काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी विरुद्ध पनि सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २४ जनाको सुचीमा सहकारीकी तत्कालिन कोषाध्यक्ष तथा पूर्वउपराष्ट्रपति पुनकी कान्छि बुहारी सविना आले विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनकी श्रीमती रहेकी सविना एनसेल नेपालको कर्मचारी समेत रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा अदालतले काठमाडौंले जीबी राईसहितलाई अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । जसमध्ये ६ सय ४५ जनाले आफूहरुको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २४ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् । त्यसैगरी दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सविना सहकारीको तत्कालिन कोषाध्यक्ष रहेको खुलेको छ ।