जलवायु परिवर्तन न्यूनीकरणमा मानवीय भूमिका

Guest
गंगा पोखरेल

   वर्तमान विश्व समुदायले जलवायु संकटको गंभीर असर भोगिरहेको छ । आजको बिश्वले त्यसको सामना समेत गरिरहेको छ । बिभिन्न बैज्ञानिक अध्ययन र अनुसन्धानले पृथ्वीको तापमानमा निरन्तर बृद्धि भइरहेको पुष्टि गरेका छन् । यसको प्रमुख कारण कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता हरितगृह ग्यासहरुको अत्यधिक परिमाणमा उत्सर्जन भई वायुमण्डलमा थुप्रिएर बस्नु र पृथ्वीबाट परावर्तन भएको तापलाई सोसेर राखी पृथ्वीलाई तताउनु हो । जुन जलवायु परिवर्तनको प्रमुख कारण हो ।
पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वव्यापी बन्दै गइरहेको छ । यसको प्रत्यक्ष असरबाट जो कोही पनि अछुुतो रहन सकेका छैनन् । मानव समुदायको कुरामात्र नभए यसको असर पृथ्वीका प्राणी, वनस्पति र सम्पूर्ण पारिस्थितिक प्रणालीमा परिरहेको छ । यो हामी सबैले देख्दै, भोग्दै र महशुस गर्दै आइरहेका छौँ ।

प्रचण्ड गर्मी, खडेरी, खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टि, अनपेक्षित समयमा अत्यधिक वर्षात्, हावाहुरी आदि जलवायुजन्य विशेषता र प्रकोपले मानवजगत आजित भै सकेको छ । आजको बिश्व र मानव जगत नयाँ–नयाँ भाइरस जिवाणुहरुको उत्पत्तिसगैँ विभिन्न प्रकारका रोग व्याधिसँग जुधिरहको छ । बढ्दो विषादीको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास हुँदै गइरहेको छ भने विषादीरहित शुद्ध खाद्यान्न पाउन मुस्किल भैसकेको अवस्था छ । यी घटनाहरुले विश्वव्यापी विकराल समस्या बढ्दै गइरहेको । यसले पृथ्वीको आफ्नै स्वास्थ्य बिग्रिरहेको संकेत गर्दछ । पृथ्वी आफै अस्वस्थ भएपछि हामी कसरी स्वस्थ हुन सक्छौँ ? प्रश्न गंभिर छ ।

वैज्ञानिक तथ्य र मानिसले भोगिरहेको अनुभवले जलवायु परिवर्तन र त्यसले पृथ्वी र त्यसमा रहेका जैविक एवं विविधताहरुमा पारेको असरबारे अब कुनै द्विविधा रहेन । यो कटु सत्य नै प्रमाणित भैसक्यो । यसको कारण मानव समुदायले गरेका विकास र विनाश सम्बन्धी क्रियाकलापहरु नै हुन् । यो पृथ्वी सबै प्राणी र वनस्पति जगतको साझा थलो हो । तर, मानिसले आफ्नो स्वार्थको लागि प्राकृतिक सन्तुलन खल्बल्याउन गरेका अविवेकी क्रियाकलापहरु नै जलवायु परिवर्तनको लागि पूर्णरुपमा जिम्मेवार छन् । अझै आफूलाई विकसित भन्न रुचाउने केही हेपाहा र मिचाहा प्रवृत्तिका देशहरुको गैरमानवीय क्रियाकलापहरुका कारणले अवस्था बिग्रँदै गएर चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

