
काठमाडौं । लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५।२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले १ सय १६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो।
मिलान्थाले ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे। ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे। मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन्। एनपीएलमा यो दोस्रो अर्धशतक हो।
खेलपछि जनकपुरका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘खेलको निकै मजा लियौं। एनपिएलका खेल ठूला हुन्छ भन्ने थाहा थियो। त्यसैले हामीले खेलका लागि तयारी गरेका थियौं,’ खेलपछि उनले भने, ‘जितका साथ प्रतियोगिता सुरूआत गर्न पाउँदा खुसी लागेका छ। हामी उत्साहित छौं। यो नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो। सबैले लिगलाई सफल बनाउन समर्थन गर्नुपर्छ जस्तो लाग्छ।’