
काठमाडौं । धादिङ्गका संघीय सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको आडमा अवैध क्रसर उद्योग संचालन भएको खुलेको छ ।
धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका र गजुरी गाउँपालिकाको बीचबाट बहने मलेखु खोलामा पाण्डेको आडमा अवैध क्रसर उद्योग संचालनमा आएको हो । विगत लामो समयदेखि क्रसर संचालनमा भएपनि जिल्लाका नियामक निकायले कारबाही गर्न सकेका छैनन् । खोलामै अवैध रुपमा क्रसर संचालन गरिएको छ । जबकी यसरी खोलामै क्रसर उद्योग संचालन गर्नु मापदण्ड विपरित हो ।

यसरी मलेखु खोलामा संचालित अवैध क्रसरबाट उत्पादिन नदिजन्य पदार्थ मलेखु निर्माण सामग्री उद्योग र भद्रकाली बालुवा प्रशोधन उद्योगको नामबाट बिलिङ्ग गर्ने गरिएको छ । यी दुई कम्पनि मध्ये एउटा कम्पनि पाण्डेका नातेदारको नाममा दर्ता भएको कम्पनि रजिष्ट्रार कार्यालय स्रोतले जनाएको छ ।

बालुवा प्रशोधन उद्योगको रुपमा दर्ता भएको भद्रकाली बालुवा प्रशोधन उद्योग र मलेखु निर्माण सामग्री उद्योगले अवैध रुपमा क्रसरको काम गरिरहेको छ । भद्राली कालुवा प्रशोधन उद्योगको नामबाट जारी भएको बिल अनुसार एक टिफर गिटीको चार हजार रुपैयाँमा विक्री गर्ने गरिएको छ । यी दुवै कम्पतीले लामो समयदेखि कर समेत तिरेका छैनन् । तर, मलेखु खोलामा अवैध धन्दा भने जारी छ । उक्त अवैध क्रसरबाट छुटेको बालुवा तथा गिट्टी बोकेको टिफर प्रहरीले रोकेको खण्डमा नेता पाण्डेले प्रहरी कर्मचारीलाई धम्काउने र थर्काउने कार्य गरेका छन् ।

बालुवा प्रशोधन उद्योग दर्ता गरेर क्रसर चलाउन पाइँदैन, खोलामै चलाउन पनि पाइँदैन : प्रमुख जिल्ला अधिकारी

धादिङ्गका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले खोलामै क्रसर वा बालुवा उद्योग संचालन गर्न नमिल्ने बताए । उनले मलेखु खोलामा त्यसरी बालुवा प्रशोधन उद्योग तथा क्रसर संचालन भएको विषयमा आफू जानकार नभएको बताए । बालुवा प्रशोधन उद्योगको रुपमा दर्ता गरेर क्रसर संचालन गर्न नपाइने उनको भनाई छ । उनले यस विषयमा आफूले बुझ्ने बताए ।
के छ मापदण्ड ?

ढुंगा,गिट्टी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार क्रसर उद्योगहरु खोला तथा नदि किनारबाट ५ सय मिटर दूरीमा हुनुपर्नेछ । तर, मापदण्ड कार्यान्वयनको जिम्मा पाएको गजुरी गाउँपालिका मौन छ ।
गजुरी गाउँपालिका अध्यक्ष भन्छन्,‘हामीलाई केही थाहा छैन’
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले यी दुवै उद्योग आफ्नो गाउँपालिकामा नपर्ने झूटो जवाफ दिए । ‘मलाई क्रसर तथा बालुवा सम्बन्धी मापदण्ड सबै थाहा छ । ती दुवै उद्योग हाम्रो गाउँपालिकामा पर्दैन,’ उनले भने,‘हामीले उत्खनन्को अनुमति दिएको छैन । अनुमति नै नभएको विषयमा कसरी चलिरहेको छ । त्यो बुझ्नुपर्छ ।’

तर, गाउँपालिका अध्यक्ष श्रेष्ठले थाहा नभएको बयान दिएपनि उक्त उद्योगको ठेगाना गजुरी गाउँपालिका २ नै उल्लेख छ । आफ्नै गाउँपालिका भित्र पर्ने यो क्रसर बेनिघाट रोराङ्ग गाउँपालिकामा पर्ने जवाफ दिए । गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारीले पञ्छाउने गरेको जवाफ दिए ।