काठमाडौँ, मंसिर २८ । धनुषा बम विस्फोटमा परि गम्भिर घाइते भएका प्रहरी निरिक्षक अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । गए राति सवा १२ बजे धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्र नगर बजार नजिक भएको वम विस्फोटमा परि प्रहरी निरिक्षक दाहाल गम्भिर घाइते भएका थिए ।
कोखामा बमको छर्रा लागेर गम्भिर घाइते भएका दाहालको उपचारको क्रममा मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएको भएतापनी विहान ६ः४० मा अस्पतालले मृत घोषणा गरेको थियो ।
शुक्रबार राति स्थानीय राजेश शाहको घर बाहिरको पोलमा शंकास्पद बस्तु राखिएको सुचना प्राप्त भएपछि प्रहरी निरिक्षक दाहाल नेतृत्वको टोली सो ठाउँमा पुगेका थिए । शंकास्पद बस्तु राखिएको ठाउँमा भीड जम्मा भएको र भीडलाई हटाउँदै गर्दा वम विस्फोट भएको थियो ।
विस्फोटबाट सोही ठाउँका अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ । घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, २५ वर्षको छोरा प्रकाश, प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।थप तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । यद्यपि बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । राजेश साहले ब्याजमा पैसा लगाउने गर्दथे । मिटरब्याजी भएको आरोपमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।