धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ त्रिशुली नदिमा मापदण्ड विपरित गैरकानुनी उत्खनन् फेरी शुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका विष्णु थपलिया र शिव सुवेदी लगायतको समुहले फेरी गैरकानुनी उत्खनन् शुरु गरेका हुन् । उक्त उत्खनन्मा धादिङकै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले समेत संरक्षण गरेको आरोप छ ।
केहीदिन अघि प्रमुख जिल्ला अधिकारी लम्सालले आफूहरुकै सक्रियतामा उत्खनन् कार्य रोकिएको दियोपोस्टलाई बताएका थिए । तर, सिडिओ कार्यालय र जिल्ला समन्वय समितिको सेटिङमा फेरी उत्खनन् शुरु भएको हो ।
‘सिडिओ र प्रहरी प्रमुखले कुन निति नियममा आधारित रहेर फेरी उत्खनन् गर्न दिनु भयो भन्ने आश्चर्यको विषय बनेको छ,’ एक स्थानियले दियोपोस्टलाई भने,‘अहिले के सेटिङ कसरी मिल्यो र धन्दा शुरु भयो सबै जना चकित बनेका छौँ ।’
यतिबेला दिनदहाडै थपलिया र सुवेदी समुहले त्रिशुली नदिमै ट्रिफर लगेर उत्खनन् गरिरहेका छन् । उनीहरुले यसअघि नै विवादित बनेको पञ्चकन्या क्रसर उद्योगको नामबाट गैरकानुनी रुपमा उत्खनन् गरेको स्थानियको भनाई छ । थपलिया समुहले नदि उत्खनन्का लागि भारतको विहारदेखि १ सय जना भन्दा बढी मजदुरलाई त्रिशुली नदिमा खटाएको स्रोतको भनाई छ ।
सिद्धलेक ६ स्थित रहेको परेवाटार (विहानी पम्प नजिकै) नदि दोहन गरेर हैरान पारेका छन् । पृथ्वीराजमार्गलाई धादिङवेशीसँग जोड्ने फूर्केखोला पूलबाट १ सय मिटरकै आसपासमा उनीहरुले उत्खनन् गरिरहेका छन् । जबकी नदि तथा पूलबाट १ हजार मिटर लामो दूरीबाट मात्रै उत्खनन् गर्न पाइने नियम छ । स्रोतका अनुसार उनीहरुले सञ्चालन गरेको क्रसर नविकरण समेत गरिएको छैन । नविकरण समेत नगरिएको उद्योगको नाममा कसरी उत्खनन् भइरहेको छ भन्ने जवाफ प्रमुख जिल्ला अधिकारीले समेत दिन सकेका छैनन् ।
अवैध उत्खनन् रोक्न माग गर्दै सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा लगायतले सिडिओ कार्यालयमै उजुरी गरेका थिए । उनको उजुरीपछि केहीदिन बन्द भएपनि फेरी सेटिङ मिलेपछि उत्खनन् शुरु भएको हो । स्रोतका अनुसार अध्यक्ष थपलिया र सुवेदी समुहले बालुवा तस्करीको सेटिङ मिलाउन उच्च पदस्थ अधिकारी समक्ष ठूलै लगानी गरेका छन् ।
अपडेट
कानुनी बाटोमा जाने सुवेदीको धम्की
यसैबीच त्रिशुली नदि उत्खनन्मा पर्दापछाडीबाट भूमिका निभाउँदै आएका प्रभातकिरण सुवेदी (शिव)ले दियोपोस्ट विरुद्ध कानुनी बाटोबाट लड्ने धम्की दिए ।
उनले आफ्नो फोटो राखिएकोमा आपत्ति जनाउँदै समाचारको खण्डन गरेका छन् । यद्धपी आफूले गरेको खण्डन प्रकाशन गर्नु नपर्ने उनको भनाई थियो । ‘म यसमा कुनैपनि हिसाबले संलग्न छैन । मेरो समेत तस्विर राख्नु भएछ । यसको नतिजा तपाईंले भोग्नुपर्छ । म कानुनी बाटोमा जान्छु,’ उनले भने,‘अरुले लगाइदिएको भरमा मेरो तस्विर प्रयोग गर्न पाउँनु हुन्न ।’
कुनै समय नेपाली कांग्रेसबाट सांसदको टिकट समेत पाएका सुवेदीको जिल्ला नेतामा पहुँच राम्रो छ । उनै सुवेदीले त्रिशुली नदिको अवैध उत्खनन् गराउन जिल्लाकै एक सांसदले सिडिओ कार्यालयसम्म पुर्याएर विचौलियाको भूमिका निभाएको स्रोतको दाबी छ ।
त्रिशुली नदिको बालुवा ‘तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलीया नै संलग्न !