काठमाडौं, । नेपाल पर्यटन बार्डले नेपालमा आउने पदयात्री पर्यटक उद्दार, उपचार र विमाको जिम्मा एक बद्नाम र विवादास्पद विदेशी कम्पनिलाई दिने तयारी गरेको पाइएको छ ।
मुलुक कोरोना भाइरस संक्रमणको महामारीमा रहेको बेला बोर्डकै सिइओ तथा पर्यटन व्यावसायी समेत रहेका धनन्जय रेग्मीको ग्राण्ड डिजाइनमा विदेशी विचौलिया कम्पनिलाई एकतर्फी यस्तो जिम्मवारी दिने तयारी गरेको पाइएको हो ।
हिमाल अरोहणका क्रममा विरामी भएका पदयात्री पर्यटक उद्दार गर्ने नेपाली ट्रेकिङ कम्पनि तथा हेलिकोप्टर अपरेटरहरुको लाखौँ रकम नतिरेर ठगि गरिरहेको ग्लोबल रेस्क्यु नामक कम्पनिलाई बोर्डले उद्दार, उपचार र विमाको जिम्मा दिने तयारी गरेको छ ।
ग्लोबल रेस्क्यु नामक कम्पनिले नेपालमा दर्जनौँ व्यावसायीलाई विमा रकम भुक्तानी समेत नगरी फरार रहेको छ । सोही कम्पनिलाई नेपालमा हुने हेलिकोप्टर उद्दार, उपचार र विमाको जिम्मा दिने तयारी थालेपछि स्वदेशी पर्यटन व्यावसायीहरु आक्रोशित बनेका छन् । त्यति मात्रै होइन ग्लोबल रेस्क्यु उद्दार, उपचार र विमाको जिम्मा लगाएर बोर्डकै सिइओ रेग्मीको समेत लगानी रहेको मुस्ताङ एयर नामक हेलिकोप्टर कम्पनिमार्फत ‘रेस्क्यु फ्लाइट’ गरेर धन्दा चलाउने रेग्मीको तयारी रहेको स्रोत बताउँछ । रेग्मीले आफ्नो धन्दालाई मलजल गर्न नेपाल पर्यटन बोर्डको दुरुपयोग गरिरहेको पाइएको छ ।
सञ्चालनमा समेत नआएको मुस्ताङ एयर नामक हेलिकोप्टर अपरेटर कम्पनिलाई उद्दारको जिम्मा लगाएर त्यहाँ मार्फत कमाउ धन्दा गर्न रेग्मी लागि परेका छन् ।
दियोपोस्टले ग्लोबल रेस्क्यु र नेपाल पर्यटन बोर्डबीच हुने भनिएको सम्झौताको ड्राफ्ट फेला पारेको छ । उक्त ड्राफ्ट अनुसार नेपाल घुम्न आउने पदयात्री पर्यटकहरुले पैसा तिरेर ग्लोबल रेस्क्युको सदस्यता लिनुपर्नेछ । त्यति मात्रै होइन पर्यटन बोर्डले भने ग्लोबल रेस्क्युको प्रचार प्रसार गरिदिनुपर्नेछ ।
उक्त ड्राफ्टको विषयमा केहीदिनअघि बोर्डले भर्चुअल माध्यमबाट छलफल नै चलाएको थियो । सम्झौता पत्र अनुसार नेपाल आउने विदेशी पर्यटक सोही कम्पनी मार्फत् कम्तीमा ३० दिन ट्राभल इन्स्योरेन्स अनिवार्य गर्नुपर्ने, उनीहरुको उद्दार, उपचार लगायतका सबै जिम्मा आफूले लिने, सेवाप्रदायक कम्पनीले दिएको सेवा बारे आफूले निगरानी गर्ने लगायत विवादास्पद बुँदा छन् ।
स्रोतकाअनुसार उक्त प्रस्ताव रेग्मीकै अगुवाईमा ग्लोबल रेस्क्यु मार्फत बोर्डमा ल्याइएको हो ।
ग्लोबल रेस्क्युले ६० हजार डलर नतिरी फरार भयो
पदयात्रा व्यावसायमा समलग्न एक पर्यटन व्यावसायीका अनुसार ग्लोबल रेस्क्युले उनको कम्पनि मार्फत गरिएको रेस्क्युको विमा भुक्तानी नगरी फरार भएको थियो । ‘ग्लोबल रेस्क्युले हाम्रो कम्पनिलाई मात्रै ६० हजार डलर नतिरि भाग्यो,’ ती व्यावसायीले भने,‘त्यस्तो ठग कम्पनिलाई पर्यटन बोर्डले रेस्क्युको जिम्मा दिने तयारी थालेको सुन्दा अचम्म लागिरहेको छ ।’
रेग्मीको दाऊ : सिन्डिकेट लगाएर व्यापार कब्जा गर्ने !
