पर्यटन क्षेत्रमा नेकपालाई चौथो लज्जास्पद हार : नाट्टाको अध्यक्षमा अच्युत गुरागाईं !

दियो पोस्ट  

काठमाडौँ, माघ ४ । पर्यटन व्यवसायका विभिन्न संगठनहरुमा सत्तारुढ दल नेकपा निकट उम्मेदवारहरुले लगातार पराजित भइरहेका छन् । पर्यटनसँग सम्बद्ध संस्थाको नेतृत्वको लागि भएको निर्वाचनमा सत्तारुढ नेकपा निकटका उम्मेदवारहरुलाई पराजित गर्दै प्रतिपक्षी दल निकट पर्यटन व्यवसायीहरु विजयी भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रकै आन्तरिक द्वन्दका कारण पर्यटन क्षेत्रमा नेकपाले आफ्नो साख गुमाउन थालेको छ ।

शुक्रबार नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नेतृत्वको लागि भएको निर्वाचनमा काँग्रेस निकट उम्मेदवार अच्युत गुरागाईँ विजयी भए । उनी नेकपा निकट उम्मेदवार भीमप्रसाद पन्तलाई पराजित गर्दै नाट्टाको नेतृत्व तहमा पुग्न सफल भए ।


त्यस्तै केही अघि ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा नेकपाले आफ्नो आधिकारिक उम्मेदवार अर्जनलाल प्रधानलाई उठाएको थियो । विवादित पृष्ठभूमिका प्रधानलाई उम्मेदवार बनाएको भन्दै नेकपा भित्र असन्तुष्टि थियो । दुर्भाग् यगत जेष्ठमा भएको परिषदको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यावसायीहरुको नेतृत्व गर्ने प्रकाश नरसिंह राणा विजयी बने ।

भदौमा पर्यटन व्यावसायीको अर्को संगठन ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) को निर्वाचन भयो । नेकपा निकट उम्मेदवार कुमार थापा (अञ्जान)लाई ८३ मतले पराजित गर्दै काँग्रेस निकट खुम बहादुर सुवेदी अध्यक्षमा निर्वाचित भए । टानको ४१ औँ बार्षिक साधारण सभाबाट वामपन्थी समुहबाट उम्मेदवारी दिएका थापाले ४ सय ३८ मत प्राप्त गरेका थिए ।

त्यसको एक महिना अघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) को निर्वाचन भएको थियो । बासुदेव पाण्डे र ध्रुव सिंखडा भिटोफको नेतृत्वको लागि चुनावी मैदानमा उत्रिएका थिए । सिंखडा पूर्व विद्राही एमाले, काँग्रेस र नयाँ शक्ति निकटका व्यवसायीहरु थिए । बासुदेव पाण्डेलाई तत्कालिन एमाले तर्फका पर्यटन विभाग इन्चार्ज सुर्य थापाको आशिर्वाद थियो । पूर्व माओवादीले पनि साथ दिएका थिए । तर, पाण्डेलाई हराउँदै सिंखडाले बाजी मारे । आन्तरिक द्वन्द र किचलोकै कारण भिटोफ अहिले अस्तव्यस्थ अवस्थामा छ ।

पर्यटन संगठनको नेतृत्वमा सत्तारुढ दलको पराजय हुनुमा पुर्वएमालेको हस्तक्षेप भएको एक व्यवसायीले बताए । उम्मेदवार चयनमा हस्तक्षेप भएको कारण नतिजा उल्टो आएको उनको भनाई छ । टानको निर्वाचन हुँदा पर्यटनमन्त्री रहेका योगेश भट्टराईले ठाडो तरिकाले कुमार थापालाई अध्यक्षमा उठाएका थिए । सहमतीविना नै उम्मेदवार बनाइएको कारण नै पराजय भोग्न परेको नेकपा निकट एक व्यवसायीले बताए ।


हाल नाट्टाको निर्वाचनमा यसअघिका अध्यक्ष सिएन पाण्डेको नेतृत्वमा महासचिव रहेका पन्तलाई अध्यक्षको उम्मेदवार बनाउँदा यस्तो परिणाम आएको ती नेताको विश्लेषण छ ।


स्रोतका अनुसार पूर्व एमालेको एउटा समुहले नाट्टाको निर्वाचनमा कांग्रेस निकट चापागाईंलाई भोट नै मागेको थियो । ‘केही उच्च तहका नेताको समेत फोन आउन थालेको थियो,’ ती व्यावसायी भन्छन्,‘पर्यटन क्षेत्रमा नेकपाका लागि यो भन्दा ठूलो झड्का अरु के हुनसक्छ ।’