अन्तत: होटल स्क्वायरका सञ्चालक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी, भारतमा रहेको आशंका !

- दियोपोस्ट  

काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गत भदौमा स्क्वायर होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर हालसम्म कोमामा रहेका ललितपुरकै मानभवनका सजिलमान शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नवराज कार्कीले अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।

‘दुई तीन अघि नै उहाँविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। उहाँको घरमा प्रहरी पुग्दा उहाँ घरमा हुनुहुन्थेन । परिवारका अन्य सदस्यसँग बुझ्दा उहाँ आमाको उपचार गर्न भारत जानु भएको भन्ने आएको छ । उहाँ केही दिनमा फर्कने भन्ने जानकारी पाएका छौं । त्यसपछि पक्राउ गर्छौं,’ उनले भने ।

दियोपोस्टकर्मीले भारतबाट उनी आइनन् वा उतैबाट सम्पर्कविहीन भए भने के हुन्छ ? भनि कार्कीलाई प्रश्न गर्दा उनले त्यस्तो नहुने बताए।

‘त्यस्तो हुँदैन उहाँ फर्किनु नै हुन्छ भन्ने विश्वास छ । परिवारसँग कुरा गर्दा पनि त्यही जानकारी पाएको हौं । आउनेबित्तिकै पक्राउ गरेर जाहेरी अनुसारको छानबिन अगाडि बढाउँछौं । प्रहरीको अरू संयन्त्रहरू पनि हुन्छन् सम्पर्कविहीन हुने भन्ने हुँदैन ।’पक्राउ पुर्जी जारी भइसकेको छ, हामी छिट्टै पक्राउ गर्छौं,’ कार्कीले भने।

घटना भएकाे दिनकाे सिसिटिभी फूटेज

सजिलमानलाई करेन्ट लागेकोबारे सरकारी डाक्टरहरूले पुष्टि गरेपनि होटल स्क्वायरले त्यसको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।

पीडितहरुले होटल अगाडि केही दिन अघि सजिलमानको न्याय माग्दै प्रदर्शन समेत गरेका थिए ।

पाँच महिनादेखि सजिलमान कोमामा रहेको र होटल प्रशासनले जिम्मेवारी नलिएको र उनीहरूमाथि कारबाही नभएको विषयमा दियोपोष्टले समाचार प्रकाशन गरेको थियो ।

होटलले सजिलमानलाई करेन्ट लागेको वा नलागेको भन्ने विषय नै अनुसन्धानको पाटो भएको बताउँदै आइरहँदा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले सजिलमानलाई करेन्ट लागेको पुष्टि गरेका थिए ।यसबारे दियोपोष्टले प्रमाणसहित समाचार संप्रेषण गरेको थियो ।

पीडित परिवारले सजिलमानको उपचार होटलले गर्नुपर्ने र नियमानुसार क्षतिपूर्ती दिनुपर्ने बताउँदै आएकोमा होटल प्रशासन भने होटलको गल्ती नै नभएको दाबी गर्दै आएका थिए ।

भदौदेखि मेडिसिटी अस्पतालमा सजिलमानको उपचारमा ९५ लाख रूपैयाँ खर्च भएको परिवारको दाबी छ । अहिले उपचार खर्च नभएपछि परिवारले उनलाई घरमै ल्याएर हेरचाह गरिरहेको छ ।

होटल संचालकलाई जोगाउन चलखेल गरिएको विषयमा पनि दियोपोस्टले यसअघि नै समाचार प्रकाशन गरेको हो। तत्कालीन ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले विवादास्पद भूमीका निभाएर संचालकहरुलाई उन्मुक्ति दिएको आरोप छ।

सम्बन्धित समाचारः

– सजिलमानमाथि स्विमिङ्ग पुलमा करेन्ट लागेको पुष्टि : होटल संचालकलाई किन हुँदैन कारबाही ?

‘स्विमिङ पुलमा करेन्ट छोडेर मृत्युको मुखमा पुर्याउने होटल स्क्वायरका संचालक’ जोगाउन चलखेल !