रवि भेट्न कास्की पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले भने– रविजीप्रति सधैं सद्भाव छ

राजनीति

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । रास्वपा स्रोतकाअनुसार आज बिहान डा भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको हुन् ।

शुक्रबार बिहान कास्की पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्।

भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए।

‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनु हुँदोरहेछ,’ उनले भने।

उनले पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए।  लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।