न्युरोडको फोटो कन्सर्नमा नक्कली स्मार्ट लाइसेन्स बनाउने धन्दा, आधा दर्जन व्यक्ति पक्राउ !

दियो पोस्ट  

काठमाडौं, १६ पुस । काठमाडौंको न्युरोडमा रहेको फोटो कन्सर्नमा नक्कली लाइसेन्स, नक्कली प्रहरी परिचय लगायत विभिन्न किर्ते कार्य हुने गरेको खुलाशा भएको छ । बुधबार महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखा र महानगरीय ट्राफिक प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेर फोटो कन्सर्नका विभिन्न कर्मचारी पक्राउ गरेको छ ।


प्रहरीले दिपक ब्लोन नाम गरेको नक्कली लाइसेन्स बाहकलाई पक्राउ गरेपछि उनलाई सोधपुछ गर्ने क्रममा गिरोह नै फेला पारेको हो । ब्लोनको०२०६००४४३३९७ नं. को बिएजी बर्गको नक्कली स्मार्ट लाईसेन्स फेला पारेको प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कालाई ३० हजार दिएर आशिस स्टुडियोबाट डिजाइन गरेको खुलेको थियो ।

त्यस्तै न्युरोडमा रहेका फोटो कन्सर्न प्रा.लिले नक्कली स्मार्ट लाईसेन्स बनाउने गरेको र फोटो कन्सर्न प्रा.लि. ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बेच्ने गरेको समेत अनुसन्धानमा खुलेको छ । प्रहरीले आशिष स्टुडियोका संचालक सुबाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको चार थान सवारी चालक अनुमति पत्रसहित पक्राउ गरेको छ ।

त्यस्तै उनको साथबाट भारत सरकारको आधार कार्ड समेत बरामद भएको छ ।

फोटो कन्सर्न प्रा.लि. न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, लक्ष्मणकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपियु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत बरामद गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि फोटो कन्सर्नका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङ काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरी पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको महासाखाले जनाएको छ ।