को बन्ला राष्ट्रपति ?

खुमा वली  

काठमाडौं । गत आइतबार (पुष १०) पाँच दलिय गठबन्धन तोडेर नेकपा एमालेसहितको सात दलिय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । पाँच दलिय गठबन्धन तोडेर आएको माओवादीले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गरेर सरकार गठन गरेको हो ।

प्रधानमन्त्री नियुक्त भएसँगै अबको राष्ट्रपति को बन्ला भन्ने जिज्ञासा जनमानसमा उर्लिएको पाइन्छ । प्रधानमन्त्रीको सत्ता सञ्चालनका लागि बनेको नयाँ गठबन्धनमा एमालेले राष्ट्रपति लिने सहमति भएको थियो । राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । संविधानसभा अध्यक्ष, दुईपटक सभामुखसहित तीनपटक संसद् र संविधानसभाको नेतृत्व लिएका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए ।

पार्टी विधानको उमेरहदले पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम रहेकाले यसपटक उनी स्वयंले पनि राष्ट्रपतिमा रुचि राखेको देखिन्छ ।

संसदीय मामिला र कानुनका अनुभवी, संविधान निर्माणमा भूमिका खेलेका र जनजाति पृष्ठभूमिका नेता नेम्वाङले सार्वजनिक रूपमा भने मुख खोलेका छैनन् । तर ती दुई जिम्मेवारी एमालेले पाउने प्रारम्भिक समझदारी भए पनि पार्टीभित्र कुनै छलफल नै भएको छैन ।

त्यस्तै, संसदीय राजनीतिबाट लगभग अवकाशमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली र संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिएको छ ।

ज्ञवाली उपाध्यक्षमध्ये सिनियर छन् । एकपटक मन्त्री बनेका उनले पार्टीभित्र अन्तर्संघर्षमा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन् । तर, ज्ञवाली स्वयंले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

यता,छोटो समय बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य भूमिगत कालदेखि नै कठोर संघर्ष गरेकी सिनियर नेतृभित्र पर्छिन् । नेतृत्वमा नयाँलाई अवसर दिनुपर्ने मान्यता सार्वजनिक गरेर संसदीय राजनीतिबाट अवकाश लिएकी शाक्यलाई राष्ट्रपति बनाएर फेरि पनि एमालेले महिला आन्दोलनलाई सम्मान गरेको सन्देश जाने मत पनि पार्टीभित्र उठ्न थालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेको नेकपा एमालेलाई राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो ।