काठमाडौं । राजधानीको सामाखुसीमा कार्यालय रहेको गुडलक म्यानपावरबाट क्रोशिया पुगेका २६ नेपालीहरुको विचल्ली भएको छ । आकर्षक तलब र रोजगारीको प्रलोभनमा विभिन्न नक्कली कागजात तयार पारी म्यानपावर कम्पनिले क्रोशिया पुर्याएका उनीहरु विगत ६ महिनादेखि विचल्ली अवस्थामा रहेको पाइएको छ ।
दियोपोस्टको सम्पर्कमा आएका पीडितहरुका अनुसार म्यानपावर कम्पनिले आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई विभिन्न नक्कली कागजात तयारी पारी क्रोशिया पठाएको थियो । ‘हामी अहिले २६ जना बिचल्ली अवस्थामा छौँ । म्यानपावरका संचालकहरु सम्पर्कमा छैनन,’ क्रोशियामा बिचल्ली परेका जित बहादुर गुरुङले दियोपोस्टसँग भने,‘कति त नेपाल फर्किसकेका छन् । हामी भने नेपाल पनि फर्कन नसक्ने अवस्थामा एकै कोठामा थुनिएर बसेका छौँ ।’
क्रोशिया रोजगारीका लागि पुगेका उनीहरुले प्रति व्यक्ति १४ लाख रुपैयाँका दरले बुझाएको बताए । म्यानपावर संचालक संजय पनेरु पीडितहरुबाट पैसा कुम्ल्याएर जग्गा दलालीको धन्दा चलाउँछन् । विभिन्न शक्तिशाली नेताको तस्विर देखाएर पीडितहरुलाई प्रभाव देखाउने पनेरुले शंकाष्पद र नक्कली कागजात बनाउने गरेको समेत खुलेको छ ।\
नक्कली कागजात बनाउँछन् पनेरु
पनेरुले नक्कली कागजात तयार पारेका कारण अन्य १४ जना नेपालीको विचल्ली भएको छ । जनही ४ लाख ६० हजार रुपैयाँका दरले रकम बुझाएका उनीहरुले कामदार पर्मिट नै नक्कली बनाएको पाइएपछि क्रोशियाले भिषा नदिएको पाइएको छ । दियोपोस्टको सम्पर्कमा आएका आराङ तामाङका अनुसार उनीहरुलाई कम्पनिले बनाइदिएको कागजातका कारण भिषा नआएको हो । ‘उहाँहरुले नक्कली कागजात दिएको कारण भिषा आएन । सबै नक्कली बन्दो रहेछ । अहिले आगामी डिसेम्बरमा रकम फिर्ता गर्ने भनिएको छ । तर, विभिन्न शुल्क् कटाउने कुरा भएको छ,’ उनले भने,‘कम्पनीले नै गरेको गल्तीको भागिदार हामी हुनुपर्ने भयो ।’
विभागका उजुरीको चाङ तर संचालकहरु खुलमखुल्ला !
गत असोजमा गुडलक म्यानपावरले क्रोशिया पठाइदिने बहानामा ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकले ५ लाख रुपैयाँ लिएर एक वर्षसम्म पनि विदेश नपठाएको भन्दै धनगढीका हेमराज भाटले उजुरी दिएका थिए ।
पीडितले निवेदनमा उल्लेख गरे अनुसार संचालक पनेरुको निर्देशनमा म्यानपावरका एजेन्टले क्यु आर कोड पठाएको र सोही कोडमा आफूले रकम ट्रान्सफर गरिदिएको पीडितले बताएका थिए । २८ सेप्टेम्बर २०२३ मा अनलाइन ट्रान्सफर मार्फत रु २ लाख र नगद रु ३ लाख गरी जम्मा ५ लाख एजेन्टलाई दिइसकेको पीडितले बताए । तर, न उनी क्रोशिया उड्न पाए न त उनले आफूले बुझाएको रकम नै फिर्ता पाए ।
तर, विभागका उच्च अधिकारीलाई आर्थिक प्रभावमा पारेर पकडमा राखेका कारण पीडित भाटको उजुरीमा तत्काल सुनुवाई नै भएन । १५ दिनको म्याद दिएर आफूलाई विभागले घर पठाएको उनको गुनासो छ ।
क्रोशियामा नेपाली विचल्ली, म्यानपावर संचालक पनेरु सम्पर्क विहिन
क्रोशियामा नेपाली विचल्ली बनाउने गुडलक म्यानपावर संचालक सञ्जय पनेरुको मोबाइलमा प्रतिक्रियाका लागि पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । उनी सम्पर्कमा आएपछि उनको प्रतिक्रियालाई उचित स्थान दिइनेछ ।