटो !

सामाजिक सञ्जालको प्रयोगले आज हरेक व्यक्ति सञ्चारकर्मी सरह भएका छन् ।  सिटिजन पत्रकारिताको यस युगमा सामाजिक सञ्जालका कारण नै हरेक व्यक्ति सूचना र संसारको पहुँचमा पुगेको छ । सोही कारण,  यहाँ आजभोली धेरैथरि बहस सुरु भएका छन्- पहिरन बहस, अनुहार बहस, उचाइ बहस, शारीरिक अङ्गबारे बहस । यसपछि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, राजनीतिक बहसहरू । तर यी बहसहरू कति सफल भएका छन् कतिपय बेवारिसे समेत हुन् पुगेका छन् । “सामाजिक सञ्जालमा छाएका व्यक्ति, समूह एकै विचार र समूहका हुँदैनन् । विविध समूहका ती मानिस, जो स्वप्न संसारमा रमाउन चाहन्छन्, आफ्ना असामाजिक विचारसहित रमाइरहेका हुन्छन् ।” (किशोर नेपाल, मङ्सिर ७, २०७५ नयाँपत्रिका)

अर्को पाटो, सामाजिक सञ्जालमा यतिखेर फोटो तथा भिडियो अत्यावश्यक भइसकेको छ । मानिसहरू आफ्ना दैनिक गतिविधि फोटो तथा भिडियोको माध्यमबाट एकअर्का माझ पस्किरहेका छन् । आम मानिसका मात्रै कुरा होइन; नेता, चलचित्रकर्मी, अभियन्ता लगायत सबै । धार्मिक एवं सांस्कृतिक सरोकारका विषयवस्तुहरूले पनि सामाजिक सञ्जालमार्फत नै बहस गरिरहेका छन् । जब राजनैतिक, धार्मिक एवं सांस्कृतिक बहसहरू आम मानिसको पहुँचमा पुग्छ, उनीहरू पक्ष-विपक्षमा आ-आफ्ना तर्कहरू राख्छन् । तर, उनीहरू यो चाल पाउदैनन कि उनीहरूलाई लडाएर त्यसको लाभ समबन्धित विषयवस्तुहरूका ‘ठुला, टाउके’हरू लिइरहेका छन् । आम सर्वसाधारणलाई वास्तविकतादेखि टाढा पुर्याउन फर्जी समाचारहरूको प्रयोग गरि झुट या अर्धसत्य कुराहरू सामाजिक संजाल एवं मिडियामा पस्कने काम भइरहेको छ । सत्ता (टाउके)ले वास्तविक यथार्ततालाई जनतादेखि पर लागि काल्पनिक यथार्थताको पर्खाल खडा गरिरहेका छन् । र, जनताहरू सोही पर्खालमा सियाँली खेलिरहेका छौं ।

१.“फर्जी समाचार उत्पादन गर्नु भनेको एक कुशलतापूर्वक खेलिने खेल हो । सतहबाट हेर्दा यो एकदमै सामान्य जस्तो लाग्छ तर यसलाई आम मनोविज्ञानको गहन ज्ञानलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । प्राय: फर्जी समाचार ती मुद्दामाथि बनाइन्छ, जसबारे आम मानिसलाई अधकल्चो थाहा हुन्छ । विवेकमा तथ्यभन्दा ज्यादा छवि हुन्छ । जस्तो: भारत-पाकिस्तान विभाजनबारे मानिसहरूमा धेरै किसिमका छवि छन् । वास्तवमा इतिहासको त्यो घडीमा जीवित रहेर आफ्नै आँखाले देख्नेहरू कम छन् । विवेकमा बसेको यस्ता अधकल्चे छविका आधरमा साबित गर्न नसक्ने गरी विभाजनमा आधारित फर्जी समाचार अथवा पोस्ट तयार पारिन्छ । (भारतीय पत्रकार रवीश कुमार; मुक्त आवाज: लोकतन्त्र, संस्कृति र राष्ट्रबारे)”

२.‘सामाजिक सञ्जालले धेरै हदसम्म दुष्प्रचार बढाउन सहयोग गरिरहेका छन् । सामाजिक सञ्जालमा छाउने हल्ला, गलत सूचना र झुठा तथ्यविरुद्धको सङ्घर्ष अहिले अत्यन्त महत्त्वपूर्ण हुँदै गएको छ । यिनीहरूले हल्ला, झुठो समाचार, सत्य तथ्यमा आधारित समाचार स्रोतलाई ओझेलमा पारिदिने गरी फैलिन्छन् । किनकि ती अवसरमा मानिसले तीव्र रूपमा ट्विट, तस्बिर र भिडियो सेयर गर्ने गर्दछन् । यीमध्ये धेरैले राम्रो मनसायले नै त्यसो गरेको भए तापनि त्यसको परिणाम अत्यन्त खराब र कतिपय अवस्थामा घातक साबित हुने गरेको छ ।’ (ब्रुस स्नाइअर, असार ६, २०७६, नयाँ पत्रिका र न्युयोर्क टाइम्स))

रिपोर्ट डट नेटको सर्वेक्षणले नेपालबाटै एकाउन्ट खोलेकी नेपालको पहिलो फेसबुक प्रयोगकर्ताको रूपमा पुष्टि गरेको ‘स्वन्तिना शाक्य’ले एक अन्तर्वार्तामा आफूले दैनिक ३/४ घण्टा फेसबुक चलाउने बताएकी थिइन् । कम बेसी मात्रै होला- हामी सबै फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकतर्फ यति नै समय दिनहुँ दिइरहेकै हुन्छौँ । र, हामी यी समय कुन-कुन सामग्री हेर्न, पढ्न, सेयर एवं कमेन्ट गर्न दिइरहेका छौँ ? सूचना सही हो कि गलत भन्ने सोच्दै नसोची सेयर गर्न हामी किन हौसिन्छौँ ? आफूले लाइक, कमेन्ट र सेयर गरिरहेको पोस्ट सत्य भए नभएको किन वास्ता गर्दैनौ?