समस्या र चुनौतीहरु हाम्रो सामु प्रस्टै छ । राष्ट्रिय र अन्र्तराष्ट्रिय जगत मै यसका समस्याका बारेमा निकै पेचिला बहसहरु नभएका पनि होइनन् । विश्व समुदायले यसको नकरात्मक असर खेपिरहेको विषय पनि अब छर्लङ्गै बाहिर आइसकेको छ । नेपालजस्ता अल्पविकसित र साना मुलुकहरू जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्ष मारमा बढी परेका छन् । गरीब देशमा विकास निर्माणका कामहरू पनि वातावरणमैत्री र वैज्ञानिक हुन सकेका छैनन् । जसको कारण यी देशका नागरिकहरूले विकासको आशमा राज्यसंयन्त्रका जबरजस्ती क्रियाकलापहरु र आफ्नै अविवेकी र अदूरदर्शी हर्कतहरुका कारण वर्षेनी ठूलो वातावरणीय विनाश र जनधनको क्षति बेहोर्नु परिरहेको छ । अब जलवायु परिवर्तनको व्यवस्थापन कसरी गर्ने भन्ने बारे स्थानीयदेखि विश्व समुदायसम्मको ध्यान केन्द्रित गर्न ढिला गर्नु हुँदैन ।

जलवायु परिवर्तनको असरलाई व्यवस्थापन गर्न मूलतः दुई किसिमका उपायहरु अवलम्बन गर्नु पर्दछ । न्यूनीकरण भनेको हरितगृह ग्यासको उत्सर्जन कम गर्ने र वायुमण्डलमा थुप्रिएको हरितगृह ग्यासहरु घटाउने उपायहरु अवलम्बन गर्ने हो जसमा वृक्षारोपण गर्ने, वन व्यवस्थापन गर्ने, डढेलो तथा आगलागी नियन्त्रण गर्ने, वन विनाश र वनको क्षयीकरण रोक्ने, फोहोरमैला व्यवस्थापन गर्ने, पेट्रोलियम पदार्थ र कोईलाको प्रयोग कम गरी स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने, कलकारखानाहरुमा प्रदूषण नियन्त्रण सम्बन्धी आधुनिक प्रविधिको प्रयोग गर्ने आदि हुन् । यसका लागि परिवर्तित जलवायुसँग अनुकुलित हुने; जलधार, जलाशय, तालतलैया, नदीनाला, खोला, सीमसार आदिको संरक्षण गर्ने, जीवनशैलीलाई वातावरणमैत्री बनाउन पहल गर्नु पर्दछ । जलवायु परिवर्तनको असरलाई केही हदसम्म भएपनि कम गर्नको लागि आ–आफ्नो ठाउँबाट सचेत हुनु आजको अपरिहार्य आवश्यकता हो । वातावरण संरक्षण गर्नको लागि एउटा व्यक्ति, घर, टोल, समुदाय, गाउँ, शहर हुदै सिङ्गो देश र विश्वमा व्यापकरूपमा सचेतना फैलाउनु, जीवनशैली रुपान्तरण गर्नु र वातावरणमैत्री कृयाकलापहरु सञ्चालन गर्नु जरुरी छ ।

समग्र पृथ्वीको बढ्दो तापमान नियन्त्रण गर्न र घटाउनको लागि पृथ्वीवासी मानव समुदायको भूमिका महत्वपूूर्ण हुन आउँछ । किनकि यो असन्तुलनको कारक पनि मानव समुदाय नै हो । पृथ्वीको शुक्ष्म हिस्साबाट पनि पृथ्वीको लागि केहि गर्न सकिन्छ । हामी आफ्नै परिवेशको कुरा गर्नुपर्दा आफूले आफैलाई वातावरणमैत्री बनाउनुपर्ने हुन्छ । हाम्रो दैनिक क्रियाकलापमा घरबाट नै यो कामको सुरुवात गर्न सकिन्छ ।

जलवायु परिवर्तनलाई व्यवस्थापन गर्न र पृथ्वीको समग्र पारिस्थितिक प्रणाली सन्तुलित राख्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्नु पर्दछ । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? आउनुहोस्, पर्यावरण र वातावरण जोगाउन हामी सबैले हातेमालो गरौँ ।

सम्बन्धित खबर