हिजोआज ‘कविता धेरै, कवि कम’ भएको छ

स्रष्टा संवाद

diyopost.com
राजु झल्लु प्रसाद
  शुक्रबार, मंसिर १०, २०७८ | १७:२४:४२

वराहक्षेत्र, सुनसरीका नगेन्द्र बजगाईँ साहित्य साधना र आध्यात्मिक खोजमा रुचि राख्छन् । बिएसम्मको अध्ययन गरेका  बजगाईँ राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाबाट आयोजित खुल्ला कविता वाचन प्रतियोगिता (२०७५) मा प्रथम भएका थिए । पूर्वेली साहित्यिक मञ्च, वराहक्षेत्रका महासचिव रहेका बजगाईँका ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक पत्रीका र स्थानीय पत्रपत्रिकाहरूमा रचना प्रकाशित हुँदै आएका छन् । 

प्रस्तुत छ, दियो पोस्टका लागि नगेन्द्र बजगाईँसँग राजु झल्लु प्रसादले गरेको ‘स्रष्टा संवाद’

सुरु यसरी नै गरेँ, हरेक साल आउने र जाने मजदुर दिवस हरेक पटक भूकम्प नै बनिरहेको छ, मजदुरलाई नै हल्लाइरहेको छ। यस परिपक्ष्यमा कस्ता कविता लेख्दै/पढ्दै हुनुहुन्छ ? सङ्ग्रहको तयारी पनि गरिरहनु भएको हो ?

प्रश्नको निम्ति हार्दिक धन्यवाद ।

मूलतः हामी पछिल्लो समय दिवस र औपचारिकतामा बढी तल्लीन हुन थालेका छौँ । मजदुरका समस्या एकातिर पन्छाएर वास्तविक सत्यलाई ढाकछोप गरेर तथा कथित कर्मकाण्डमा अल्झिएका छौँ हामी । मलाई लाग्छ, मजदुर दिवस मजदुर वर्गको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’  साबित भएको छ । र, यो मजदुर दिवस परम्पराको सनातनी अनुकरण मात्रै हो ।अझ मजदुर दिवस मजदुरका  नाउँमा यो राज्यले गरेको उपहास हो ।

‘भिडदेखि निस्कनेहरूको भिड’ मेरो प्रिय कविता हो । मलाई सोध्न मन लागेको, मान्छे एक्लो किन हुँदै छ र एक्लाहरू भिड यसप्रकारले किन बढिरहेको छ ? प्रिय लेखक बनार्ड शाह भन्थे, “एक दिनमा आधा दिन हामीलाई आफ्नै आवश्यकताले दास बनाएको हुन्छ ।”  के यस्तै हो ?

संसारमा एक्लाहरूको भिड बढ्नु त्यति अस्वाभाविक होइन । देख्नलाई मान्छे एक्लोजस्तो देखिन्छ । तर ऊ एक्लो हुँदैन । भौतिक रूपले एक्लो भएपनि भिडभित्र मान्छेले आफूलाई एक्लो महसुस गर्ने नै हो । जहाँसम्म विचारको कुरो आउँछ,  मान्छेको स्वभाव मूलतः भिडभाड भित्र एक्लो र एक्लो भित्र भिड हुनु नै हो । मान्छे चाहे भिडमा होस या एक्लो, मान्छेको मस्तिष्क भित्र विचारको असङ्ख्य भिडहरूको भागदौड हुन्छ । 

आजका मान्छे कस्ता भइरहेका छन्, के गरिरहेका छन्? 

आजका मान्छे मेरो विचारमा जानकारी अधिक र ज्ञान कम भएका मान्छेहरू हुन्  । एउटा मान्छेमा जानकारी र ज्ञान दुवैको सन्तुलन हुनु आफैमा राम्रो कुरा हो । तर ज्ञान बिनाको जानकारीले मान्छेमा अहङ्कार भरिन्छ । यसलाई यसरी बुझौँ । नेपालको कुल क्षेत्रफल कति छ भन्ने कुराको जानकारी  नहुँदा खासै फरक पर्दैन, जति फरक नेपाली माटो कला साहित्य र विविध कुराहरूको माया नहुँदा पर्छ ।

महेन्द्रीय मानक, ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ पाराका कविताहरू कत्तिको पढीरहनुभा’छ दाइ? कवितामा राष्ट्रवाद, आमा, परदेशका तथाकथित सेन्टिमेन्टहरू जोडेर हरेक वर्ष पुरस्कारको कुम्लोकुटुरो समाइराख्ने कवि र आयोजक संस्थाबारे बोल्ने मुड छ? मेरो इशारा ‘प्रज्ञा कविता महोत्सव’तर्फ मात्रै चाहिँ रहेन है।

खासगरी पढ्ने सन्दर्भमा म यो वा उ भनेर पुस्तक छनौट गर्दिन । ममा अधिक पुस्तक अध्ययनको अनुभव पनि छैन । मेरो अनुभवमा मान्छेको अनुहार भन्दा ठुलो पुस्तक अर्को छैन । मेरो निम्ति प्रत्येक नयाँ  मान्छे प्रत्येक नयाँ पुस्तक हुन्, जसको सङ्गतबाट म भित्र नवीन सिर्जनाको आविष्कार हुन्छ ।

राजा महेन्द्रलाई राजनीति र कूटनीतिको चस्माबाट हेर्दा कस्तो देखिन्छ त्यो फरक प्रसङ्गको कुरा हो । तर राजर्षि सुख भोग र विलासबाट कस्ता सिर्जनाका जन्म भए मूल कुरा त्यो हो भन्ने कुराले भने मलाई  सधैँ उत्प्रेरित गर्छ ।

आजभोलि ‘कविता कम, कवि धेरै भए’ भन्ने हल्ला छ। कुरा कसो हो ? समकालीन कविताहरूको गुणात्मकतालाई लिएर तपाईँलाई बोल्ने मुड छ? नेपाली कविताको भविष्यतर्फ पनि मेरो इशारा रह्यो।

हिजोआज ‘कविता धेरै, कवि कम’ भएको छ । यो एउटा लहर पनि हो र रहर पनि हो  काव्यिक आकाशमा उडान भर्न निस्किएका तमाम मान्छे बिच कवि आफ्नो सिर्जनाले  स्थापित हुने हो । कविता साधना भएकाले यो क्षेत्रमा साधकहरू मात्र स्थापित हुने हो 

समकालीन कविताको  गुणात्मकता आशालाग्दो छ । केही युवा कविहरू यस्ता छन् जसको सिर्जनाले गुणात्मक फड्को मारेको पाउँछु । यसर्थ पनि कविताको बर्तमन अवस्था लाई हेर्दा आशा र भरोसा दुवै लाग्छ । 

कला-साहित्यले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ, गर्नुपर्दछ। कवितासंग्रह, पुस्तक या कला प्रदर्शनतर्फ पनि मेरो इशारा रह्यो।

पक्कै साहित्य वर्गीय चेत बोकेर लेखिनु पर्छ । मेरा कविता कसैको समस्यामा मलमपट्टी नबन्न सक्छ । तर मेरो विचारको मानक हुनसक्छ । यो रहस्यमय संसारलाई निजत्व भावले हेर्न खोज्दा त्यहाँबाट जे जन्मन्छ, त्यो मेरो निम्ति साहित्य हो । 

सङ्ग्रहको जहाँसम्म कुरा छ । म यति पर पुगेको छैन । फलस्वरू:प सङ्ग्रह निकाल्न सकूँ । एकथान पुस्तक सङ्ग्रह निकाल्ने हेतु सङ्ग्रह निकाल्न खोज्नु कविताप्रतिको क्रूर व्यङ्ग्य सम्झन्छु म ।

हामीकहाँ ‘झरीबारे लेख्न झरीमा रुझ्नै पर्छ’ भन्ने महाशयहरूको हालीमुहाली छ। यस  हालीमुहालीबिच समकालीन ‘दलित साहित्य’ या नेपाली साहित्यमा ‘दलित चेतना’ कस्तो पाउनुहुन्छ? दलित साहित्यमा समस्या/कमीकमजोरी पनि देख्नुहुन्छ? गैरदलित लेखकहरूका अनुसार, ‘दलित साहित्य वेदनाहरूको बिम्ब’ मात्रै बनिरहेको छ अरे..। के भन्नुहुन्छ? 

