एनआईसी एशियाका सीइओ रोशन न्यौपानेले सरकारी पर्ति जग्गा अतिक्रमण गरेर बनाए ‘भव्य दरबार’ !

दियो पोस्ट  

काठमाडौं । धोवीखोलाको शिरतर्फ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालपञ्जिटोलस्थित शिव मन्दिर नजिकै एउटा भव्य महलको चारैतर्फ निर्माण मजदुरहरु धमाधम काम गरिरहेका थिए ।

पूर्वी मोहडा बनेर निर्माण भएको उक्त महल कुनै राजा महाराजाको ‘दरबार’ भन्दा कम छैन । महल भित्रै मन्दिरलाई समेत कैद गर्न भ्याएको यो महलको मालिक हुन् ‘कान्छा सीइओे’ भनेर चिनिने रोशन कुमार न्यौपाने ।

मुलुकमा रहेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओे)हरु मध्ये सबैभन्दा कान्छा सीइओेको ‘उपाधी’ लिएका न्यौपाने एनआइसी एशिया बैंकका सीइओे हुन् । कान्छा सीइओेले ३८ वर्षको उमेरमै अर्बौं पर्ने महल कसरी खडा गरे भन्ने विषय पनि सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्र बैंकको छानबीनको विषय हो तर, अहिले उनले सरकारी जग्गामा कसरी राइँदाइँ गरिरहेका छन् भन्ने विषयमा चर्चा गरौँ ।

भवनको पूर्व तर्फ धोविखोला छ । धोवीखोलामाथिको भिरालो जमिन उठाएर वाल लगाएका उनले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरेका रहेछन् । त्यस्तै उत्तर तर्फ पनि करिब ४/५ आना जग्गा अतिक्रमण गरेर वाल लगाएका थिए । त्यस्तै दक्षिण तर्फको एक रोपनी जग्गामा उनले विभिन्न भौतिक संरचना निर्माण गरिरहेका छन् । स्थानियबासीका अनुसार उनले बनाएको भौतिक संरचना अवैध हो । तर, शक्तिशाली व्यक्तिहरुको छत्रछायाँमा न्यौपानेले अवैध रुपमा संरचना बनाइरहेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ले अशोज २ गते सुचना नै निकालेर अनाधिकृत संरचना हटाउनेबारे ३५ दिने सुचना निकालेको थियो । वडाध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी सुचनामा पर्ति जग्गा अतिक्रमण भएको र उक्त जग्गा अतिक्रमण नहटाए वडाले नै हटाउने भनिएको थियो । उक्त सुचना जारी भएपछि वर्षौंदेखि रजाइँ गरिरहेका न्यौपानेले हाल केही भाग छाडेर नयाँ वाल लगाइरहेका छन् ।

मंगलबार दियोपोस्टकर्मी उनको महलमा पुग्दा धमाधम पुरानो वाल भत्काएर नयाँ वाल निर्माण गरिँदै थियो । वाल भत्काएपछि निस्केका सामग्री समेत जथाभावी छरिएको थियो ।

स्थानिय एक बृद्ध महिलाका अनुसार न्यौपानेले आफ्ना ससुराका बलमा सरकारी पर्ति जग्गा अतिक्रमण गरेका थिए । उनका अनुसार न्यौपानेका ससुरा मालपोतकै कर्मचारी थिए । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई पर्ति जग्गा हत्याउन सहज भएको ती व्यक्तिको भनाई छ ।

 

बाटो नै बन्द गरेर घर निर्माण

स्थानियबासीका अनुसार उनको महल गेट हुँदै दक्षिण तर्फ ठूलो बाटो थियो । चार पाङ्ग्रे गाडी नै छिर्ने उक्त बाटो यतिबेला बन्द छ । ‘पहिले यो बाटो हिँडेर धोविखोला तर्फ जान पाइने थियो । तर, न्यौपानेको घर बनेपछि हामीलाई बाटो नै हिँड्न बन्द गरेर गेट बनाइएको छ,’ उनकै घर अगाडी किराना पसल गरेर बसेकी एक महिलाले दियोपोस्टसँग भनिन्,‘पहिले त गाडी नै जाने गल्लीको बाटो थियो । यो घर बनेपछि हामीलाई हिँड्न प्रतिबन्ध लगाएर गेट बनाइएको छ । खै कसले कसरी अनुमति दियो । हामीलाई थाहा छैन ।’

बाटो साटिएको हो : वडाध्यक्ष श्रेष्ठ

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार यसअघिका जनप्रतिनिधीको मिलेमतोमा उक्त बाटो बन्द गरेर अर्को बाटो साटिएको थियो । ‘मेरो पालामा त सरकारी र पर्ति जग्गा अतिक्रमण गर्नेलाई २५ दिन भित्र हटाउन सुचित गरिएको हो । त्यो सुचना अनुसार आफ्नो आफ्नो हिसाबले सबैले हटाउन थाल्नु भएको छ,’ श्रेष्ठले दियोपोस्टसँग भने,‘उहाँले पनि आफै भत्काउन थाल्नु भयो । पहिले कसरी नक्सा पास भयो । कसरी वाल निर्माण भयो भन्ने विषयमा म भन्दा अगाडी नै त्यो निर्णय भएको हुनाले मैले केही भन्न मिलेन ।’

प्रश्नबाट भाग्दै न्यौपाने

बुढानिलकण्ठ २ स्थित भंगालपञ्जि टोलमा तपाईंले निर्माण गर्दै गरेको भव्य महलको चारैतर्फ सरकारी पर्ति जग्गा अतिक्रमण गर्नु भएको रहेछ नी भन्दै दियोपोस्टले न्यौपानेलाई प्रश्न गर्दा उनले कुनै जवाफ दिएनन् । उनको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनले उठाएनन् ।