बीबीसी हिन्दी । सोमबार साँझ पाँच बजेको समय । एकजना दूब्ली, पातली र छोटो कद भएकी युवती जेएनयू विश्वविद्यालयको साबरमती होस्टेलको खाली चौरमा कारबाट झरिन् । टाउकोभरि पट्टी बाँधिएको थियो । चोट लागेको प्रष्ट देखिने हातहरुमा ब्याण्डेज बाँधिएको थियो ।
सयौँको संख्यामा रहेको भीड उनकै पर्खाइमा थियो । उनी कारबाट झर्ने बित्तिकै उनको प्रतिक्षामा रहेका मानिसहरुको मुठ्ठीहरु आकाशतिर लहरिन थाले र सबैको मुखबाट एकै स्वर आयो, ‘लाल सलाम’ । सयौँ मानिसहरुको जोश देखेर उनी पनि मुस्कुराइन् ।

उनी थिइन्– ‘भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी विद्यार्थी युनियनकी अध्यक्ष आइशी घोष । उनी जेएनयूमा अन्तर्राष्ट्रिय अध्ययन विषयमा एमफिल गरिरहेकी छात्रा समेत हुन् । सामाजिक संजाल र भारतीय संचारमाध्यमहरुमा आइतबार साँझ उनै आइशाको एक भिडियो भाइरल बनेको थियो । उक्त भिडियोमा उनको टाउकोबाट रगत बगिरहेको थियो भने सोही रगतले उनको अनुहार पुरै रातो भएको थियो ।

सोमबार साँझ उनी फेरि क्याम्पस आइन् र आफ्ना साथिहरुसँग मिलेर आफुहरुको माग राखिन् । उनले जेएनयुमा कसरी नकावधारीहरु प्रवेश गरे र उनीहरुले कसरी विद्यार्थी नेताहरुमाथि आक्रमण गरे भन्नेबारे पनि बेलिबिस्तार लगाइन् ।

‘तपाईंहरु के गर्दै हुनुहुन्छ, यसरी किन आक्रमण गरिरहनुभएको छ ?’ मैले सोधिरहेँ, तर कसैले पनि सुनेनन् म माथि रड प्रहार भयो त्यसपछि म ढलेँ । होस्टेलभित्रै छिरेर गुण्डागर्दी गरिरहे, मैले प्रहरीलाई पनि सम्पर्क गरेँ तर उनीहरु आएनन् । मलाई मर्न डर छैन । हामीलाई आरएसएस र एबीवीपीको डर देखाउँछन् । जेएनयूको भिसी पनि उनीहरुसँगै छ, सत्ता उनीहरुको साथमा छ, प्रहरी पनि उनीहरुकै कन्ट्रोलमा छ तर पनि किन हामीसँग डराइरहेका छन ?’ आइशीले त्यहाँ उपस्थित भएको भीडलाई बेलिबिस्तार लगाउँदै थिइन् । यति बताउँदा सम्म आइशी निकै भावुक समेत बनेकी थिइन् । त्यतिबेला नै त्यहाँ उपस्थित भीडले ‘कामरेड आइशी घोषलाई लाल सलाम’ भन्दै हावामा हातको मुठ्ठ्ीहरु उठाए ।
क्याम्पसमा ३ दिनदेखि चलिरहेको तनाव
आइशी यस आक्रमणको आरोप भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबिभिपी) माथि लगाउँछिन् । उनका अनुसार एबिभिपी र उक्त संगठनलाई समर्थन गर्ने प्राध्यापकले बाहिरबाट गुण्डा बोलाएर सो आक्रमण गराएका हुन् । आइशीको आरोपमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन प्राध्यापक अश्विनी महापात्र समेत रहेका छन् । उनले पहिले देखि नै धम्की दिँदै आएको आइशी बताउँछिन् ।
