काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हास्य कलाकारिता क्षेत्रबाट राजनीतिक क्षेत्रमा उदाए । पाकिस्तानमा राजनीतिक पृष्ठभूमि नभएका पूर्व क्रिकेट कप्तान इमरान खान प्रधानमन्त्री छन् भने अमेरिकाको चालिसौँ राष्ट्रपति रोनाल्ड रेगन कलाकारिता पृष्ठभूमिकै थिए । भारतमा पनि प्रत्यक्ष–अप्रत्क्ष रुपमा धेरै कलाकारहरु राजनीतिमा सक्रिय छन् ।
नेपालमा पनि पछिल्लो समय राजनीतिमा कलाकारहरुको प्रवेश बढदै गएको देखिन्छ । कलाकारहरु कलाकारितामा करियर सकिएपछि र पदको लागि राजनीतिमा प्रवेश गरिरहेका हुन् या त सिद्धान्तलाई बुझेर स्पष्ट कार्यदिशा सहित राजनीतिमा आएका हुन् भन्ने कुरा खुटट्याउन मुश्किल छ । स्पष्ट राजनीतिक चेत नहुँदा यसअघि धेरै कलाकारहरु राजनीतिको रंगमञ्चबाट हराएका छन् ।
आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कलाकारिता क्षेत्रबाट आएका धेरैको उम्मेदवारी रहेको छ । कोही कलाकार नेताहरुले कमेडी गरेको कारण कमेडियनले राजनीति गर्नुपर्ने भयो भन्दै होमिएका छन् भने कोही नेताहरुले केही नगरेको कारण त्यसको विद्रोेह स्वरुप राजनीतिमा आउनुपरेको बताएका छन् । चलचित्रमा रमाइरहेकी रेखा थापा भन्छिन्,“लामो समयसम्म राजनीति गरेका दल र नेताहरूले जनताको लागि काम नगरेकाले त्यसको विद्रोह स्वरुप मेरो उम्मेदवारी हो ।”
चलचित्रको पात्रमा बोल्ड रेखाको संसदीय राजनीतिमा अग्नि परिक्षा
दुई दशकभन्दा लामो समय चलचित्र क्षेत्रमा रमाइरहेकी रेखा थापा अहिले राजनीतिमा होमिएकी छन् । कलाकारबाट निर्माता, निर्माताबाट निर्देशक र निर्देशकबाट समाजसेवा हुँदै राजनीतिसम्मको उनको यात्रा निकै रोचक छ । हालसम्म उनले २ सय वटा भन्दाबढी चलचित्रमा अभिनय गरेकी छिन् ।
थापा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन् । पछिल्लो समय थापा विशेषगरी महिला हिंसाका विरुद्धमा र महिला पात्रलाई सशक्त देखाउने चलचित्रहरु निर्माण गर्न लागेकी थिइन् । नेपाली सिने क्षेत्रमा पुरुष पात्रलाई मात्रै बोल्ड देखाइरहँदा उनले महिला पनि सशक्त छन् भन्ने भावका चलचित्रको निर्माण साथै अभिनय समेत गरिन् ।
थापाले आफ्नो राजनीतिक यात्राको सुरुवात नेकपा माओवादी केन्द्रबाट गरेकी थिइन् । करिब १० वर्ष पहिले माओवादीले आयोजना गरेको आम हडतालको बेलामा पुष्पकमल दाहाल(प्रचण्ड)सँग थापा बाटोमै नाचेको प्रसङ्गको व्यापक चर्चा भएको थियो । सो घटनाको केही वर्षपछि माओवादी केन्द्र त्यागेर उनी राप्रपामा प्रवेश गरिन् । राप्रपाको महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदवारी दिएकी थापा पराजित भएपछि केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् ।
उनले यस पटकको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा, एमालेका उम्मेदवार पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, र राप्रपा नेता रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
यो प्रतिस्पर्धामा राप्रपा नेता एवं अभिनेत्री थापाको प्रवेशले रौनकता थपिएको छ । यस क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा भदौ दोस्रो सातादेखि नै निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा खटिएकी छन् । लामो समयसम्म राजनीति गरेका दल र नेताहरूले जनताको लागि काम नगरेकाले त्यसको विद्रोह स्वरुप उम्मेदवारी रहेको भन्दै उनी घरदैलोमा व्यस्त छिन् । स्थापित अभिनेत्री उम्मेदवार बनेर टोलटोलमा पुग्दा उनीसंग तस्बिर खिच्ने र उनीसंगै हिड्नेहरु धेरै छन् ।
