काठमाडौं, २४ कार्तिक । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ रहेका धननन्जय रेग्मी पर्यटन व्यावसायी समेत हुन् ।
उनको स्वामित्वमा रहेको ‘द हिमालयन रिसर्च एण्ड एक्सपिडिसन प्रा.ली ट्रेकिङ व्यावसाय मुलक कम्पनि हो । तर, यो कम्पनिले शंकाष्पद कारोबार गरेको तथ्य दियोपोस्टले फेला पारेको छ ।
काठमाडौंको लैनचौरमा कार्यालय रहेको ‘द हिमालयन रिसर्च एण्ड एक्सपिडिसन प्रा.लीले ट्रेकिङ नै नगरि करोडौंको कारोबार देखाएको पाइएको छ । करोडौंको कारोबार भएपनि यो कम्पनिले राज्यलाई कारोबार अनुसारको राजश्व भने छली गरेको तथ्य समेत फेला परेको हो ।
दियोपोस्टले प्राप्त गरेको यो कम्पनिको करचुक्ता प्रमाण पत्र अनुसार २०७५/७६ मा ६ करोड ४६ लाख ९७ हजार ३ सय २२ रुपैयाँको कारोबार देखिन्छ । तर, करयोग्य आय भने १ करोड १६ लाख १ हजार ९ सय ६८ रुपैयाँ देखाइएको छ । जसबाट रेग्मीको कम्पनिले २ लाख ९० हजार ४ सय ८४ रुपैयाँ मात्रै राज्यलाई राजश्व शिर्षकमा बुझाएको छ ।
त्यसो त द हिमालयन रिसर्च एण्ड एक्सपिडिसन प्रा.लीले पर्यटन विभागमा बुझाएको रेकर्ड अनुसार कारोबार अवधि सन् २०१७ मा जम्मा १ सय ६ जना पर्यटकहरुको मात्रै ट्रेकिङ गराएको देखिएको छ ।
त्यस्तै सन् २०१८ मा ४३ जनाको ट्रेकिङ गराएको रेकर्डमा देखिन्छ । सन् २०१९ मा ५५ जना मात्रै ट्रेकिङ गराएको देखिन्छ । कारोबार अवधिभर जम्मा २०४ जनाको ट्रेकिङबाट कम्पनिले कसरी साढे ६ करोड रुपैयाँ बराबरको कारोबार गर्यो त्यो आफैमा शंकाष्पद रहेको एक पर्यटन व्यावसायी बताउँछन् । ‘उहाँको यो अलि शंकाष्पद धन्दा देखिन्छ । यदि यहि कारोबार हो भने उहाँमाथि छानबीन हुनुपर्छ,’ एक उनी निकट पर्यटन व्यावसायीले भने । साढे ६ करोडको कारोबार गर्दा राज्यलाई भने २ लाख ९० हजार रुपैयाँ मात्रै भ्याट बुझाएर उनले भ्याट छलि गरेको समेत पाइएको छ ।
गत वर्ष माघ १४ मा पर्यटन बोर्डको सिइओ नियुक्त भएका रेग्मी आफैमा विवादास्पद व्यक्ति हुन् । बोर्डको सिइओमा प्रतिष्पर्धी रहेका १७ जना व्यक्तिलाई रहस्यमयी रुपमा पञ्छाएर सरकारले पर्यटन मन्त्रालयले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तीमा अपारदर्शी चलखेल भएको आरोप लागेको थियो ।
उनी बोर्डको सिइओ भएपछि नै कम्पनिले करचुक्ताको प्रमाण पत्र लिएको देखिन्छ । आन्तरिक राजश्व कार्यालयको वेभसाइटमा जनाइए अनुसार उनले गत भदौ १८ गते करचुक्ता लिएको देखिन्छ ।
रेग्मीको प्रश्न,‘तपाईं को हो र, अन्तै बुझ्नुस्’
शंकाष्पद कारोबार गर्ने द हिमालयन रिसर्च एण्ड एक्सपिडिसन प्रा.लीका प्रबन्ध निर्देशक समेत रहेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय पौडेललाई यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गरेको थियो ।
कम्पनिको कारोबारको विषयमा प्रश्न गर्दा उनले ‘तपाईं को हो र कम्पनिको कारोबार भन्नुपर्ने अरु नै निकायलाई सोध्नुस् भन्दै’ जवाफ दिन बाट भाग्ने कोशिस गरे ।
‘दाजु भाई एक पटक बसेर कुरा गरौँ । पहिले पत्रकारिताको धर्म निमाउन सिक्नुस् । म तपाईंसँग धेरै कुरा गर्दिन । कम्पनि मेरो भएपनि मैले कारोबार अहिले हेरेको छैन ।’ भन्दै रेग्मीले फोन काटिदिए ।