आश्विनी महापात्रले भने धम्की दिएको अस्वीकार गरेका छन् । उनले विद्यार्थीकालमा आफु एबीभिपीको सदस्य रहेको कुरालाई भने स्वीकार गरेका छन । यद्यपी आइशीलाई भने नचिन्ने बताउँछन् । चिन्दै नचिनेको मान्छेलाई कसरी धम्कि दिनु ? उनले प्र्रश्न गरे । उनले आक्रमणको शुरुवात कसले गरेको भन्ने विषयमा पनि जान्न आवश्यक रहेका बताए । वामपन्थीहरुले रेजिस्ट्रेशन गर्न रोक लगाएर विश्वविद्यालयमा पढाई लेखाईलाई अवरोध गरेको आरोप लगाएका छन् । ‘उनीहरुले त गरेनन् ठिक छ तर अन्य रेजिस्ट्रेशन गर्न चाहनेलाई किन दिएनन् ? यो कुन लोकतन्त्र हो ?’ उनले प्रश्न गरे ।

विश्वविद्यालयभित्र विगत तीन दिनदेखि मारपीट चलेको महापात्र बताउँछन् । आइतबार ठूलो झडप भएको भएपनि रजिस्ट्रेशनको विषयलाई लिएर विगत तीनदिन देखि सामान्य झडप हुँदै आइरहेको उनी बताउँछन् । भाषिक विषयमा स्नातकोत्तर गरिरहेकी आइसा द्रिप्ता शनिबार घाइते भएकी थिइन् । सामान्य घाइते भएकी आइशा पनि क्याम्पस तीन दिनदेखि तनावग्रस्त बनिरहेको कुरालाई स्वीकार गर्छन् ।
वामपन्थी विद्यार्थीहरुमाथि पनि आरोप
शुल्कबृद्धीको बिरोधमा वामपन्थी विद्यार्थीहरुले पछिल्लो एक महिनादेखि क्याम्पसका विभिन्न भवनहरुमा तालाबन्दी गर्दै आएका छन् । जनवरीको पहिलो तारिखदेखि रजिस्ट्रेशन शुरु हुने भएकोले तालाबन्दी खोल्ने प्रयास समेत भएको थियो । तर शुल्क बृद्धीको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले भवनमा पुनः तालाबन्दी गरेका थिए ।
तालाबन्दी र रस्साकस्सी भइरहँदा त्यहाँ अर्को समुहको विद्यार्थी पनि देखिएका थिए । सो समुहमा एबीबीपीका समर्थकहरु पनि ठूलो संख्यामा उपस्थित थिए । उनीहरु रेजिस्ट्रेशन संचालन होस् भन्ने चाहन्थे । यही वादविवादमा धक्कामुक्को अवस्था सिर्जना भयो । अनलाइनमार्फत भइरहेको रजिस्ट्रेशनको सर्भर रुम बन्द गरियो । रजिस्ट्रेशन रोक्नका लागि सर्भर रुमको तार काटिएको आरोप छ ।
शुल्क बृद्धी फिर्ता नभएसम्म नयाँ भर्ना र रजिस्ट्रेशन हुन नदिने वामपन्थी विद्यार्थीहरुले अडान लिएका छन् । यस कुरामा क्याम्पसका अन्य प्राध्यापकहरुले समेत समर्थन जनाएका छन् तर उनीहरु रजिस्ट्रेशन गर्न चाहने विद्यार्थीहरुलाई रोक्न नहुने पक्षमा रहेका छन् । आफ्नो नाम दर्ता गर्न चाहने विद्यार्थीहरुलाइ पनि रोक्न खोज्नु गलत भएको जेएनयू शिक्षक संगठनका अध्यक्ष प्राध्यापक डीके लोबियाल बताउँछन् ।
आइतबारको जस्तो स्थिति पहिले पनि आएको तर विश्वविद्यालय प्रशासनले जे हुन्छ हुन दिएको बताउँछन् । यदि कोही भर्ना हुन चाहन्छन् भने हुन दिनुपर्छ जेएनयु विद्यार्थी संगठन यसलाई किन रोक्न चाहन्छ ।’ उनले प्रश्न गरे । यसको जवाफमा जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका उपाध्यक्ष साकेतले युनियनको निर्णयअनुसार नै नयाँ भनाको बहिस्कार गरिएको बताएका छन् । उनले विद्यार्थीहरुलाई जबरजस्ती बहिस्कार गर्न लगाएको भन्ने आरोप अस्वीकार गरेका छन् । ‘भर्ना हुन चाहनेलाई भर्ना हुन दिएका छौँ’ उनले भने, ‘हामिले केही मागहरु राखेर भवनमा तालाबन्दी गरेका हौँ ।’
जेएनयूका प्राध्यापक के भन्छन् ?
