
हुम्ला। हिमाली जिल्ला हुम्लामा मोटरबाटो अझै पुग्न सकेको छैन । यही जिल्लाको उत्तर पश्चिम भागमा सिमकोट गाउँपालिका अवस्थित छ । सुन्दर प्रकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका ७८५.८९ वर्ग कि.मी क्षेत्रफलमा रहेको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने यो गाउँपालिका हिमाली जिल्ला हुम्लाको सातवटै गाउँपालिका मध्येको एक हो । बरगाउँ, ठेहे, डाँडाफया, स्याँडा, सिमकोट मिलेर बनेको यहाँ ८ वडाहरु छन् भने १५ हजार ७ सय २७ जनसंख्या छ । स्थानीय सरकारसँग सञ्चारमाध्यमले निरन्तर अन्तक्रिया, खबरदारी र प्रश्न गरिरहन सक्यो भने हाम्रा स्थानीय सरकार अझै अब्बल जनमूखी बन्न सक्छन् ।
१० वर्षे जनयुद्धबाट राजनीतिक यात्रा प्रारम्भ गरेका विजय भण्डारी नेकपा माओवादी केन्द्रका, केन्द्रीय सदस्य पनि हुन् । उनै भण्डारी ०७९ को स्थानीय निर्वाचनबाट सिमकोट गाउँपालिकाका अध्यक्ष निर्वाचित भए । २०७९ मा भएको दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित विजय भण्डारीको यो पहिलो कार्यकाल हो । कार्यकालको दोस्रो वर्ष सकिन लाग्दा उनले स्थानीय जनताले महशुस गर्नेगरी के कति काम गरे ? के–कस्ता चुनौती छन् ? दियोपोस्टले गाउँपालिका अध्यक्ष भण्डारीसँग यस्तै प्रश्नको उत्तर खोजेको छ । प्रस्तुत छ दियोपोस्टकर्मी ईश्वर विश्वकर्माले अध्यक्ष भण्डारीसँग गरेको कुराकानी ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै यहाँले गर्नु भएको पहिलो काम के थियो ?
वर्षदिनमा के नै गर्न सकिन्छ र ! अनेकौ बेथितीलाई मिलाउने, सहजीकरण गर्नेदेखि निर्वाचित सदस्यसँग विकासका लागि नियमित छलफल ग¥यौं । पहिलो प्राथमिकता स्वास्थ्यलाई दियौं । यसलाई जनता समक्ष कसरी सहज रुपमा पु¥याउन सकिन्छ भन्ने विषयमा नियमित छलफल भइरहेको हुन्छ ।
तपाईंको विचारमा विकास के हो ?
विकास भनेको समयानुकुल चल्ने योजना हो । तर आधुनिक समाजमा विकास भनेको सचेत पहलका साथ योजनाबद्ध रुपमा अगाडि बढाउने कुरा नै हो । फेरि, अर्को विषयात्मक रुपमा भन्ने हो भने, विकास भौतिकरुपमा उपस्थित भएर बाटो खन्नेमात्र होइन । त्यहाँको शिक्षा, स्वास्थ, सामाजिक लगायतका क्षेत्रमा रुपान्तरण हो ।
तपाइँको जवाफ अनुसारकै काम कति भए ?
म निर्वाचित भएको सिमकोट गाउँपालिका हुम्ला जिल्लाकै सदरमुकाममा पर्छ । पूर्वाधार र संरचनाका हिसाबले हेर्ने हो भने केही सुधारका काम भएका छन् । सिमकोटलाई र अन्य स्थानीय तह हेरेर पनि कति काम भए हेर्न सकिन्छ । गुणस्तरीय शिक्षा छ । स्वास्थ्य सुधार र सरसफाइको राम्रो व्यवस्था छ । चौडा सडकलाई व्यवस्थित बनाइएका छौं । नागरिकहरू जिविकोपार्जनका लागि मात्र नभई आयआर्जनमा पनि लागेका छन् । गाउँपालिकाले रैथाने बालीको उत्पादन वृद्धिका लागि प्रोत्साहन गरेका छौं । त्यस्ता बालीको उचित मूल्यसमेत निर्धारण गरेका छौं र काठमाडौंसम्म पु¥याउने व्यवस्था मिलाएका छौं ।
शिक्षा, स्वास्थ्य लगायत आधारभूत विषय वस्तुहरुमा जनताको जीवनस्तर कस्तो छ ?