यो क्षेत्रमा रेखा थापाको क्रेजलाई भने राम्रोसँग देख्न सकिन्छ । पछिल्लो समय चलचित्रमा बोल्ड देखिएकी थापाको संसद यात्राको भविष्य मंसिर ४ पछि नै निर्धारण हुनेछ ।
राजनीतिमा ‘अस्थिर’ पोइला जान पाउँकी गायीका कोमल वलीको संसद यात्रा
कोमल वली भन्ने वित्तिकै उनको स्वरमा बजारमा कुनै समय निकै चलेको “पोइला जान पाउँ” गीतको चर्चा हुन्छ । रेडियो नेपालकी सन्चारकर्मी समेत रहेकी वलीले “राजनीति” नामक फिल्ममा पनि अभिनय गरेकी छन् । उनले रेडियो नेपालको जागिर छाडेर २०७३ सालमा राप्रपा प्रवेश गरेकी थिइन् । तर उनी राप्रपामा नै स्थिर रहन सकिनन् । राजनीतिक यात्राको एक वर्ष नपुग्दै राप्रपा विभाजन भएसँगै उनी एमालेतर्फ मोडिइन् ।
एमाले नेताहरुले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनाउने आश्वासन कोमल वलीलाई दिएका थिए । तर, उनले पाइनन् र त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उम्मेदवारी दिएको केही दिनपछि उनले फिर्ता लिइन् । त्यही साल उनी प्रदेश ५ बाट राष्ट्रिय सभा उम्मेदवारी दिएर सांसद भइन् । २०७८ मंसिरमा चितवनमा भएको एमालेको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा मनोनित भईन् ।
हाल कोमल वलीले एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी छन् । उनको मुख्य प्रतिस्पर्धीमा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक गिरी रहेका छन् ।
कलाकारिताबाट कट्टर हिन्दुवादी दल राप्रपामा प्रवेश गरेकी उनी एकाएक गणतन्त्रलाई अंगिकार गर्ने नेकपा एमालेमा प्रवेश गरिन् । एमालेमा उनको प्रवेशपछि तिव्र असन्तुष्टि समेत छाएको थियो । तत्कालिन एमाले नेता रघुजि पन्तले कोमल ओलीलाई ‘पिँडुला देखाएर’ राष्ट्रिय सभा सदस्य पद हत्याएको आरोप समेत लगाए । उनले पन्त विरुद्ध उजुरी समेत गरेकी थिइन् । राजनीतिक रुपमा निकै अस्थिर देखिएकी उनको संसद यात्रा त्यति सहज भने देखिँदैन ।
अश्लिल कमेडीले चर्चा कमाएका हिमेश पन्तको कठिन बाटो
आसन्न प्रतिनिधिसभा चुनावमा धादिङ क्षेत्र नम्बर १ मा कमेडी च्याम्पियन हिमेश पन्त उम्मेदवार बनेका छन् । कमेडी च्याम्पियन उनको जोक्सको कारण भन्दापनि सन्तोष पन्तका कारण जितेको धेरैको ठम्माई थियो । “पन्त–पन्त मिले बीस लाख निले” भन्दै त्यतिबेला उनी विवादमा आएका थिए ।
अश्लिल जोक्सकै आधारमा कमेडी च्याम्पियन जितेका पन्तसंग न त राजनीतिक अनुभव छ, न त उनीसंग समाज विकासको कुनै रोडम्याप देखिन्छ ।
अब हुने निर्वाचनमा पन्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदको टिकट दिएको हो । उनको उम्मेदवारीसँगै सामाजिक संजालमा ट्रोल बनाउने र उम्मेदवारी दिनु नै सबैभन्दा ठूलो मजाक भन्दै आलोचना भइरहेको छ ।
कलाकारिता क्षेत्रबाट एकाएक राजनीतिमा आएका पन्तलाई के–कस्तो आधारमा भोट दिने भनेर मतदाता अलमलमा परेको देखिन्छ । उनको क्षेत्रमा राजनीति सिकाउने र घरघरमा जनतालाई जागृत बनाउने निकै पुरानो नेता राजेन्द्र पाण्डे सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । त्यस्तै एमाले र माओवादी गठबन्धनबाट यसअघि निर्वाचित भुमि त्रिपाठीको प्रभाव बलियो छ ।
