
काठमाडौं, २३ पुस । राजधानीको बालाजु स्थित औद्योगिक क्षेत्र व्यवस्थपन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतको कार्याकक्षमा तालाबन्दी भएको छ । औद्योगिक क्षेत्रका कर्मचारीहरु अध्यक्ष बस्नेतले महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा बुधबार कार्यालय समय शुरु भएपछि तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि कार्यालय आएका अध्यक्ष बस्नेतले जबरजस्ती ताला खोली कार्यालय प्रवेश गरेका थिए । ताला खोल्ने क्रममा कर्मचारीसँग बस्नेतको झडप समेत भएको थियो ।
बालाजु औद्योगिक क्षेत्रकी एक महिला कर्मचारीलाई बस्नेतले हातपात गर्नुका साथै उनको साथमा रहेको मोबाइल समेत फुटाइदिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संघले निर्णय गरेरै बस्नेतको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
गत पुस २० गते बस्नेतले महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी गरेका थिए । बस्नेतले तालाबन्दी गरेपछि हालसम्म सिटौला आफ्नो कार्यक्षमा जान पाएका छैनन् । ताला खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्देशन दिँदा समेत बस्नेतले अटेरी गरेर बसेको पाइएको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार ४ वर्षका लागि नियुक्त भएर आएका सिटौलालाई बर्खास्ती पत्र दिएर क्षेत्र लिमिटेडबाट हटाउने बस्नेतको गैरकानुनी रबैया विरुद्ध कर्मचारी समेत एक जुट भएका छन् । अर्थमन्त्तालयले गत फागुनमा सिटौलालाई नियुक्ती गरेको हो । तर, बस्नेतले अर्थमन्त्रालयको कानुनी अधिकार नै हत्याएका छन् ।
आन्दोलनमा सहभागी एक कर्मचारीका अनुुसार अध्यक्ष बस्नेतको रबैया विरुद्ध कर्मचारीहरुले शान्तिपूर्ण रुपमा धर्ना र तालाबन्दी गरेका हुन् ।