
काठमाडौं, १७ पुस । न्युरोडको स्थापित फोटो स्टुडियोको रुपमा चर्चित फोटो कन्सर्नमा नक्कली स्मार्ट लाइसेन्स मात्रै होइन सशस्त्र प्रहरीको परिचय पत्र समेत बन्ने गरेको खुल्यो । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखा र महानगरीय ट्राफिक प्रहरी महासाखाको संयुक्त अपरेशनमा आधा दर्जन बुधबार व्यक्ति पक्राउ परे । तर, न्युरोडको फोटो कन्सर्नका मुख्य मालिक भने अझै पक्राउ पर्न नसकेको पाइएको छ । कुनै समय चर्चित फोटो ग्राफरको रुपमा चिनिएका डिबी थापाद्वारा स्थापित न्युरोडको फोटो कन्सर्नमा यस्तो धन्दा हुने गरेको पाइएको हो ।
सन् १९६० देखि नै सञ्चालनमा आएको फोटो कन्सर्न स्थापनाकालदेखि नै न्युरोडमै रहेको छ । डिबि थापाकी छोरीले उक्त फोटो कन्सर्नको व्यापार सम्हालेपछि भने यहाँ यस्तो धन्दा हुने गरेको पाइएको छ ।
फोटोग्राफीको शुरुवातकर्ताको रुपमा लिएका डिबिको २०७३ सालमै निधन भएको थियो । छोरी बन्दना कुमारी थापाले व्यापार सम्हालेपछि भने नक्कली लाइसेन्स, भारतीय आधारकार्ड र सशस्त्र प्रहरीको नक्कली परिचय पत्र समेत बन्न थालेको हो ।
प्रहरीले दिपक ब्लोन नाम गरेको नक्कली लाइसेन्स बाहकलाई पक्राउ गरेपछि उनलाई सोधपुछ गर्ने क्रममा गिरोह नै फेला पारेको थियो ।
ब्लोनको०२०६००४४३३९७ नं. को बिएजी बर्गको नक्कली स्मार्ट लाईसेन्स फेला पारेको प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कालाई ३० हजार दिएर आशिस स्टुडियोबाट डिजाइन गरेको खुलेको थियो ।
त्यस्तै न्युरोडमा रहेका फोटो कन्सर्न प्रा.लिले नक्कली स्मार्ट लाईसेन्स बनाउने गरेको र फोटो कन्सर्न प्रा.लि. ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बेच्ने गरेको समेत अनुसन्धानमा खुलेको थियो । प्रहरीले आशिष स्टुडियोका संचालक सुबाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको चार थान सवारी चालक अनुमति पत्रसहित पक्राउ गरेको छ ।
त्यस्तै उनको साथबाट भारत सरकारको आधार कार्ड समेत बरामद भएको छ ।
फोटो कन्सर्न प्रा.लि. न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, लक्ष्मणकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपियु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत बरामद गरेको थियो ।
प्रहरीले अनुसन्धानका लागि फोटो कन्सर्नका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्के्टिङ काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरी पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको छ ।
बन्दना थापा फरार !
प्रहरीले अपरेशन चलाएपछि फोटो कन्सर्नकी निर्देशक बन्दना थापा फरार रहेको पाइएको छ । उनको कार्यालयको नम्बरमा सम्पर्क गर्दा एकाउन्टमा काम गर्ने एक कर्मचारीले बन्दना घुम्नका लागि काठमाडौं रहेको बताए । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाका प्रहरी उपरिक्षक एसपी हृदय थापाले अनुसन्धान जारी रहेको थप व्यक्तिहरु समेत खोजी कार्य हुने बताए । ‘यो हामीले गरेको पहिलो अपरेशन हो । म्याद थप भएर अनुसन्धान जारी छ । हामी थप व्यक्तिहरु को–को समलग्न छन् भन्ने भेरिफाइ गर्दैछौँ,’ थापाले दियोपोस्टसँग भने ।