‘हिटरनेट अफर’को नाममा वर्ल्डलिंकको ठगीधन्दा : पैसा तिरेको १७ दिनसम्म ग्राहकले हिटर पाएनन् !

दियो पोस्ट  

काठमाडौँ, पुष २३ । कठ्याङ्गिँदो जाडोमा हिटरको अफर आउँदा जो कोही पनि लालाहित हुनु स्वमाभिक हो । तपाईँ केही बस्तु वा सामान किन्नुहुन्छ भने सो बापत तत्काल अन्य कुनै सामाग्री अथवा सेवा पाउनुहुन्छ त्यही तपाईंका लागि अफर हो ।


विभिन्न कम्पनीहरुले आफ्नो व्यावसाय बढाउनका लागि यस्तो अफरहरुको प्रयोग गर्छन् । इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले अफरको नाममा ग्राहकलाई ठगी गरेको पाइएको छ । चिसो मौसममा ग्राहकलाई आकर्शित गर्नका लागि वर्ल्डलिंकले हिटरनेट अफर को नाममा ग्राहकनै ठगेको भेटिएको हो । वर्ल्डलिंकले यस योजनामार्फत एक बर्षको लागि नेट जोड्दा ग्राहकलाई सिजि कम्पनीको रुम हिटर दिइने भन्दै प्रचार गरेको थियो ।

अफर कार्यक्रम ल्याएपछि धेरै ग्राहकहरु आफुले प्रयोग गर्दै आएको इन्टरनेट छाडेर वर्ल्डलिंक जोडे । तर हिटरनेट अफरमा नेट जोडेको ३ हप्ता बितिसक्दा पनि वर्ल्डलिंकले हिटर भने नदिने गरेको पाइएको छ । सामाजिक संजालमा वर्ल्डलिंकको अफिसियल पेजमार्फत भएको विज्ञापनको प्रतिक्रियाहरुमा ग्राहकहरुको आक्रोशले भरिएको छ ।


सामाजिक सञ्जाल फेसबुकमै सुरेश काफ्ले पनि आफुले अफरबापत हिटर नपाएको रोश प्रकट गर्छन् । ‘जाडो समयको अफर जाडो सक्किएपछि मात्र दिने हो ?,’ उनको प्रश्न छ । धेरै ग्राहकहरुले आफुले समयमा नै अफरबमोजिमको हिटर नपाएको बताउँछन् । टेलिफोन, मेसेज, तथा कार्यलयमै उपस्थित भएर पटकपटक ताकेता गर्दासम्म पनि वर्ल्डलिंकले विभिन्न किसिमका बहाना गर्ने गरेको ग्राहकको आरोप छ । हेमन्त भण्डारी आफुले अफरमार्फत नेट जोडेको १४ दिन भइसक्दा पनि हिटर नपाएको बताउँछन् । दिपेन सायमी नाम गरेका अर्का ग्राहक आफुले १७ दिन बितिसक्दा पनि हिटर नपाएको बताउँछन् ।

अफरबापतको हिटर पाउनका लागि आफु तीनपटक सम्म कम्पनीको कार्यलय पुगेको अञ्जित शाही बताउँछन् । कम्पनीमा हिटर नभएको, स्टक सक्किएको प्रतिक्रिया पाएपछि आफुहरु त्यत्तिकै फर्किनुपरेको ग्राहकहरु बताउँछन् । ‘अफर दिने भएपछि स्टक तयारी अवस्थामा राख्नुपर्छ’ सामाजिक संजालमा हरि अर्याल लेख्छन्, ‘पैसा लिनुपर्यो भने एक हप्ताभन्दा अगाडी देखि इमेल आउँछ, आफूले दिने बेलामा चाहिँ वास्ता गर्दैन ।’

आफुहरुको गुनासोमा वर्ल्डलिंकले विभिन्न बहानाबाजी गर्दै समय लम्ब्याउने गरेको ग्राहकहरु बताउँछन् । सामाजिक संजालमा आएका गुनासोहरुको जवाफमा पनि विभिन्न कारणले गर्दा अफरवापतको हिटर उपलब्ध गर्न ढिलाई भएको भन्दै माफी मात्र मागिने र चाँडै नै उपलब्ध गराइने प्रतिवद्धता दिइन्छ र व्यावहारमा भने सोही पुरानै प्रवृत्ती देखाइन्छ ।

एकजना ग्राहक आफूले १३ डिसेम्बर अर्थात मंसिर २७ मै हिटरनेट अफर लिएको तर हालसम्म पनि अफरबापतको हिटर नपाएको बताएका छन् । उनले फेसबुक बाट आफुले कहिले सम्म हिटर पाउने हो भन्दै वल्डलिंकसँग प्रश्न गरेको छन् । प्रश्नको उत्तरमा कम्पनीले उनलाई चाँडै नै सम्पर्क गर्ने उल्लेख गरेको थियो ।


१७ हजारको अफर भनेर २२ हजारको असुली !

यता सुशील श्रेष्ठ पनि आफूलाई वर्ल्डलिंकले नराम्रोसँग झुक्याएको थियो बताउँछन् । उनले रविना श्रेष्ठको एकाउन्टबाट वर्ल्डलिंकबाट एक वर्षका लागि हिटरसहितको इन्टरनेट जोडे तर हिटर कहिल्यै आएन ।

उनले आफूले पाउने अफर नपाएको भन्दै फेसबुकमै कमेन्ट गरे तर आएन । निकै प्रयास गरेपछि हिटर त आयो तर कोठामा तातो नै भएन । ‘यो त सरासर ठगी हो । विजुलीको पैसा मात्रै उठ्ने रहेछ,’ उनले भने । हिटरको अफरमा १७ हजार भनेर किन २२ हजार लिइयो भनेर उनले वर्ल्डलिंकलाई सोधे जवाफमा वर्ल्डलिंकले विभिन्न उपशिर्षक राखेर हिसाब देखाइदियो ।


कान्तिपुर दैनिककै पत्रकार ठगिए !