सडकलाई राष्ट्रिय राजमार्गमा अहिलेसम्म जोड्न सकेका छैनौं । ७७ जिल्ला मध्य राज्यले सडक जोडन नसकेको जिल्ला नै हुम्ला हो । केही सुधार भएपनि हाम्रो मूख्य समस्या भनेको यातायात, शिक्षा र स्वास्थ्य हो । यी सबैका बाबजुद सदरमुकाम भएका कारण जनताको जीवनस्तर राम्रै छ ।

जनताले सहज रूपमा स्वास्थ्य सुविधा प्राप्त गर्ने विषयको सुनिश्चितता कसरी गर्नुभएको छ ?
सिमिकोट गाउँपालिका सदरमुकाममा भएकोले प्रदेशको मातहतमा एउटा अस्पताल छ । गाउँपालिकाको मातहतमा १२ वटा स्वास्थ्य संस्थाहरु छन् । गाउँ–टोल स्तरमा स्वास्थ्य सेवा सहज रुपमा दिएका छौं । निर्वाचित भएपश्चात पछिल्लो चरणमा तीन गाउँपालिका पुगेर स्वास्थ्य शिविर चलाएका थियौं । स्वास्थ्य सुविधाका लागि घरदैलो कार्यक्रम चलाएका छौं । स्थानीय तहहरुले विकासको नाममा जथाभावी डोजर तथा स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाएको भनेर महालेखापरीक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भइरहेका छन् । तपाईंले यसलाई नियन्त्रण गर्न कस्तो भूमिका खेल्नु भएको छ । पहिलो कार्यकालमा केही भएको थियो अहिले त्यस्तो स्थिति छैन् । सिमकोट गाउँपालिका वडाहरुको बीचमा भएकोले गाउँको बीचबाटमात्र सडक बनाएका थियौं । पर्यावरणनै ध्वस्त पारेर विकास गरेका छैनौं । पालिकाकै सडक पनि कर्णाली पारी भएकाले त्यहाँसम्म पुग्न सकेका छैनौं ।
महालेखा परीक्षकका प्रतिवेदनमा उपभोक्ता समितिहरूमा आफ्ना मान्छे राख्ने र सार्वजनिक खरिद ऐन आकर्षित हुने निर्माण तथा ठेक्काको काम भएको औंल्याएको छ । यसलाई कसरी रोक्नुहुन्छ ?
त्यस्तो काम कुनैबेला भए होला । अहिले गाउँपालिकामा संस्था दर्ता २०३४ अनुसार उपभोक्ता समितिहरु वडाअनुसार गठन भएका छन् । उपभोक्तासँग छलफल गरेर मात्र हाम्रो काम अगाडि बढेका छन् । स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना (भ्रष्टाचार) बढी हुने गरेका छन् । सुशासन कायम गर्न तपाईं कसरी काम गरिरहनुभएको छ । भ्रष्टचार कुन तहले ग¥यो आफ्नो ठाउँमा होला । आर्थिक रुपमा हाम्रो हरेक कुराहरुको योजनाको सुरुमै विनियोजन प्रक्रियाबाट नै चलेका छौं । लेखाको हिसाब, प्रक्रियागत र आर्थिक सुशासनको हिसाबले हामीले प्रश्न उठाउने ठाउँ कम दिएका छौं जस्तो लाग्छ ।
गाउँ–गाउँमा सिंहदरबार पु¥याउनु स्थानीय तहको उद्धेश्य हो । तपाईंको गाउँबाट जनताले पाउने सेवालाई प्रभावकारी र जनमूखि बनाउन के–कस्ता नीति कार्यक्रम ल्याउनु भएको छ ?
