दियोपोस्ट संवाददाता
धादिङ, १६ पुस । त्रिपुरा सुन्दरी गाउँपालिका – ४ र ७ मा अवैध रुपमा बालुवा गिटि चोरी निकासी गर्ने एस एस कन्स्ट्रक्सनको धरौटी जफत भएको छ । गाउँपालिकाले केही दिन अघि बैठक बसेर उक्त कम्पनिको धरौटी जफत गरी कारबाहीका लागि प्रहरीलाई समेत सिफारिस गरेको अध्यक्ष शम्भु थापाले दियोपोस्टलाई जानकारी दिए ।
‘गाउँपालिकाको निर्णयले एस.एस कन्स्ट्रक्सन निलकण्ठ नगरपालिका –१६ लाई ठेक्का नम्बर ४÷०७६÷७७ खण्ड घ को ठेक्का सम्झौता गर्नका लागि गाउँपालिकाबाट आसय पत्रको सुचना दिइएको भएता पनि निजले ठेक्का सम्झौता नगरी अवैध रुपमा नदिजन्य पदार्थ (गिटि ढुङ्गा, बालुवा) उठाई चोरी निकासी गरेको देखिएकाले निजको धरौटी रकम जफत गर्ने निर्णय भयो,’ पालिकाले गरेको निर्णयमा भनिएको छ ।

धादिङमा गुण्डागर्दीमा समलग्न रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी राधे समुहका सुर्या तामाङले गाउँपालिकाकै नक्कली रसिद बनाएर बालुवा चोरी निकासी गर्ने गरेको समेत पाइएको छ ।
बालुवा निकासी कर उठाउन प्रयोग गरिएको नक्कली रसिद समेत भेटिँदा पनि धादिङ प्रहरीले कुनै कारबाही गर्न सकेको छैन ।
‘यसरी रसिद नै बनाएको भन्ने आएको थिएन । दियोपोस्टले सार्वजनिक गरेपछि हामीले प्रहरीलाई कारबाही गर्न भनेका थियौँ तर प्रहरीले केही कारबाही गर्न सकेको छैन,’ गाउँपालिकाका एक उच्च अधिकारीले भने ।
पालिका अध्यक्षको चरित्र हत्या !
त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापा र उनकी छोरी नाता पर्ने एक महिलालाई लिएर एक अनलाईनले चरित्र हत्या गरेको छ । गत वर्ष धादिङवेशी टारिबेशी सडकखण्ड विग्रीएको बेला आफ्नो छोरीको उपचार गर्न हेलिकोप्टरमा छोरी सहित आएका थापा र उनको छोरीको तस्विर प्रयोग गरेर चरित्र हत्या गरेपछि गाउँपालिकामा थापा प्रति सहानुभूति बढेको छ ।

उक्त अनलाईनले, ‘नेकपालाई सिद्ध्याउन त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्षले गरे यस्ता कर्तुत, सरकारी बजेट तरुनीमा लगानी’ भन्ने शिर्षक राखेर आफ्नै छोरीसँगको तस्विर सहित समाचार प्रकाशन गरेको थियो ।

सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएपछि उक्त अनलाईनले छोरीसँगको तस्विर भने हटाएको थियो । उक्त अनलाईनले चरित्र हत्या गरेको भन्दै साइबर अपराधमा मुद्दा हाल्न थापाकी छोरीले कोशिस गरेपनि उक्त अनलाइनले हाल भने समाचार नै हटाएको छ ।