सरकारी निकायको हविगत : सूचना दिने प्रवक्ता र सूचना अधिकारीकै मोबाइल नम्बर गायब !

खुमा ओली  

काठमाडौं । एउटा स्टोरीको शिलशिलामा गत कात्तिक २९ गते म ‘सत्य निरुपण तथा मेलमिलाप आयोग पुग्नु थियो । पहिले आयोगको आधिकारीक वेभसाइट (http://trc.gov.np/) हेरेँ, वेभसाइटकोे फुटरमा प्रवक्ता र सूचना अधिकारी भनिएको ठाउँ त थियो । तर, त्यहाँ न कुनै नाम थियो न कुनै नम्बर नै । त्यसको थोरै दाहिने तिर सूचना अधिकारी भनेर पूर्ण बहादुर थापा मगरकोे मोवाइल नम्बर राखिएको थियो । अत्यन्तै आवश्यकीय सूचना भएका कारणले तिनै पुर्णबहादुर थापालाई पटक–पटक सम्पर्क गर्ने कोसिस गरेँ, तर उनले उठाएनन् ।

टेलिफोनको माध्यमबाट सम्पर्क हुन नसकेपछि त्यसको भोलिपल्ट (कात्तिक ३०) विहान १० बजे नक्सालको हाँडीगाउँस्थित आयोगको कार्यालय पुगेँ । आयोगमा मैले आफ्नो परिचय दिदैँ आफुलाई आवश्यक सूचनाको बारेमो प्रष्ट्याए, र मैले सूचना मागेँ । मेरो सूचनाबारे एक कर्मचारीले थाहा नभएको बताउँदै सूचना अधिकारीसँग कुरा गर्न सुझाए । ती कर्मचारीको उर्दिसँगै म सूचना अधिकारीको कार्यकक्षतिर लागेँ ।

उनको कार्यकक्षमा पुगेपछि मैले उनीसँग आफूलाई चाहिएको सूचनाबारे थप सुनाएँ । ‘वेभसाइटमा रहेको तपाईको नम्बर त रिसिभ नै हुँदैन किन सर ?’ भन्ने मेरो प्रश्नमा उनको जवाफ थियो, ‘ए त्यो नम्बर त मैले बन्द गरेको छु, अर्कै नम्बर छ मैले चलाउने ।’ उनले मलाई नयाँ नम्बर नोट गर्न भने । र फेरि उनले थपे, ‘यो मेरो लाग्ने नम्बर हो ।’

आफ्नो नम्बर समेत सहि राख्न नसक्ने र लुकाउने सूचना अधिकारीबाट मैले खोजेकोसूचना पाउने आशामा बादल मडारियो ।
उनीबाट आवश्यक सूचना पनि पाइनँ ।

आयोगबाट म कार्यालय फर्किएँ । अनि मेरो स्टोरीको एंगल पनि बदलियो । प्रवक्ता भन्ने तर, मोबाइल नम्बर समेत लुकाउनेहरुको सूची खोज्न लागेँ ।

नेपालका सरकारी निकायबाट सूचना पाउनु फलामको चिउरा चपाउनु सरह हो । त्यसमा पनि मन्त्रालय तथा विभागहरुले नै प्रवक्ताको नामसम्म त राखेका छन्, तर मोबाइल नम्बर लगायत सम्पर्कको माध्यम भने गोप्य छ । सूचना हकबारे थाहा पाएको पत्रकारका लागि त सूचना दिने व्यक्तिको नम्बर समेत पाउन मुस्किल छ भने आम मानिसको पहुँचसम्म सूचना कसरी हुन सक्ला ? यी यावत प्रश्नहरुले मलाई मन्त्रालयहरुको प्रवक्ताहरुबारे जान्न पनि यो स्टोरी गर्ने निधोमा पुगेँ ।

अधिकांश मन्त्रालय तथा आयोगहरुमामा प्रवक्ता तथा सूचना अधिकारीको नाम र तस्बिरसहित चटक्क पारेर राखेका त भेटिएतर सम्पर्क गर्नका लागि नम्बर भने हुँदैन । यद्यपि कुनै निकायहरुका प्रवक्ता र सूचना अधिकारीका भने सम्पर्क नंबर राखिएको हुन्छ तर, कहिले रिसिभ हुँदैनन्, सम्पर्क हुँदैन ।

मोबाइल नम्बर बिनाका प्रवक्ता रहेको अर्थ मन्त्रालय

माओवादी केन्द्रका उवपमहासचिव समेत रहेका जनार्दन शर्माले जिम्मा लिएको अर्थमन्त्रालयको वेभसाइटमा सूचना अधिकारी भनेर कमल कुमार भट्टराईको नाम राखिएको छ । तर उनको मोबाइल नम्बर भने राखिएको छैन । त्यस्तै प्रवक्तामा आनन्द काफ्लेको नाम रहेको छ भने त्यहाँ कुनै मोबाइल नम्बर राखिएको छैन । देशको अर्थमन्त्रालयले प्रवक्ता र सूचना अधिकारीको नम्बर गोप्य राखेर के सूचना दिन चाहेको हो भन्ने बुझ्न कठिन् छ ।