झरीबारे लेख्न झरीमा रुझ्नै पर्छ भन्ने मान्यता आंशिक सत्य हो पूर्ण होइन । हुन त, अनुभव सहितको लेखन परिपक्व हुन्छ। पछिल्लो समय नेपाली साहित्यमा दलित चेतना ह्वात्तै बढेको देखिन्छ । मैले पनि जानेसम्म आफ्ना सिर्जनाहरू वर्गीय चेत र जातीय उत्पिड्नलाई केन्द्रमा राखे र लेख्ने गरेको छु । जहाँ दलन छ त्यहीँबाट प्रतिकारको रूपमा सिर्जना जन्मिने हो । दलित साहित्य ‘वेदनाको बिम्ब’ मात्र देख्नु  काव्यिक चेतनाको आँखामा ‘रतन्धो’ लाग्नु सरह हो । मूलतः यति भन्दाभन्दै पनि लेखनमा प्रवृत्ति मूल कुरा हो भन्ठान्छ ।

 ‘साहित्यमा राजनीति हुँदैन वा हुनुहुँदैन’ भनिराछन्, के भनिरहेका हुन्? त्यस्तो हो? 

गम्भीर प्रश्न उठाउनु भो । वास्तवमा साहित्यमा राजनीति नहुनुपर्ने । हुनुपर्ने चाहिँ राजनीतिमा साहित्य हो तर भएको छ-  साहित्यमा राजनीति । साहित्यमा राजनीतिको हस्तक्षेपले सिर्जनाको गुणात्मकतामा ठुलो असर पर्छ ।

समयका लागि धन्यवाद !

धन्यवाद !


प्रस्तुत छ, उनका तीन  कविता :

१.चिन्ता नगर्नुस्

चिन्ता नगर्नुस्

गर्न नजानेर

गर्दागर्दैको व्यापार टाट पल्टियो !

 

चिन्ता नगर्नुस्

ओरालो लागेर नेप्से परिसूचक

सेयर बजार घाटामा गयो !

 

चिन्ता नगर्नुस्  !

गाउँको 

मुरीका मुरी धान फल्ने खेत

बाडीले बगाएर लग्यो

 

चिन्ता नगर्नुहोस् !

भरपर्दो

र / माल आउने ठाउँ जागिर थियो

खोसुवामा पर्नुभो  – चिन्ता नगर्नुस् !

 

सकिएपछि रुपियाँ

मरेको बाख्रीलाई उपियाँले

छाडेजसरी स्वास्नीले छाडी –

चिन्ता नगर्नुस्  !

 

अरू

केही गर्न सीप छैन हातमा

चिन्ता नगर्नुस् !

 

सम्भावनाका

जम्मै ढोका बन्द भए

चिन्ता नगर्नुस् !

 

अब

यसो गर्नुस्

नयाँ व्यापारको सुरुवात गर्नुस्

सर्वप्रथम

पार्टी खोल्नुस्

त्यसपछि

दुईचार महामानवका चित्र अङ्कित तस्बिरहरू

भित्तामा झुन्ड्याउनुस्

उनीहरूका टाउका भजाउनुस्

राजनीति गर्नुस् …..

 

बिस्तारै

गुमेका जम्मै कुराहरू

आर्जन  गर्नुस् ………!!

( १० आश्विन २०७८)


२. घर तयार भएपछी:

तपाईँको घर

तयार हुनुअघि 

 

आफ्नो

भएभरको सीप लाएर मैले

भान्सा कोठा – तयार गरेँ !