जनताको घरदैलोको सरकार भएकोले आधारभुत सेवालाई तल्लो तहसम्मै पु¥याएका छौं । अझ सहजीकरण कसरी गरिन्छ भन्ने कुरामा छलफल गरिरहेका छौं । वडाबाटै सम्पादन हुने कामलाई गाउँपालिकासम्म आउनु नपर्नेगरी वडालाई अधिकार सम्पन्न बनाएका छौ । सामाजिक सेवा सुविधाका भत्तापनि नियमित रुपमै दिएका छौं ।

स्थानीय तहहरुले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गरेर पर्यावरण नष्ट गरेको भनेर पटक पटक प्रश्न उठ्ने गरेको छ । के त्यस्ता कार्यक्रम तपाईंको गाउँपालिकाले पनि ल्याएको छ ? नदिजन्य पदार्थ उत्खननलाई कसरी व्यवस्थित गर्नुभएको छ ?
यसमा हाम्रो ध्यान अझै पुग्न सकेको छैन । उत्खनन् गर्ने भन्दा पनि नियन्त्रण र निगरानी गर्नेतिर लागेका छौं । नदिजन्य पदार्थको उत्खनन हामीले गरेका छैनौं र गर्दैनौं पनि । यो गाउँपालिकाले दोहन गर्ने भन्दा नियन्त्रण गर्ने कुरामा ध्यान दिने हो त्यसका लागि अगाडि बढेका छौं ।
देशैभर युवाहरु वैदेशीक रोजगारीमा गइरहेका छन् । यस्तै समस्या तपाईंको गाउँमा पनि होला । स्थानीय स्तरमा युवा पलायनलाई रोकेर गाउँमै रोजगारी दिने अवस्था बनाउन के–कस्ता प्रयास गर्नुभएको छ ?
हाम्रो देशको ७ सय ५३ स्थानीय तहमध्ये हामी एउटा हौं । बेरोजारी हाम्रो देशव्यापी समस्या हो । यो समस्याबाट हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेको छैन । तर, बेरोजगारको समस्या हल गर्न गाउँपालिकाले केही कार्यक्रमहरु ल्याएका छौं । त्यसका निम्ति रैथाने बेरोजगार युवाहरुलाइ प्रोत्साहन गर्ने कार्यक्रम बनाएका छौं । यस्ता कार्यक्रमलाई गाउँपालिकाको क्षमताअनुसार अगाडि बढाएका छौं । सिपमूलक तालिम दिने व्यवस्था पनि मिलाएका छौं ।
अबको पाँच वर्षमा तपाईको नेतृत्वले सिमकोट गाउँपालिका कस्तो बन्छ ?
भौतिक रुपमा सिमिकोट गाउँपालिका कस्तो हुन्छ भन्ने हो । हामीले परिकल्पना गरेको त्यहाका सडकहरु चौडा भएको, ढलहरु व्यवस्थित भएको डम्पिङ साईट भएको, अहिलेसम्म आफ्नो प्रशासनिक भवन छैन, पाँच वर्षभित्र आफ्नै प्रशासनिक भवन बनाउने, व्यवस्थित सडक, व्यवस्थित विद्यालय, स्वास्थ्य चौकी हुनेछन् । सुशासनको हिसाबले हरेक कुराहरू प्रक्रियागत रुपमा सरकारको नीति पोलिसीअनुसारले अगाडि बढ्ने हुनुपर्छ रत्यही अनुसार लागेका छौं । व्यक्तिगत रुपले हेर्ने हो भने अध्यक्षलाई जिताएर पछुताउने हिसावले काम गरिँदैन र सिमकोटबासीलाई आत्माग्लानी हुने हिसावले काम गरिने छैन ।
000