स्विमिङ गर्दा करेन्ट लागेर ५ महिनादेखि कोमामा, अपराध लुकाउन होटल स्क्वायर प्रशासनको झुट !

दियोपोस्ट संवाददाता

काठमाडौं ।ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा भएको एउटा घटनालाई लिएर होटल प्रशासनले आफ्नो अपराध लुकाउन विभिन्न बहानाबाजी गर्न थालेको छ।

गत भदौमा सोही होटलको स्विमिङ पुलमा करेन्ट लागेका मानभवनका सजिलमान शाक्य अहिलेसम्म कोमामा छन्।

घटनाको छानबिनका लागि गठित समितिले पनि सजिलमानलाई करेन्ट नै लागेको पुष्टि गरेको छ। तर, बिभिन्न बहानाबाजी गरेर होटलपक्ष भने सजिलमान शाक्यमाथि भएको अपराधबाट उम्किने प्रयास गरेको पाइएको छ।

भदौ १५ गते होटलको स्विमिङ पुलमा स्विमिङ गर्दागर्दै सजिलमानलाई करेन्ट लागेको थियो। करेन्ट लागेर अचेत भएपछि उनकी श्रीमती रजिना मानन्धर  र होटलकै एक स्टाफले  सजिलमानलाई मेडिसिटी अस्पताल पुर्‍याएका थिए।

होटलमा करेन्ट लागेपछि घटनाको जिम्मा लिएर सजिलमानको उपचार सोही होटलले गर्नुपर्ने हो तर होटलले भने करेन्ट लागेको वा नलागेको नै पुष्टि नभएकाले होटल पक्ष जिम्मेवार नहुने भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै आएको छ।

सजिलमानलाई करेन्ट लागेको हो या होइन भन्ने निर्क्यौल गर्न ललितपुर प्रशासनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन डाक्टरहरूको समिति बनाएर त्यसको छानबिन गर्न भनेको थियो।

चेकजाँच र विभिन्न परीक्षणमा पाटन स्वास्थ्य  विज्ञान प्रतिष्ठानका डाक्टरहरू सृजना कुँवर, सम्झना घिमिरे र सलमाली यादवले सजिलमानलाई  करेन्ट लागेको निष्कर्ष निकालेका थिए।

तर मेडिसिटी अस्पतालले करेन्ट लागेको पुष्टि नगरेको भन्दै होटल प्रशासनले आफूहरूको जिम्मेवारी नहुने बताएको छ।

सजिलमानको उपचारमा परिवारले ९५ लाख खर्च गरिसकेको उनकी श्रीमती रजिना बताउँछिन्। त्यतिका पैसा खर्च गर्दापनि बीसको उन्नाइस नभएपछि परिवारले उनलाई अहिले घरमै ल्याएर हेरचाह गरिरहेको छ।

घटनालाई प्रहरीले पनि सामान्य रूपमा लिएकाले होटल प्रशासन गैरजिम्मेवारपूर्ण भएको पीडित पक्षको आरोप छ।

सजिलमानका भाइ विवेक शाक्य

सजिलमानका भाइ विवेक शाक्यका अनुसार त्यतिबेला प्रहरीले उजुरी समेत लिन मानेको थिएन, सामान्य छलफल मात्र गराएको थियो। छलफलपछि होटल प्रशासनले प्रहरीलाई घटना भएको दिनको सिसीटिभी फुटेज पनि उपलब्ध गराएको थियो।

सिसीटिभी फुटेजमा पनि सजिलमानलाई करेन्ट लागेको स्पष्ट देखिने विवेक बताउँछन्। ‘२५ सेकेन्ड करेन्ट लागेको स्पष्ट देखिन्छ, सिसीटिभी फुटेज पनि प्रहरीले एक/एक जनालाई लगेर देखाउँछ। त्यो फुटेज सार्वजनिक होस् भन्ने माग हो,’ विवेकले दियोपोस्टसँग भने।

होटलका एचआर म्यानेजर गणेश न्यौपाने

होटलका मानव संसाधन प्रबन्धक गणेश न्यौपाने होटलमा दुःखद घटना भएको तर त्यो करेन्ट हो होइन भन्ने विषय अझै अनुसन्धानको पाटो रहेको बताउँछन्।

जबकि डाक्टरहरूले पनि करेन्ट लागेको भन्ने निष्कर्ष निकालेका थिए।

त्यतिबेला विद्युत् प्राधिकरणबाट प्राविधिक बोलाएर चेकजाँच गराउँदा उनीहरूले करेन्ट लिकेज नभएको बताएको प्रबन्धक न्यौपाने बताउँछन्।

‘मेडिसिटी अस्पतालको रिपोर्टमा पनि इलेक्ट्रिक सक नलागेको भनिएको छ। पीडितहरू करेन्ट नै हो भनिरहनुभएको छ। त्यसैले यो विषय अझै छानबिनको प्रक्रियामै छ,’ उनले भने।

केही दिनअघि सजिलमानका लागि न्याय माग्दै होटल स्क्वायर अगाडि प्रदर्शन समेत भएको थियो। पीडितलाई उपचार र क्षतिपूर्ति पाउनुपर्ने उनीहरुको माग थियो।

एसपी नवराज कार्की

यसबारेमा ललितपुर प्रहरीसँग पनि हामीले बुझ्यौं। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनामा पीडित पक्षले उजुरी गरेपनि उजुरी लिने आधार नभेटिएपछि ढिलाइ भएको बताए।

‘गत पुस २ गते सरकारी वकिलको कार्यालयबाट मुद्दा दर्ता गर्न निर्देशन भएपछि हामीले षुस २९ गते उजुरी लिएका छौं,’ उनले भने।

बीचमा पीडित पक्ष र  होटल प्रशासनबीच क्षतिपूर्तिबारे छलफल चलिरहेकाले तत्काल उजुरी दर्ता नभएको पनि एसपी कार्कीले जानकारी दिए।

सम्बन्धित खबर

सिफारिस