 

त्यो भन्दा पनि सीप लाएर मैले

बैठक कोठा – तयार गरेँ

 

मलाई थाह छ

तपाईँको घरका

जम्मा पाँच वटा कोठाहरू हुन् 

जसमध्ये

पूर्व तिर –  शयन कक्ष छ

इशानमा – पूजा कोठा छ

बायब्यमा – स्नान र शुचि कक्ष छ

दक्षिण तिर -अन्न राख्ने ढुकुटी छ

 

यस्तै यस्तै

विभिन्न प्रयोजनका खातिर

तत्सम्बन्धी तत्तत् कोठाहरू छन्

 

यसलाई यसरी बुझ्नुस्

कि एउटा सुव्यवस्थित

घरको निम्ति जे जे हुनुपर्छ

ती – सबै / सबै तयार छन्

 

तयार गर्न बाँकी त

अहिलेसम्म तयार गर्दागर्दै

तयार हुन नसकेको

मात्र त्यो एउटा मूल दैलोको पल्ला छ

र / आँङ्नामा तुलसीको मठ छ 

 

मलाई थाह छ

बनाउँदै जाँदा एकदिन

तुलसीको मठ तयार हुनेछ

त्यसपछि

बुट्टेदार मूलदैलोको पल्ला तयार हुनेछ

र / त्यसपछि । 

तपाईँको घरभित्र

कहिल्यै पस्न पाउने छैन   ….!!

त्यतिखेर

तपाई भन्नू हुनेछ

नो इन्ट्री पूछरघरे  काइँला  / नो इन्ट्री …….!

किनकि यो बाहुनको घर हो !


३. नक्कलीदेखि सावधान !

अब, तपाईँ 

पटक्कै नझुक्किनुहोला !

 

मार्क्सको एकथान तस्बिर देखेर

लेनिनको एकथान तस्बिर देखेर

माओत्सेतुङको तस्बिर  

पुष्पलालको तस्बिर 

मनमोहनको तस्बिर  

मदन भण्डारीको तस्बिर 

र मञ्चमा केही थान 

सहिदका चित्ताकर्षक तस्बिरहरू देखेर

 

अब तपाईँ नअलमलिनु होला !

हेर्दै ल्याउँदा 

हात हातमा घोषणा पत्र हुनसक्छ 

साथमा हँसिया हथौडा 

र सूर्य चिन्ह अङ्कित झन्डाहरू गाडेर

अग्रगमनका ठूल्ठूला कुराहरू हुन सक्छन्

 

यी र यस्ता बहसहरू देख्दा 

अब तपाईँ अचम्मित नहुनुहोला !

 

ती मान्छेहरू 

जो देख्दा  काटिकुटी 

तपाईँ जस्तै:  देखिन्छन् 

तर 

यथार्थमा, अन्तर्यमा  

यताकाहरूले उताकाहरूलाई – मुर्दावाद भन्छन्  !

उताकाहरूले  यताकाहरूलाई — मुर्दावाद भन्छन् !

 

कम्युनिस्ट इतर

र कम्युनिस्ट खेमा भनेर 

– आफू आफैँमा कित्ताकाट गर्छन् !

 

कुर्सीमा बसेका छन् भने

बाहिर बसेकालाई सराप्छन् !

बाहिर बसेका छन् भने

कुर्सीमा बसेकालाई  सराप्छन्  !

 

आफ्नो इतरकालाई नक्कली 

आफ्नो खेमाकालाई  सक्कली 

घोषित गर्न 

सिपालु मान्छेहरू छन् 

 

अब तपाई भुलभुलैयामा  नपर्नुस् !

पार्टी भित्र 

सिद्धान्तको धरोहर  थियो

जो बरमजियाको पेडा बेच्ने 

असली बूढो जस्तै असली मान्छे थियो

त्यो मरेपछि …

 

हिजोआज नक्कलीहरू 

बूढो बाजेको असली पेडा पसल – 

अर्थात् 

सच्चा कम्युनिस्ट केन्द्र 

यही हो—

यो नै हो —

यही नै .. हो भन्दै 

मोलमोलाइ गरिरहेछन् !!

 

अब

तपाईँ नझुक्किनुहोला !

 

गुहुलाई गुँदपाक भनेर

विज्ञापन गर्ने कम्युनिस्ट 

कम्युनिस्ट हुनै सक्दैनन् 

….. नक्कलीदेखि सावधान !!


सम्बन्धित खबर