निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

दियो पोस्ट  

काठमाडौं, मंसिर १६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो।

निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु भएको थियो।

निर्मलाको पक्षमा अभियान चलाइरहेकी सिर्जना विश्वकर्मासहितका युवालाई शुक्रबार मात्रै प्रहरीले माइतीघरबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। ‘हामीले माइतीघर क्षेत्रमा पोस्टर टाँस्नसमेत पाएनौं, हामीले टाँसेको पोस्टरसमेत माथिको आदेश भन्दै प्रहरीले च्यातिदियो’, निर्मलालाई न्याय अभियानकी सदस्य सिर्जनाले शनिबारको कार्यक्रममा भनिन्, ‘निर्मलाको पक्षमा राजधानीमा टाँसिएका पोस्टर गृहमन्त्रालयको ठाडो आदेशमा रातारात च्यातिदियो।’

बलात्कारपछि निर्मलाको हत्या भएको सय दिन पुग्न लाग्दा उनको न्यायका कार्यक्रमसमेत नगर्नु भन्दै धम्की दिन थालेको अभियन्ताले बताएका छन्। शनिबारको कार्यक्रमलाई पनि रोक्न प्रहरीले पटक पटक फोन गरेर धम्की दिएको दाबी एकजना अभियन्ता प्रितम सुवेदीले गरे। ‘शुक्रबार निर्मलाको तस्बिरसहितको पोस्टर च्यातिदिएपछि शनिबार कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै प्रहरीबाट पटक पटक धम्कीपूर्ण फोन आयो’, सुवेदीले भने, ‘यदि सडकमा निस्किएमा गृहमन्त्रालयको आदेश अनुसार पक्राउ गरेर थुन्ने भन्दै तर्साउने काम प्रहरीबाट भयो, प्रहरीले धम्की दिए पनि कार्यक्रम गर्न सफल भएका छौँ।’

सुवेदीले शुक्रबार माइतीघर क्षेत्रसहितका राजधानीका सडकमा टाँसिएका पोस्ट प्रहरीले च्यातेपछि यो अभियानलाई अझै व्यापक बनाउने बताए। ‘निर्मलालाई न्याय अभियान अब देशभर फैल्याउन पोस्टर अभियान थाल्दैछौँ’, उनले भने, ‘अब निर्मलाको तस्बिरसहितको पोस्टर न्याय माग्दै टोल टोल र गल्ली गल्लीमा टाँसिनेछ।’

अर्का अभियन्ता चेवन घिमिरेले दुईतिहाइ बहुमतको आडमा सरकाले निर्मलाका लागि न्याय अभियानलाई दबाउन खोजेको भन्दै आफूहरु यो अभियानबाट पछि नहट्ने बताए।

धम्की होइनअनुरोध

निर्मलाका लागि न्याय अभियानका सदस्यहरुले आफूहरुलाई प्रहरीबाट कार्यक्रम नगर्न धम्की आएको बताइरहँदा नेपाल प्रहरीले भने त्यस्तो नभनिएको जनाएको छ। नेपाल प्रहरीले राजधानीमा जारी एसिया प्यासिफिक सम्मेलनमा आएका विदेशी पाहुनाको बाटोमा अवरोध पुग्न सक्ने भएकाले कार्यक्रम नगर्न अनुरोध मात्रै गरिएको दाबी गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले कार्यक्रम रोक्न गृहमन्त्रालयबाट कुनै आदेश नआएको बताए। उनले कार्यक्रम रोक्नु भनेर कसैलाई धम्की नदिइएको बताउँदै केबल अनुरोध मात्रै गरिएको स्पष्टिकरण दिए। ‘राजधानीमा धेरै देशका उच्च पदका पाहुना आएकाले सडक अवरुद्ध हुने सम्भावनालाई ख्याल गर्दै त्यस्ता कार्यक्रम केही दिन नगर्न अनुरोध मात्रै गरेका हौँ’, सुवेदीले अन्नपूर्णसँग भने, ‘सडकमा विरोध कार्यक्रम तथा प्रदर्शन गर्ने क्रममा विदेशी पाहुनाको सवारी रोकिन पुगे देशकै बेइज्जत हुने भएकाले सजग हुन आग्रह गरिएको हो, हामीले धम्की दिने कुरै छैन।’

निर्मलाको न्यायका लागि देउडा गीत
पोखरामा न्याय माग्दै प्रदर्शन : प्रहरीले निर्मलाको पोस्टर च्यातेपछि विवाद
प्रहरीले माइतीघर क्षेत्रमा टाँसिएका पोस्टर पनि नच्यातेको जिकिर गरेको छ। धेरैजना विदेशी पाहुना काठमाडौँमा रहेकाले सडकमा दुवै प्रहरीको टोली सुरक्षाका लागि परिचालन गरिएको बताउँदै प्रवक्ता सुवेदीले निर्मलाका लागि न्याय अभियानमा अवरोध गर्ने निर्देशन कहीँबाट नआएको पनि उल्लेख गरे। सुवेदीले यसो भनिरहँदा शुक्रबार माइतीघरमा निर्मलाको तस्बिरसहितको पोस्टर च्यातेको प्रहरीले शनिबार पोखरामा पनि त्यस्तै व्यवहार देखाएको छ। प्रहरीले शनिबार पोखराका विभिन्न स्थानमा टाँसिएका निर्मलाको तस्बिरसहितको पोस्टर उप्काएर फालिदिएको हो।

प्रहरीले पोखराको मानवअधिकार चोकबाट चिप्लेढुंगासम्मको क्षेत्रमा टाँसिएका पोस्टर च्यातेर फालिदिएपछि निर्मलाका लागि न्यायका अभियन्ताहरुले त्यसको विरोध गरेका छन्। प्रहरीले पोस्टर च्यात्ने र उप्काउने गरिरहेपछि त्यहाँ सुरेश पहारीसहितका अभियन्ताहरु तत्कालै विरोधमा उत्रिएकाथिए।

यसअघि निर्मलाको गृहनगर भीमदत्तनगरमा उनकै दिदीसहितको टोलीले शुक्रबार बहिनीलाई न्याय माग्दै पोस्टर टाँसेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर दिदी मनिषासहितले महेन्द्रनगर बजार क्षेत्रमा टाँसेका हुन्। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।