दीपक मनाङे पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् ।

२०७९ मा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उनी मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए। मनाङे गण्डकीमा पटक-पटक मन्त्री पनि बनेका थिए ।

सम्बन्धित खबर