रक्षा मन्त्रालयमा उस्तै हविगत

प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले सम्हालेको रक्षा मन्त्रालयमा पनि यही हविगत छ । प्रवक्तामा प्रकाश पौडेलको नम्बर छैन नाम मात्रै छ । त्यस्तै सूचना अधिकारीको नाममा फणिन्द्र प्रसाद पौडेलको नाम रहेको छ, तर कुनै फोन नम्बर रहेको छैन । फोन नम्बर समेत लुकाएर रक्षा मन्त्रालयले पनि सुचना लुकाउन भूमिका खेलेको छ ।

शिक्षा मन्त्रालय नाम छ तर नम्बर ?

सत्ता गठबन्धनबाट माओवादी नेता देवेन्द्र पौडेलले सम्हालेको उक्त मन्त्रालयको वेभसाइटमा प्रवक्ता दीपक शर्माको नाम मात्रै छ । तर फोन नम्बर भने छैन । सूचना अधिकारी भनिएका धन बहादुर श्रेष्ठको पनि कुनै फोन नम्बर रहेको छैन । यो मन्त्रालयले पनि सूचना अधिकारी र प्रवक्ताको नम्बर लुकाएर राख्नु परेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

उक्त मन्त्रालयको अनलाइन वेभसाइटमा प्रवक्ता डण्डुराज घिमिरेको नाम छ, तर फोन नम्बर भने राखिएको छैन । अरु मन्त्रालय तथा आयोगमा फोन नम्बर त राखिएका छन् तर कुनै फोन बन्द छन् भने कुनै फोन रिसिभ हुँदैनन् । जम्मा १८ ओटा मन्त्रालयमा यी ४ ओटा मन्त्रालयमा प्रवक्ताको नाम भए पनि कुनै मोवाइल नम्बर नै छैन । कुनैमा टेलिफोन नम्बर चाहिँ राखिएको छ । अनौठो त के छ भने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेभसाइटमा जो गुनासो सुन्ने अधिकारी भनेर पंकज भुर्तेलको नाम राखिएको छ, त्यहाँ कुनै सम्पर्क नम्बर नै छैन । उनले कसको के गुनासो सुनिरहेका छन् त्यो पनि रहस्यको विषय बनेको छ । मन्त्रालय लगायत विभिन्न आयोग तथा विभागहरुको अवस्था पनि निराशाजनक छ ।

अस्पस्ट सूचना आयोग…

राष्ट्रिय सूचना आयोग सूचना अधिकारी विश्वबन्धु पौडेललाई सम्पर्क गर्न खोज्यौँ । तर उनको नामको तल रहेको नम्बर नै बन्द गरिएको रहेछ । सोही कारण उनीसँग कुराकानी गर्न सकिएन ।

सरकारी निकायहरुमा प्रवक्ता र सूचना अधिकारी भनेर फोटो चाहीँ वेभसाइटमा हुने तर फोन नम्बर समेत नहुने यस्तो अवस्थामा आम नागरिकले सूचना अधिकारी र प्रवक्ताबाट कसरी सूचना पाउँन सक्छन् ? भन्ने दियोपोस्टको प्रश्नमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल भन्छन्, “पहिलो कुरा त सूचना अधिकारी तोक्ने र पत्रकार मात्रै नभई नगरिकलाई सूचना दिलाउनु पर्छ भन्ने जुन कानुन छ, सूचनाको हक यसको ड्राफकर्ता पत्रकार महासंघ हो । कानुनको समग्र कार्यन्वयनप्रति पत्रकार महासंघ सधैं गम्भिर र सचेत छ । अहिले पनि राज्यका संरचनाहरुले झारा टार्नलाई सूचना अधिकारीको फोटो, नम्बर राखिदिने तर त्यो नम्बर नउठिदिने, उठिहाले पनि सूचना अधिकारीसँग समग्र कार्यालयको सूचना नहुने विडम्बनापूर्ण स्थिति छ । हामीले सूचना आयोगलाई पटक–पटक ध्यानार्षण गराएका छौं । लिखित र मौखिक रुपमा पनि । ”

नेपालको संविधानको मौलिक हकको धारा २७ मा प्रत्येक नागरिकलाई सूचनाको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर यो संविधानमा मात्रै सिमित छ । यसको कार्यान्वयन यी मन्त्रालयदेखि विभिन्न आयोग, विभाग र कार्यालयहरुमा भएको देखिदैन ।

विभिन्न सरकारी कार्यालयमा प्रवक्ताका नाममा टेलिफोन नम्बरहरु त राखिएका छन् । तर कार्यालय समयमा समेत नउठ्ने यी फोन नम्बर कार्यालय समयपछि सूचना आवश्यक पर्दा कसरी जनाकारी लिने यो विषयमा सम्बन्धित निकाय र सरोकारवालाले सोच्न जरुरी छ ।

सम्बन्धित खबर