सिधासिधा भन्दा- सामाजिक सञ्जालमा प्रेषित सामाग्रीहरू ज्यादै नै झुठा, भ्रम फैलाउने, दंगाफसाद गराउने खालका एवं अरूको चरित्र हत्या गरी मानमर्दन गर्ने खालका हुन् पुगेका छन् । संस्कृति र राजनीतिमाथि इन्टरनेटको पुँजीवादी चरित्र हाबी भइरहेको छ । सामाजिक सञ्जाल जानकारी दुष्प्रचारको असली माध्यम बनिसकेको छ । अलग विचार राख्नेको उछितो काढ्ने (अरिङ्गाल), राजनीतिक पार्टीहरूको साइबर सेलको जत्था, राजनीतिक मुद्दालाई प्रभावित तुल्याउने फौज, बेनामे प्रयोगकर्ताहरूको भीड बढ्दो छ । आ-आफ्नो गोपनीयताको भङ्ग र तथ्याङ्क चोरीको प्रकरणको आतङ्कित उचालिँदो छ । अझ फेक न्यूज अर्थात् फर्जी समाचारको आतङ्कवाद प्रताडना फैलिँदो छ । (भारतीय पत्रकार रवीश कुमारले एनडीटीभीको एक बहसमा  फर्जी समाचारलाई आतङ्कवादको संज्ञा दिएको पङ्क्तिकार सम्झन्छ ।)  सामाजिक सञ्जालका राम्रा-नराम्रा पक्षहरू र अनेक विसंगतीहरूलाई पर सार्दै पङ्क्तिकार आगामी अङ्कमा ‘फेक न्यूज’ अर्थात् ‘फर्जी समाचार’बारे चर्चा गर्न चाहन्छ ।  (क्रमशः..)

(सम्पादक: दियो पोस्टले फर्जी समाचारको संवेदनशीलतालाई मनन गरेर सुरु गरेको स्तम्भको यो पहिलो अंक हो ।

तपाईं सूचना कुन माध्यमबाट पाउनुहुन्छ? ती माध्यमप्रति तपाईं विश्वस्त हुनुको कारण के? तपाईंको फेसबुकमा के-कस्ता सूचनाहरू आइरहेका छन्? तपाईंले लाइक, कमेन्ट, शेयर र फरवार्ड गर्ने हर एक समाग्रीहरू कहाँदेखि आइरहेका छन्? किन आइरहेका छन्? तपाईं ती सूचनाहरू किन पढीरहनुभएको छ? के तिनले तपाईंलाई सहि सूचना दिइरहेका छन्? सामाजिक संजाललाई माध्याम बनाएर सूचना पस्किरहने व्यक्ति एवं मिडिया हाउसहरूको वास्तविक अनुहार के हो? उनीहरू कुनै नेताको  भाषण अक्षरश: उतारेर तपाईंलाई किन पढाइरहेका छन् ? कुनै धर्मभिरुको कथित ‘महाववाणी’हरू एकाबिहानै तपाईंको मोबाइलमा किन पुर्याइरहेका छन् ?  तपाईंले समाचार ठानेर सेयर गरेको एउटा फलानो पोर्टलको तिलानो न्यूज लिंकले ढिस्कानो व्यक्तिलाई नकारात्मक असर त पारिरहेको छैन ? र, मुख्य प्रश्न- के यी सबै कुराहरू समाचार हुन्?  

समाचारले सबैप्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहनु पर्छ। हिजोसम्म नजानेको कुरा समाचार हो। र, आज जान्नुपर्ने कुरा? जानकारी कहाँदेखि आउँछ? जानकारी दिने व्यक्ति/संस्थाको वैचारिकी के हो? ऊ स्वतन्त्र र निष्पक्ष छ वा स्वार्थलिप्साका कारण गाइडेड छ?  एक नेता, एक मिडिया’ त भइरहेको छैन, प्रश्न गर्नुपर्ने बेला भएको छ। कुन मिडिया हाउसले कुन-कुन नेता, व्यवसायी, कवि/लेखकलाई आफ्नो मिडियामा बरोबर बोलाइरहेको छ? मिडिया कभरेजमा उच्च महत्त्वका साथ कस्ता-कस्ता घटनाहरू परिरहेका छन्? 

‘को व्यावसायिक पत्रकार हो र को वास्तविक पत्रकार हो, कसरी छुट्टाउने? ‘पेड न्युज’ र ‘हाइलाइटेड न्युज’ वृद्धि किन भइरहेको छ? कसले, किन, कहाँ र कति लगानी मिडियामा गरिरहेको छ, त्यसको पारदर्शिता खोजीको विषय होइन ? हो भने कसले गर्दैछ? नेताविशेषको पिछलग्गू भएर पत्रकारिताका नाममा ‘प्रोपगान्डा’ गर्नमै मस्त पत्रकारहरूको वास्तविकता के हो? के नेपाली पत्रकारिता जनउत्तरदायी छ?

नेपाली मिडियाले आफ्नो विधालाई लिएर बहस गरेको छ? मिडियालक्षित बहसहरू किन भइरहेका छैनन्? मिडियाको चरित्र, प्रस्तुति, प्रवृत्तिमाथि छलफल बढाउने आशयले हामीले यो अङ्क सुरु गरेका छौँ। )

सम्बन्धित खबर