बालाजु औद्योगिक क्षेत्र अध्यक्ष बस्नेतको ‘हर्कत’ : श्रीमतीको सरुवा रोक्न ‘जिएम’माथि हातपात !

दियो पोस्ट  

काठमाडौं, ४ माघ । गीतकार चाँदनी शाहले एउटा गीत लेखेकी थिइन्–एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा….। स्वर सम्राट नारायण गोपालले गाएको यो गीत जस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय बालाजुमा ‘एउटा मान्छेको मायाले’ औद्योगिक क्षेत्र नै तहस नहस हुने भएको छ ।


मुलुक भर रहेका ७ सय भन्दाबढि उद्योगबारे नियमित अपडेटमा रहनुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केही दिनअघि लामो समय तालाबन्दीमा पर्यो । औद्योगिक क्षेत्रका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा गत हप्ता तालाबन्दी गरियो ।

तालाबन्दी कुनै कर्मचारीले आफ्नो सेवा सुविधा कटौती भएको वा युनियनको अधिकार हनन् भएको विषयमा थिएन । अध्यक्ष नन्द किशोर बस्नेतले कर्मचारी सरुवाको विषयलाई लिएर तालाबन्दी गरेका थिए । अध्यक्ष महाप्रबन्धक सुवास सिटौलाले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै कर्मचारी सरुवा तथा पदस्थापना गरेका थिए । जसमा एक थिइन्–एकमाया थापा ।


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा बरिष्ठ अधिकृत प्रथम सातौँ तहमा कार्यरत उनलाई लिमिटेडले भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा पदस्थापना हुनेगरी केन्द्रीय कार्यालयको संकलन विभागमा खटाइएको थियो ।

गत पुस १६ गते देखि नै लागु हुने गरी भएको सरुवाको विरोधमा उत्रिने प्रमुख व्यक्ति थिए – अध्यक्ष नन्द किशोर बस्नेत । कारण–एक माया थापा बस्नेतकी श्रीमति हुन् । आफ्नो श्रीमतीको सरुवा भएको विरोधमा उनले सिटौलालाई विभिन्न दबाव नदिएका होइनन् ।


कर्मचारी सरुवा भएको २ दिनपछि बस्नेतले सिटौलालाई धन्यवाद दिँदै उमेर हदका कारण अवकास पत्र थमाए । अर्थ मन्त्रालयको सिफरिसमा नियुक्त भएका सिटौलाई हटाउने अधिकार मन्त्रिपरिषद र अर्थ मन्त्रालयलाई मात्रै छ । तर बस्नेतले मन्त्रीपरिषद र अर्थमन्त्रालयकै अधिकार दुरुपयोग गर्दै महाप्रबन्धक सिटौलालाई अवकास पत्र दिए ।


‘एक माया थापा बस्नेतकी श्रीमती मात्रै होइन कर्मचारी युनियनको अध्यक्ष पनि हुन् । तालाबन्दी पछि बस्नेतको पछि लागेर सिटौलामाथि हातपात गर्न उनी पनि अघि सरेकी थिइन्,’ एक कर्मचारी भने,‘एभिन्युज टेलिभिजनमा प्रशारण भएको भिडियोमा प्रष्ट देखिन्छ ।’

श्रीमतीको सरुवा विरुद्ध बस्नेत यति लागेकी आफ्नो कार्यकक्षमा रहेका बस्नेतलाई हात नै हाल्न पुगे । उनले धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बन्यो ।


बस्नेतको श्रीमती एकमाया थापाको सरुवा बदर गर्न मन्त्रालयले पत्र काटेपछि भने औद्यागिक क्षेत्र व्यवस्थपान कार्यालयका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी खुलेको छ ।

श्रीमती मार्फत बस्नेतले औद्योगिक क्षेत्रमा लुट धन्दा नै मच्चाएको एक उच्च तहका कर्मचारीले बताए ।