‘उडायो सपना सबै हुरीले’ का गायक मुरलीधरको संसद छिर्ने सपना
‘उडायो सपना सबै हुरीले’, ‘चिसो चिसो सिरेटोमा’ जस्ता चर्चीत गीतका गायक मुरलीधर कलाकारिताबाट राजनीतिक क्षेत्रमा आइपुगेका छन् । भारतका धेरै विद्यालयमा उनको ‘इतनी शक्ति हमे देना दाता’ गीत प्रथाना गर्दा बज्ने गर्छ । चलचित्रमा अभिनय गर्ने, गीत लेख्ने, धेरै भाषामा गीतहरु गाउने, कम्पोज गर्ने, निर्देशन गर्ने मुरलीधर कलाको क्षेत्रमा पोख्त देखिन्छन् । तर, कला क्षेत्रमा उनी जति पोख्त छन् त्यति नै पोख्त राजनीतिमा भने देखिदैनन् ।
उनी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । लामो समयसम्म मुम्बईमा बिताएका उनले आफू उठेको क्षेत्रको बारेमा कति बुझेका होलान् भन्ने प्रश्न स्वभाविक रुपमा खडा हुन्छ । राप्रपाका धेरै नेताहरु लामो समयसम्म सक्रिय रहँदा पनि टिकट नपाइरहेको अवस्थामा मुरलीधरले पार्टी प्रवेश गरेको केही दिनमा नै सहजै टिकट पाएका छन् । जति सहजै उनले टिकट पाए त्यति सहज उनलाई प्रतिस्पर्धीसंग भिड्न भने छैन । उनी उम्मेदवार उठेको सिराहा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट राजकिशोर यादव पनि चुनावी मैदानमा उत्रेका छन् । समाज र जनताको बीचमा घुलमिल नभएका मुरलीधरले चुनाव जित्न त्यति सहज देखिदैन । उत्पीडित जाती समुदायको अधिकार स्थापित गर्ने समावेशीता र धर्म निरपक्षताको अजेण्डा खारेज गर्ने माग सहित चुनावमा होमिएको राप्रपाबाट उनी उम्मेदवार बनेका छन् । तर, उनी आफै भने ऐतिहासिक रुपमा उत्पीडनमा पारिएको दलित समुदायका व्यक्ति हुन् ।
कलाकार, व्यवसायदेखि राजनीतिसम्म सिते बाको यात्रा
“सक्किगोनी” हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक(सिते बा) कलाकारका साथसाथै व्यवसायी पनि हुन् । उनले १७ वर्षको उमेर देखि काठमाडौं ५ मा नै व्यवसाय गर्दै आएका थिए ।
उनी काठमाडौं क्षेत्र नम्बर ५ मा लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उनी काँग्रेसका प्रदिप पौडेल, नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनासँग भिड्दै छन् । यो क्षेत्रमा यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जितेका थिए ।
हँसाएर दर्शकको मन जित्ने महतोले चुनावमा जनताको मत जित्लान ?
मधेसका धेरै गाउँमा स्टेज प्रोग्राम गर्दै दर्शकलाई हँसाउने कृष्णकुमार महतो राजनीतिक क्षेत्रमा प्रवेश गरेका छन् । उनका जोक्सहरुले दर्शकहरु त हाँसिरहेका छन् तर, के जनताको मुहारमा उनले खुशीयाली छर्न सक्लान त ? उनी उम्मेदवार बनेको धनुषा क्षेत्र नम्बर ४ बाट प्रभावशाली नेता रघुवीर महासेठ र महेन्द्र यादव पनि भिडन्तमा छन् । नेकपा एमालेका सचिव महासेठ उपप्रधानमन्त्री र पटक–पटक मन्त्री बनिसकेका छन् । महासेठ र यादवसंग प्रतिस्पर्धामा उत्रेका महतो सामाजिक सञ्जालमा त छाएका छन् तर, राजनीतिमा छाउन भने उनलाई हम्मे–हम्मे जस्तो देखिन्छ ।
स्वतन्त्र उम्मेदवारी दिएर चुनाव चिन्ह कैंची पाएका कृष्णकुमारलाई प्रभु साहले आफ्नो समूहको भन्दै जिकिर गरेका छन् भने केहीले अरुको उक्साहटमा स्वतन्त्र उम्मेदवारी दिएको पनि बताएका छन् ।