कान्तिपुर दैनिकका चर्चित फोटो पत्रकार हुन्–प्रकाशचन्द्र तिमिल्सिना । उनै तिमिल्सिना समेत वर्ल्डलिंकको शिकार बनेका छन् ।


‘इन्टरनेट जोडेपछि बिल दिइन्छ र हिटर लिनका लागि बिल लिएर कार्यलयमा उपस्थित हुनु पर्ने बताइन्छ । सोही अनुरुप म पनि हिटर लिनको लागि बिल लिएर पुगेँ । तर कम्पनीले ५/६ दिन लाग्ने बतायो,’ उनले लेखेका छन्,‘यो त सरासर चिटिङ भएन र ? भन्दै प्रश्न गरेँ । आज भर्खर बुकिङमा गएकोले समय लाग्ने कर्मचारीले बताए । अफर भनेको तुरुन्तै आउनुपर्ने होइन र ? मेरो प्रश्नमा कुनै जवाफ आएन ।’

इन्टरनेटको स्पीडमै ग्राहकको असन्तुष्टि


अधिकतम ग्राहकहरुले इन्टरनेटको स्पीडमा नै गुनासो गरेको भेटिन्छ । धेरै एमबिपिएसको पैसा लिएर थोरै एमबिपिएसको मात्र इन्टरनेट सेवा दिएर ग्राहकलाई ठगी गरेको समाचार यसअघि नै दियोपोस्टमा प्रकाशित भइसकेको छ ।

वर्ल्डलिंक प्रयोगकर्ताहरु विभिन्न अफरबाट ग्राहक आकर्षित गर्नुभन्दा उत्कृष्ठ सेवा दिएर ग्राहकहरुलाई आकर्षित गर्नुपर्ने बताउँछन् । कम्पनीसँग जतिको सम्झौता हुन्छ त्यो भन्दा थोरै स्पीड हुने, बारम्बार समस्या आउने, कहिलेकाँही घण्टौँसम्म नचल्ने आदी वर्ल्डलिंकका ग्राहकहरुका लागि नियमित समस्या हुन् । कम्पनीले यसतर्फ ध्यान दिनुपर्ने एक ग्राहक बताउँछन् ।

वर्ल्डलिंकका मालिक दिलिप अग्रवाल

ग्राहकमाझ अफवाह फैलाउँदै

वर्ल्डलिंकले धेरै एमबिपिएसको पैसा लिएर थोरै एमबिपिएसको इन्टरनेट सेवा दिएको विषयमा दियोपोस्ट डटकममा समाचार समेत प्रकाशन भएको थियो । प्रकाशित समाचार रोक्न वर्ल्डलिंकले प्रेस काउन्सिल नेपालमा उजुरी गरेको थियो । तर उजुरी अनुसार दियोपोस्टमा खण्डन समेत छापिएको हो । दियो मिडियाद्वारा प्रकाशित दियोपोस्ट डटकम सुचना विभागमा दर्ता भएको र प्रेस काउन्सिलमा सुचिकृत भएको अनलाइन समाचार पोर्टल । यहाँ प्रकाशित समाचारको विषयलाई लिएर वर्ल्डलिंकले साइबर अपराधमा कुनै पनि स्थानमा उजुरी वा मुद्दा हालेको छैन । तर वर्ल्डलिंकले भने सामाजिक सञ्जालमा दियोपोस्टमा प्रकाशित समाचारको स्क्रीन सर्ट कमेन्ट गर्ने ग्राहकलाई झूटो विवरण उल्लेख गर्ने गरेको पाइएको छ ।

फेसबुकमा दिक्षा थापाले वर्ल्डलिंककलाई मेन्सन गर्दै सोही समाचारको स्क्रिनसटसहित प्रश्न गरिन, ‘यो के हो ?’ वर्ल्डलिंक कम्युनिकेशन नाम गरिएको फेसबुक पेजमार्फत समाचार तथ्यहिन भएको उत्तर दिएको भेटिएको छ । त्यतिमात्र होइन समाचार लेख्ने ब्यक्तिलाई साइबर कानुनमार्फत कारवाहीको दायरामा ल्याइएको र आवश्यक जरिवाना तिराइएको समेत भ्रमपुर्ण सुचना प्रवाह गरिएको छ । वर्ल्डलिंकले छरेको यस्ता भ्रममा नपर्न हाम्रा पाठकहरुलाई अनुरोध गर्दछौँ ।


वर्ल्डलिंक भन्छ,‘स्टक नभएर दिन सकेनौँ’
हिटर अफरको नाममा सर्वसाधरण ग्राहकमा ठगी धन्दा चलाएको विषयमा दियोपोस्टले वर्ल्डलिंकको कार्यालयमा सम्पर्क गर्दा शुरुमा मिडियासँग बोल्न अस्विकार गरियो । निकै प्रयासपछि सेल्स एण्ड मार्केटिङ शाखाकी रुविना शाक्यले फोन उठाइन् । उनका अनुसार हिटर स्टक नभएर केही ब्रान्चमा मात्रै यस्तो समस्या भएको हो ।

यो पनि पढ्नुहोस्

ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड !