दियोपोस्ट संवाददाता,
काठमाडौं, १९ पुस । विभिन्न व्यक्तिको हत्या, लुटपाट तथा डकैत मुद्दामा फरार फरार रहेका धादिङको खनियावास गाउँपालिका ४ दार्खाका साइला भनिने दुर्गा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको टोलीले कास्कीको चुम्राङ भन्ने ठाउँँमा लुकेको सुचनाका आधारमा उनी पक्राउ परेका हुन् । उनलाई शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २५ खट्टेगौंडाबाट पक्राउ गरी धादिङ प्रहरीमा बुझाइएको हो ।
तामाङले तत्कालिन नेकपा एमालेका जिल्ला सदस्य शिव थापाको हत्या गरेको प्रहरीले जनाएको छ । २०६७ कार्तिक १० गते धादिङ दार्खा –१ पातले भिर भन्ने ठाउँमा थापाको हत्या भएको थियो । उनको हत्या मुद्दामा पक्राउ परेका अन्य अभियुक्त यतिबेला जेलमै छन् । उक्त मुद्दामा साइला तामाङलाई ५ वर्ष कैद फैसला भएको थियो ।
त्यस्तै २०६९ मंसिर १९ गते दार्खाकै रातमाटेमा भएको भिषण सिंखडाको हत्या मुद्दामा पनि उनी फरार रहेका थिए ।
दुर्गे साईला भन्ने दुर्गा बहादुर तामाङ्ग समेतले धारिलो हतियार प्रहार गरी मृतक भिषण सिंखडालाई हत्या गरी घटना पश्चात फरार भएको प्रहरीमा रेकर्ड छ ।
दुर्गे साइलाले धादिङकै खनियावास गाउँपालिका वडा नम्बर १ पर्चे भन्ने स्थानमा २०७६ जेठ ८ गते लुटपाट समेत गरेका थिए ।
कैलाश दिक्षितलाई करिब २ बजेको समयमा साइला भन्ने दुर्गा ब. तामाङ्ग, पूर्ण तामाङ्ग, मनोज तामाङ्ग र बबिन तामाङ्ग समेतले बाटो छेकी घेरा हाल्दै धारिलो हतियार देखाउँदै ६ लाख १० हजार रुपैयाँ लुटेका थिए ।
उनीहरुले दिक्षितको साथबाट मोबाइल समेत लुटेका थिए ।