काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’बारे प्रधानमन्त्रीलाई थप सन्देश पठाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति, उपसभापति र महामन्त्री तथा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा पूर्वपरर्राष्ट्रमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महत सम्मिलित बैठकले बीआरआई सहयोग लिने तर, ऋण नलिने भनेर सन्देश पठाएको हो ।
परर्राष्ट्रमन्त्री डा. प्रकाशशरण महत हुँदा नै एमओयूमा हस्ताक्षर भएको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा नरहेको भन्दै देशलाई ऋणको भार थप्ने अवस्था भने नरहेको प्रवक्ता महतले बताए । सुरुङमार्ग, नाका जोड्ने सडकसहितका परियोजना त्यसमा रहेको भन्दै ती आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, टेक्निकल सपोर्टसहितका सहयोग लिने अवस्था रहेको उनले बताए ।
सत्ता साझेदार कांग्रेसले सुझाव दिए पनि सरकारका तर्फबाट निर्णयको अधिकार भने प्रधानमन्त्रीमा रहेको बताएको छ ।