ललितपुर । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा करेन्ट लागेको घटना छानबीनमा ललितपुर प्रहरीले उदासिनता देखाएको छ ।
शुक्रबार साँझ पौडी खेलिरहेको बेला करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनको अवस्था अहिले पनि गम्भिर छ । तर, ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले यो घटनामा लापरबाही गरेको आरोप लागेको छ ।
पीडित परिवारका तर्फबाट घाइते शाक्यका बुवा पुष्करमान शाक्यले जाहेरी दिएका थिए । तर, पीडितले दिएको जाहेरीलाई विभिन्न तर्क वितर्क गरेर एसएसपी शाहले झुलाउने काम गरेको पीडितका एक आफन्तले दियोपोस्टलाई बताए ।
‘छोरालाई अस्पतालको आईसियुको बेडमा राखेर ६३ वर्षिय बृद्ध पटक पटक प्रहरी कार्यालय धाउँदा पनि जाहेरी दर्ता समेत भएको छैन,’ एक आफन्तले दियोपोस्टसँग भने,‘होटल संचालकहरुलाई जोगाउने र घटनालाई तोडमोड पार्ने षडयन्त्र भइरहेको छ ।’
शाक्यकी श्रीमती रजिना शाक्यले कान्तिपुर दैनिकलाई दिएको जानकारी अनुसार बच्चालाई लिएर उनीहरू शुक्रबार दिउँसो ३ बजे होटलमा स्विमिङका लागि गएका बेलामा करेन्ट लगेर अचेत भएपछि होटलकै कर्मचारीहरूले उद्धार गरी उनलाई अस्पताल पु¥याएका थिए ।
‘छोरीलाई स्विमिङ सिकाउन भनेर हामीले ’हिटेड पुल’ भएकोले त्यहाँ रिजर्भेसन नै गरेर गएका थियौं । छोरी र मेरो श्रीमानमात्रै हुनुहुन्थ्यो पुलमा । पुल गहिरो पनि थिएन । छोरीलाई पुलमा खेलाउँदै हुनुहुन्थ्यो । छोरीले चस्मामा पानी छि¥यो भनेपछि मैले पुलबाट निकालेर चस्मा मिलाउँदै थिएँ,’ उनले भनिन्,‘पछाडि फर्केर हेर्दा उहाँले दुवै हात उचालेर कामिरहेको जस्तो देखें । सुरुको केही सेकेन्ड छोरीलाई जिस्काएर बोलाइरहेको जस्तो लाग्यो । पछि होइनजस्तो लागेर हात समाउन जाँदा मलाई पनि करेन्ट लाग्यो ।’
श्रीमती शाक्यका अनुसार उनले दुई चारपटक नै हात समाउन खोज्दा उनलाई पनि झट्का लागेको थियो । तर जब पूर्ण अचेत भएर उनी पुलमा लडे तब भने डुब्न नदिन फेरि समाउँदा भने आफूलाई करेन्ट नलागेको र त्यति नै बेला होटेलको स्टाफसमेत आइपगेर पुलबाट निकालेर अस्पताल लगिएको उनले बताइन् ।
‘पुलबाट निकालेपछि मैले सीपीआर दिन खोजें र स्टाफहरू आएपछि होटलकै गाडीमा अस्पताल लगिएको हो,’ उनले भनिन्, ’पुलमा करेन्ट लागेको हो भन्नेमा कुनै दुईमत छैन । उहाँलाई राम्रो स्विमिङ आउँथ्यो र स्वास्थ्यअवस्था पनि राम्रो थियो ।’
पूर्णरुपमा अचेत अवस्थामा अस्पताल पु¥याइएका उनको हालसम्म पनि होस आएको छैन । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । घाइते शाक्यको शरीरको अन्य अंगको अवस्था सामान्य रहे पनि बेहोस भएर मस्तिष्कमा
आवश्यक अक्सिजन नपुगेकोले त्यसमा गम्भीर आघात पुगेको छ ।
अस्पतालका अनुसार शाक्यको हातको नाडीमा ‘बर्न मार्क’ छ । बोर्न मार्क भनिएको तस्विर समेत दियोपोस्टले फेला पारेको छ । करेन्ट लागेको बेला विरामीलाई यस्तो हुने गर्दछ ।
तर, प्रहरी भने यस्तो गम्भिर घटनालाई ‘हर्टएट्याक’ बनाएर होटल सञ्चालकलाई उन्मुक्ति दिन चलखेलमा लागेको आरोप छ ।
प्रहरी प्रमुख शाहीले पीडितले दिएको जाहेरीलाई नै फेरबदल गराउने गरेको समेत खुलेको छ । ‘कहिले होटल संचालकको नाम नल्याउनुस् भनिन्छ । कहिले यो कनुन अनुसार ल्याउनु भनिन्छ,’ पीडितका आफन्त भन्छन्,‘हामी विरामीको हेरचाह गर्नुकी कानुन हेरेर जाहेरी ल्याउनु प्रहरीले नै प्रमाण बलियो बनाएर पीडितलाई न्यायका लागि पहल गर्नुपर्ने होइन र ?’
पीडितले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ र १९५ अनुसार दिएको जाहेरी दर्ता भएन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८२ मा कसैको पनि हेलचेक्र्याई पुर्वक ज्यान मार्न नहुने उल्लेख गरेको छ । त्यस्ता व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने ऐनमा उल्लेख छ ।
मुलुकी अपराध संहिताको दफा १९५ मा कसैले पनि लापरबाहीपूर्ण काम गरी अंगभंग भएकोमा २ वर्षसम्म कैद र बीस हजार रुपैयाँ जरिवाना हुने उल्लेद गरेको छ ।
पीडित परिवारले पुल्चोकस्थित स्क्वेर होटलका प्रबन्ध सञ्चालक रोमी अर्याल र होटल संचालक सिरिलदिप देवकोटा विरुद्ध जाहेरी दिएका छन् । होटल सञ्चालकहरु प्रहरीकै पूर्वउच्च हाकिमहरुको आफन्त भएका कारण छानबीनमा ढिलाई भएको आरोप छ ।
होटल संचालक भन्छिन्,‘यो विषयमा म बोल्दिनँ’
यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले होटल संचालक रोमी अर्याललाई सम्पर्क गरेको थियो । तर घटनाबारे प्रश्न सुन्ने वित्तिकै उनले यो विषयमा आफू नबोल्ने बताइन् ।
एसएसपी भन्छन्,‘हामी निष्पक्ष अनुसन्धान गरिरहेका छौँ’
ललितपुर प्रहरी प्रमुख सिद्धि विक्रम शाहले आफूहरुले अनुसन्धान गरिरहेको बताए । ‘हामी फियरली अनुसन्धान गरिरहेका छौँ । विद्युत र मेडिकल दुवै पाटोबाट अनुसन्धान जारी छ । घाउ जाँच हुँदैछ,’ उनले भने,‘पीडितले मुलुकी अपराध संहिताको दफा १८२ र १९५ अनुसारको जाहेरी ल्याउनु भएको थियो । त्यो भनेको विरामीको मृत्यु भइसकेको अवस्थामा आउने जाहेरी हो ।’
उनका अनुसार प्रहरीले भने अनुसारकै जाहेरी दर्तापछि अनुसन्धान भइरहेको छ । उनले आफूहरुमाथि दोहोरो दबाव रहेको समेत बताए । ‘पीडितले एउटा कुरा भन्छ । यता होटल संचालकहरुले व्यापार गरेर खान पाइँदैन भनेर प्रश्न गरिरहेको छ,’ शाहले भने ।