पर्यटन बोर्डको सिइओ रेग्मी स्वयं पर्यटन व्यावसायी समेत हुन् । उनको स्वामित्वमा रहेको हिमालयन रिसर्च एक्सपिडिसन प्रा.ली ट्रेकिङ व्यावसाय गर्ने कम्पनि हो । स्रोतका अनुुसार रेग्मीले ग्लोबल रेस्क्यु नामक कम्पनिलाई उद्दार, उपचार र विमाको जिम्मा दिने तयारी गरिरहँदा आफ्नो कम्पनि मार्फत सिन्डिकेट लगाउन चाहेका छन् । ‘उहाँले व्यापार कब्जा गर्ने दाउ गर्नु भएको छ । जतिबेला आम पर्यटन व्यावसायी रोइरहेका छन् । यस्तोबेला उहाँले सिन्डिकेट लगाएर व्यापार कब्जा गर्ने गम्भिर षडयन्त्र देखिन्छ,’ पर्यटन बोर्डका एक अधिकारीले भने । त्यस्तै उनको समेत लगानी रहेको मुस्ताङ एयरमा हालै नेपाल वायु सेवा निगमको प्रबन्ध निर्देशक नियुक्त भएका डिम प्रकाश पौडेलको समेत लगानी छ । काठमाडौंमा कुनै समय म्यानपावर व्यावसाय समेत गरेका पौडेल र रेग्मी मिलेर पर्यटन मन्त्री योगेश भट्टराईलाई समेत कन्भिन्स गराएको आरोप छ ।
खुला प्रतिष्पर्धाबाट छानिनुपर्छ : शान्तवीर लामा
नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष शान्तवीर लामा सरकारले पहिले नेपालकै कम्पनिहरुलाई दिनुपर्ने बताउँछन् । नेपाली कम्पनिले नसकेको खण्डमा भने खुला प्रतिष्पर्धाको आधारमा छान्नुपर्ने उनको तर्क छ ।
‘फेक रेस्क्युका कारण नेपालको बद्नाम भएपछि अहिले यस्तो अवस्था आएको हो । विदेशीलाई पनि नेपालीहरुले नै सिकाएको हो । म सरकारले गठन गरेको छानबीन समितिमा पनि थिएँ । यसको समाधान गर्नुपर्छ,’ लामाले भने,‘ग्लोबल मात्रै होइन विश्वमा धेरै कम्पनि छन् । खुल्ला प्रतिष्पर्धाको आधारमा छानिनुपर्छ । नेपालमै भएका विमा कम्पनिलाई पहिले प्राथामिकता दिनुपर्छ । नेपालीले सकेनन् भनेमात्रै विदेशी कम्पनि खुला प्रतिष्पर्धाको आधारमा छानीनुपर्छ । एउटैलाई मात्रै दिँदा भविष्यमा विभिन्न समस्या आउँछन् ।
हुने नहुने कुरा लेखेर विवादमा ल्याए : सिइओ रेग्मी
दियोपोस्टले यस विषयमा प्रतिक्रिया लिनका लागि पर्यटन व्यावसायी समेत रहेका बोर्डका सिइओ धनन्जय रेग्मीलाई ‘उद्दार, उपचार र विमाको जिम्मा विवादास्पद विदेशी कम्पनिलाई किन ?’ भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘ठिकै छ । अहिले केही भएको छैन । अन्तर्राष्ट्रिय बजारमा नेपालको विग्रिएको छवी सुधार्नका लागि टेन्डर गर्नेकी भनेको हो । यसमा सैद्धान्तिक सहमति भइसकेको छैन । यो कुरोलाई अहिलै केही नभनौँ भो ।’
रेग्मीले पर्यटन क्षेत्रबाटै चौतर्फी विरोध आएपछि तत्काल यो प्रक्रिया अघि नबढ्ने संकेत गरे । ‘यो इन्डष्ट्रीलाई नै चाहिने हो । तर, चाहियो भन्दा पनि विरोधको आवाज बढि आयो,’ उनले भने ।
ग्लोबल रेस्क्यु आफैमा विवादित कम्पनि होइन र भन्ने विषयमा सोधिएको प्रश्नमा उनले कम्पनिको बचाउ गरे । ‘उसले अलि कडाइ गरेको हुनसक्छ । कुनैलाई मैले राम्रो भनौँला अर्कोले नराम्रो भन्ला । नेपालमा रेस्क्युको नाममा ठगिन्छ भन्ने इमेज गएको छ । त्यही कुरा सुधार्न खोजको हुँ । यो क्षेत्रका साथीहरुको सोचाइ र मेरो सोचाइ फरक भयो । हिजो जे भयो भयो अब भविष्यमा राम्रो गर्नुपर्छ भनेको हो । त्यसको लागि अन्तर्राष्ट्रिय रुपमा राम्रो म्यानेजमेन्ट कम्पनि छ भनेर कुरा अगाडी बढाएको हो,’ रेग्मीको भनाई छ,‘म एक्लैले भनेर नहुने रहेछ । यो क्षेत्रका सबैले भन्नुपर्ने रहेछ । धेरै त सहमत हुनुहुन्छ । तर, शत प्रतिशत सहमति छैन । नेपाल घुम्न सेफ छ की छैन भन्दा मानिसहरुले विगत हेर्छन् ।’
नेपालमा जतिखेर पनि रेस्क्यु मात्रै गर्छन् भन्ने छाप परेको समेत उनको दाबी छ ।
नेपालको प्रचार प्रसार गर्ने जिम्मा पाएको बोर्डले रेस्क्यु र विमाको काममा कसरी हात हाल्यो भन्ने विषयमा भने उनले भरपर्दो उत्तर दिएनन् । ‘सरकार र छानबीन समितिले के गर्छ भन्ने कुरा हामी जाँदैनौँ । तर, हामीले प्रचार प्रसार गर्ने हो । नेपालमा यस्तो छ नी भन्ने प्रचार भइरहँदा विगतलाई यस्तो भयो अब हामीले सुधारेका छौँ भन्नका लागि मैले यो काम गर्न खोजेको हुँ,’ उनको तर्क छ,‘मैले धेरैलाई पठाएकोमा ग्लोबल रेस्क्युले पठाएको हुनाले यसमा के थपघट गर्नुपर्छ हेर्नुस् र अन्तर्राष्ट्रिय टेण्डर गरौँ भन्ने खोजेको हुँ । तर, हुने नहुने कुरा लेखेर विवादमा ल्याए ।’