सिन्धुपाल्चोक पाँचपोखरी थाङपालमा चरम घोटाला : भवन निर्माणदेखि औषधी खरिदमा समेत ‘भ्रष्टाचार’ !

दियोपोस्ट संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पालिका विभिन्न खरिद प्रकरणमा अनियमितता गर्ने गरेको तथ्य भेटिएको छ ।
महालेखा परिक्षकको पछिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार यस्तो अनियमितता भेटिएको हो ।

महालेखाका अनुसार पालिकाले खरिद गरेको औषधीमा समेत चरम अनियमितता गरेको पाइएको छ । उनी अध्यक्ष रहेको पालिकाले खरिद गरेको करिब ३० लाख रुपैयाँ बराबरको गुणस्तरहिन औषधी खरिद गरेको महालेखा परिक्षकको प्रतिवेदनमा देखिएको हो । पालिकाले खरिद गर्ने औषधीको म्याद सकिने मिति भण्डार दाखिला समयदेखि कम्तिमा १८ महिना बाँकी हुनुपर्ने र दाखिला गर्दा समेत सबै विवरण खुलाउनुपर्ने हुन्छ । यस वर्ष पालिकाले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि २९ लाख ९५ हजार ६ सय ६ रुपैयाँको औषधी खरिद गरेको देखिन्छ । आपूर्ति हुने औषधी तथा औषधिजन्य सामग्रीमा उल्लेखित सुचना नै पूर्ण रुपमा नरहेको र औषधी प्रयोग र मौज्दात समेत यकिन नभएको महालेखाको ठहर छ । पालिकाले मेडिगोल्ड ईन्टरनेश्नल र सेतिदेवि मेडिसिन सप्लायर्सबाट २९ लाख ९५ हजार ६ सय ६ रुपैयाँको औषधी खरिद गरेको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार खरिद गरिएको औषधी कुन औषधी कम्पनिबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको छैन । त्यस्तै आपूर्ति भएका औषधी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र सो अनुसारको उत्पादन मिति, ब्याच नम्बर, म्याद समाप्त मिति उल्लेख समेत नभएका औषधी छन् । जसलाई सम्बन्धित विज्ञबाट मुचुल्का उठाउने कार्य समेत नभएको महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ ।

आपूर्ति भएको औषधी एंवम सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको समेत नखुलाइएका कारण औषधीको गुणस्तर तथा म्याद समेत थाहा पाउन महालेखालाई गाह्रो भएको थियो । नेपाल सरकारले निशुल्क दिने औषधी र पालिकाबाट खरिद गरिएको औषधी समेत खुलाउन महालेखालाई कठिन भएको छ ।

गाउँपालिका भवन निर्माणमा घोटाला

गाउँपालिका भवन निर्माणमा चरम आर्थिक अनियमितता भएको पाइएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार मुल्य अभिवृद्धि करसहित १० करोड ८९ लाख ७६ हजार ६ सय ४ रुपैयाँको लागत अनुमान स्विकृत भई ९ करोड ५० लाख २ हजार ४ सय २१ रुपैयाँमा वर्ल्डवाईड कन्स्ट्रक्सन प्रा.लीसँग २०७९ जेठ १२ गते नै सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको थियो । तर, तोकिएको म्यादमा नसकिएपछि २०८० जेठ ३२ सम्म ठेक्का अवधि थप भएको थियो । दुई पटकसम्म म्याद थप भएपछि गाउँपालिकाले सेटिङमा ठेक्का रकमको भेरियसन बढाएको खुलाशा भएको छ । अन्तिम पटक सोही ठेक्कालाई बढाएर १० करोड ५४ लाख ९६ हजार ६ सय ९४ रुपैयाँसम्म पुर्याइएको छ । ठेकेदारले १२ करोड २६ लाख रुपैयाँको बिमा गराउनु पर्नेमा १० करोडको मात्रै गराइएको पाइएको छ ।

जसमा अपुग भएको एक करोड ७० लाखको भने प्रमाण समेत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । तर, ठेकेदारले भने बिमा नै नगराई बिमा प्रिमियरको नाममा १ लाख ९ हजार रुपैयाँ भुक्तानी लगेको देखिएको छ । जसको प्रमाणहरु समेत गायब बनाइएको छ । सम्झौता गर्नुअघि नै भेरियसनबारे सोच्नुपर्ने भएपनि १२.२६ प्रतिशत भेरियसन हुँदा राज्यलाई १ करोड रुपैयाँ घाटा पुर्याएको देखिन्छ । ठेकेदारलाई बिमा बापत ५० हजार रुपैयाँ दिनुपर्नेमा २ लाख रुपैयाँ दिइएको छ । महालेखाले अपुग भएको १ लाख १९ हजार रुपैयाँ असुली गर्नुपर्ने उल्लेख गरेको छ ।

भवन नबन्दै फर्निचर ठेक्का र भुक्तानी

गाउँपालिकाको भवन नबन्दै फर्निचरको ठेक्का लगाएर अर्को चरम भ्रष्ट्रचार गरिएको समेत पाइएको छ । २०८० जेठ १२ गते भवन सम्पन्न भएपनि त्यो भन्दा २ वर्ष अघि अर्थात २०७८ फागुन २० गते नै डेकोरेशन र फर्निचरको ठेक्का आकार निर्माण सेवालाई दिएको थियो । ८० लाख ५७ हार ६ सय ४२ रुपैयाँमा ठेक्का खुलाइएकोमा आकारले ७६ लाख ४६ हजार ६५ रुपैयाँमा ठेक्का पारेको थियो । भवन नबन्दै फर्निचरको ठेक्का गरि पटक पटक म्याद थपिएको महालेखाले जनाएको छ । भवनको ठेक्का नसकिँदै सोही भवनको नयाँ ठेक्का लगाउनु गैरकानुनी रहेको महालेखाले जनाएको छ ।

भेरिएशन बढाएरै ७४ लाख अनियमितता

विभिन्न योजनामा भेरियसन बढाएरै ७४ लाख ३ हजार २४ रुपैयाँ अनियमितता भएको महालेखाको ठहर छ ।

सम्बन्धित खबर