
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ।
बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीको जिल्ला कमिटीबीच पाँच बुँदे सहमतिपछि एकीकृत समाजवादी आफ्नो उम्मेदवारी फिर्ता गरेर माओवादी केन्द्रका नरपुरा बुढालाई समर्थन गर्ने निर्णय गरेको हो।
गाउँपालिका उपाध्यक्ष पदका लागि एकीकृत समाजवादीबाट सुनिता बिएमले मनोनयन दर्ता गरेकी थिइन्।
बुधबार माओवादी केन्द्रको पूर्वी रूकुम संयोजक कुमारी बराल र एकीकृत समाजवादीको इन्चार्ज भीउमान घर्तीले संयुक्त विज्ञप्ति जारी गरेर सहकार्यको सहमति भएको जानकारी दिँदै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदाताहरूलाई आह्वान गरेका छन्।
