
काठमाडौै । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटकले नेपालमा दर्ता प्रक्रिया पुरा गरी आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिएका छन् ।
टिकटकले कात्तिक महिनाको तेस्रो सातासम्म कागजात उपलब्ध गराउनको लागि समय माग गरे पनि, कात्तिकको सुरुमा नै ती कागजातहरू उपलब्ध गराइसकेको बताइएको छ । २ सय पृष्ठको कागजातको अध्ययन पश्चात् दर्ता प्रक्रिया पूरा भएको हो ।
टिकटकले नेपालमा पर्यटन प्रवर्द्धन र डिजिटल साक्षरताका क्षेत्रमा सहयोग गर्ने, साथै सरकारद्वारा तोकिएका अन्य सर्तहरू पनि पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
गत वर्ष, सरकारले फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाई सूचीकृत नगरे बन्द गर्ने निर्देशिका पारित गरेको थियो । त्यसका अनुसार, यी प्लेटफर्महरूलाई तीन महिनाभित्र सूचीकृत हुनुपर्ने थियो । कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।
टिकटकमाथि लगाइएको प्रतिबन्धका बारेमा नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दलहरूले विरोध जनाएका थिए । उनीहरूको तर्क थियो कि टिकटकले नेपालका नीति र नियमलाई सम्मान गर्दै सञ्चालन गर्न तयार भएको थियो । यससँगै, दुई पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकले पत्र पठाएको थियो ।
वर्तमान सरकार गठन भएपछि, गत भदौ ६ गते टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको थियो । त्यसपछि, टिकटकले आधिकारिक दर्ता गर्नको लागि समय मागेको थियो ।
अब, टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेपछि, सरकारलाई यसबाट राजस्व उठाउने र नियमन गर्न सहज हुने आशा गरिएको छ ।