काठमाडौं, १ माघ । प्रतिष्ठित मिडिया मालिकदेखि बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओसम्म ३ दर्जनभन्दा बढी व्यक्तिले किर्ते गरी आफ्नो करोडौंको जग्गा हत्याएको भन्दै राजधानीमा एक परिवारले अनसन शुरु गरेको छ ।
काठमाडौंको बबरमहल स्थित सडक विभाग नजिकैको सडक किनारमा काठमाडौं महानगरपालिका वडा नम्बर १० मिनभवनका गणेशलाल अवाले र रविन्द्र उप्रेति कठ्याङ्ग्रदो जाँडोमा अमरण अनसनमा बसिरहेका छन् । अवालेले आफ्नो जग्गालाई व्यापारिक मल बनाउने उद्देश्यले नारायण बहादुर कार्कीलाई दिएको र उनै कार्कीले विभिन्न व्यक्तिको मिलेमतोमा आफ्नो जग्गा विभिन्न व्यक्तिको नाममा किर्ते कागजात तयारी पारी राजिनामा पास गरी ठगि गरेको कारण आफू घरबार विहिन हुनुपरेको बताए ।

अवालेको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० हाल ३२ को सिट नम्बर १०२–११८६–०४ को कित्ता नम्बर ३४१ क्षेत्रफल ४ रोपनी ८ आना, ३ पैसा १ दाम जग्गा भूमाफयाहरुले योजना बद्ध रुपमा ठगी गरेका कारण आफू घरबार विहिन भएको उनको भनाई छ ।
पीडितहरुले आफूहरुको जग्गा ठगी गर्ने व्यक्तिहरुको नाम नै ब्यानरमा उल्लेख गरेका छन
। नारायण बहादुर कार्की, विजुली माफिया मनोजकुमार मिश्र, सन्तोष खनाल, अरुणलाल श्रेष्ठ, प्रविर सम्शेर जबरा, चन्द्र कुमार कार्की, अन्नपूर्ण मिडियाका मालिक क्याप्टेन रामेश्वर थापा, सुरेशराज घिमिरे, बलाजु औद्योगिक क्षेत्रका अध्यक्ष नन्द किशोर बस्नेत, रामकृष्ण हुमागाई, घरजग्गा दलाल कालु गुरुङ, सचला श्रेष्ठ, अनुजमान सिं श्रेष्ठ, डिल्लीबजार मालपोत प्रमुख पद्मनिधि सोती, कुमारी बैंकका सिइओ उदय कुमार उपाध्याय, सोही बैंकका सहायक सिइओ राजिव गिरी, कर्जा विभाग प्रमुख नरेन्द्र छत्कुली, सोही बैंकका कर्मचारी सञ्जीव सैजु, दिनेशनाथ तिवारी, डिल्लीबजार मालपोत कार्यालयका अधिकृत गोपाल गिरी, नासु पिताम्बर भण्डारी, नासु गोरखबहादुर खड्का, नासु खेम नारायण श्रेष्ठ, शाखा अधिकृत प्रकाश चौलागाईं, तत्कालिन मालपोत प्रमुख टिकाराम घिमिरे, सुर्य प्रसाद अधिकारी, सुर्यकान्त झा, चनुमाया श्रेष्ठ, प्रेम बहादुर खापुङ र विक्रम प्रसाद पाण्डेको मिलेमतोमा आफ्नो जग्गा ठगी भएको बयानरमा उल्लेख छ । काठमाडौं जिल्ला अदालत फिराँद फाँका फिराद जाचक अधिकृत टिकासिंह खत्रीले समेत जग्ग ठगीमो जालसाँझीमा सहयोग गरेको पीडितको भनाई छ ।
अवालेको नाममा रहेको ४ रोपनी ८ आना जग्गा मात्रै होइन उनको नाममा रहेको दुई तले २ वटा घर समेत भत्काइदिएको र उक्त घरजग्गा आफूलाई थाहा नै नदिइ डिल्ली बजार मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते कागजात बनाई राजिनामा पास गराइदिएको उनीहरुले बताए ।
‘मैले जग्गा भाडामा दिएको थिएँ । बैंकमा दृष्टिबन्धकी राख्नका लागि भनेर छाप लगाउन बालाए । मैले छाप लगाइदिएँ । सोही छापका आधारमा मेरो जग्गा राजिनामा पास गरी लगेछन्,’ अवालेले आफूसँग भएको करार देखाउँदै भने,‘क्याप्टेन तथा मिडिया मालिक रामेश्वर थापा लगायत ठूलो गिरोहले मेरो जग्गा खाए ।’
अवालेको जग्गा ठगीमा ठूलो संगठित धन्दा नै चलाइएको देखिन्छ । हाल बालाजु औद्यागिक क्षेत्रका अध्यक्ष समेत रहेका नन्द किशोर बस्नेतको नाममा रहेको परमा डेप्लोपर्सको नाममा सोत यो जग्गा गएको देखिन्छ । माथि उल्लेखित व्यक्तिहरुले अवालेको जग्गा कम्पनिदेखि कम्पनिका नाममा पास गर्दै संगठित धन्दा नै चलाएको प्रमाणहरुले देखाउँछ । हामी यसको विस्तृत रिपोर्ट छिटै सार्वजनिक गर्नेछौँ ।
अमरण अनसनमा बसेका उनीहरुले ३ दिनदेखि पानी समेत खाएका छैनन् ।