शुल्क बृद्धी र भर्ना रोकमा प्राध्यापकहरुको आ–आफ्नै धारणा राखेका छन् । केही प्राध्यापकहरुले युनियनको यस्तो काम गलत रहेको बताएका छन् । केहीले भने जेएनयूएसयुको निर्णयको स्वागत गरेका छन् । स्कुल अफ इन्टरनेशनल स्टडिज (एसआइएस) एक प्राध्यापक विद्यार्थी युनियनले उठाएको मागहरुमा सहमत भएको बताउँछन् । विश्वविद्यालयमा झडपको विषयमा भने प्रशासन सतर्क हुनुपर्ने बताए ।
एसआईएसका डीन आश्विनी महापात्र भने युनियनको निर्णय गलत भएको बताउँछन् । भर्ना बहिस्कारको विपक्षमा रहेका विद्यार्थीलाई भने भर्ना गर्न दिइनुपर्ने उनको भनाई छ । तीन महिनादेखि विश्वविद्यालयको विभिन्न भवनहरुमा तालाबन्दी गरेर युनियनले मनोमानी गरेको समेत उनले आरोप लगाए । आइतबारको झडपमा अखिल भारतीय विद्यार्थी परिषदका विद्यार्थीहरु पनि घाइते भएको बताए ।
आक्रमणका घाइतेको वयान
मनिस जांगिड सोही विश्वविद्यालयका विद्यार्थी हुन् । होस्टेलको कोठमा बसिरहेको बेलामा उनीमाथि आक्रमण भएको थियो । आफुमाथि भएको आक्रमणको आरोप उनले वामपन्थी विद्यार्थीहरुलाई लगाएका छन् । आक्रमणबाट घाइते भएका उनको हातमा प्लास्टर गर्नुपरेको छ । युनियनका उपाध्यक्ष साकेतलाई यसबारेमा प्रश्न गर्दा विश्वविद्यालय प्रशासनले घटनाको छानविन गरिरहेको र संलग्नलाई कारवाहीको दायरामा ल्याउने बताए ।
दुबै समुहले आक्रमणको आरोप एकअर्कामाथि लगाएका छन् । होस्टेलका वार्डेन प्राध्यापक अमित मिश्रले होस्टेलमा आक्रमण भएको पुष्टि गरेका छन् । उनले अकास्मात आक्रमण भएको नभई दुई पक्षबिच यसअघि पनि तनाव रहेको बताए ।
आइतबार साँझ शाम आरजु पारोयार होस्टेलमा थिए भने दिक्षा साबरमती होस्टेलमा थिए । आरजु बताउँछिन– ‘साँझको ७ बजेको थियो । हामी क्यान्टिमा थियौँ । केहीसमय पछि एउटा समुह हातमा हथौडा र डण्डा बोकेर आएको देखियो । उक्त समुहमा कम्तिमा पनि २० जना महिला थिए । सबैले अनुहार ढाकेका थिए । यिनीहरुमध्य कोही पनि विद्यार्थीजस्ता देखिँदैन थिए । सबैको उमेर ३५ कटेको देखिन्थ्यो । यीनिहरुले हामिलाई लखेट्न शुरु गरे । हामी भाग्न थाल्यौँ । उनीहरु हामीलाई त्यस ठाउँबाट निस्कनको लागि चेतावनी दिँदै थिए । तर हामी कहाँ जान सक्थ्यौँ ? हामी उनीहरुबाट घेरिएका थियौँ ।’ त्यसपछि पारो बताउँछिन्– ‘हामी सबैलाई बेसरी कुटे । लखेट्दै कुटे । केही महिलाहरुको सिउँदोमा सिन्दुर पनि देखिएको थियो । हामीलाई कुटेर जंगलतीर भागे । हामी कुनै संगठनका विद्यार्थी पनि थिएनौँ । हामी निकै डराइरहेका थियौँ ।’
आक्रमणबाट कति घाइते भए भन्ने कुराको आधिकारीक संख्या नभएको उनीहरु बताउँछन् । कम्तिमा पनि २० देखि २५ जना व्यक्तिहरु घाइते भएको उनीहरुले अनुमान लगाए ।
समाधान कहिले ?
जेएनयूमा देखिएको समस्याबारे सेन्टर फर इकोनोमिक स्टडिज एण्ड प्लानिङका प्राध्यापक प्रवीण झा आइतबारको झडप मात्र समस्या नभएको बताउँछन् । जेएनयू मोदी सरकारको समस्याको रुपमा रहेको उनको धारणा छ । ‘खाशगरि अमित शाह जेएनयूको विद्यार्थीलाई सबैभन्दा ठुलो दुश्मनका रुपमा हेर्ने गर्दछन् । विश्वविद्यालयको उपकुलपतिको रुपमा पनि अयोग्य व्यक्तिलाई ठाडो नियुक्त गरिएको छ ।
विश्वविद्यायलमा यति ठुलो समस्या देखिँदा उपकुलपति मौन बस्छ । उनी सँग पनि यस प्रश्नको उत्तर छैन ।