अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्यो : अर्थमन्त्री शर्मा

दियो पोस्ट  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको बुधबार भएको साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले देशको अर्थतन्त्र सुधार्न राष्ट्र बैकको नीति र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । ‘नीति निर्माण र त्यसको कार्यान्वयन क्षमता पनि आजको आवश्कता हो,’ अर्थमन्त्री शर्माले भने,’गुणात्मक विकास र पारदर्शिता आजको आवश्यकता हो ।’ उनले निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै अर्थमन्त्री शर्माले आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको औंल्याए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास भइरहेको बताए । अर्थतन्त्र निकै संवेदनशील अवस्थामा रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको उनको भनाइ थियो ।