गुण्डा नाईके घैंटे समुहका तीनजना राजधानीको जडिबुटीबाट पक्राउ

Diyo post  

काठमाडौँ, पुष १५ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटे समुहका तीन जना काठमाडौँको जडिबुटीबाट पक्राउ परेका छन् । महानगरिय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गुण्डागर्दीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।

जडिबुटीकी स्थानिय गणेशमाया श्रेष्ठको घरमा लुटपाट गर्दै गर्दा प्रभागकी प्रमुख एलिजा गिरिको नेतृत्वमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ बर्षिय अर्जुनप्रसाद अधिकारी, सोही स्थानका २५ बर्षिय केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका घर भई हाल चावाहील बस्ने अञ्जान उप्रेती रहेका छन् ।

पक्राउ परेका तीन जनाबाट प्रहरीले एउटा चाइनिज पेस्तोल र एक थान खुकुरीसमेत बरामद गरेको छ । पक्राउ परेका केदार नेपाल प्रहरीमा २ बर्ष र नेपाली सेनामा ३ बर्ष जागिर खाएर भागेका ब्यक्ति हुन् । उनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । त्यस्तै अर्जुन जग्गा कारोबारी हुन् । उनी सार्वजनिक अपराधमा २ पटक सम्म सजाय पाएका ब्यक्ति हुन् । अर्का उप्रेती भने गुण्डा नाइके कुमार घैँटेका सहयोगी भई आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

सम्बन्धित खबर