‘भूकम्पमा रेडक्रसमा ब्रम्हलुट’ : धादिङ रेडक्रसका पदाधिकारीले ५/५ लाख रुपैयाँ बुझेको खुलाशा

दियो पोस्ट  

काठमाडौं । २०७२ सालमा मुलुकमा विनाशकारी भूकम्प आयो । सोही भूकम्पका कारण १० हजार भन्दा बढी सर्वसाधरणले ज्यान गुमाए । लाखौँ जनता घरबार विहिन बने । भूकम्पपछि सहयोगका लागि नेपालमा धेरै विदेशी दातृ निकायले तदारुकता देखाए । नेपालमै रहेको नेपाल रेडक्रस सोसाइटीले पनि सहयोग नगरेको होइन । तर, नेपाल रेडक्रस पदाधिकारीले उक्त भूकम्पमा आएको राहत रकममा ब्रम्हलुट मच्चाए । अध्यक्ष सञ्जीव थापासहितका उच्च अधिकारीलाई विभिन्न निकायले छानबीन समेत गर्यो । तर हालसम्म कानुनी कारबाही भने भएको छैन ।
रेडक्रसको जिल्लामा रहेका पदाधिकारीले सोही भूकम्पमा गरेको आर्थिक अनियमितताको विषय पनि राम्रै चर्चा भयो ।

रेडक्रसको तथ्यांकअनुसार केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरुले तलबलाई घुमाउरो पाराले मासिक अनोरियम भनेर लुट मच्चाएका थिए । उनीहरुले २०७२ असार २५ गतेको निर्णयबाट लुट नै मच्चाएका थिए ।

उनीहरुले रेडक्रसबाट अनोरियम त बुझे तर कर भने बुझाएका थिएनन् । कर नबुझाएपछि जिल्ला प्रशासन कार्यालयले पत्र नै काटेको थियो । धेरै रकम बुझेर राज्यलाई कर भने नतिर्ने र लुट मच्चाउँदै आएका रेडक्रस धादिङका पदाधिकारीले चुनाव नजिकिएपछि करको रकम दाखिला गरेको खुलाशा भएको छ ।


केही समय रेडक्रसको केन्द्रीय कोषाध्यक्ष समेत बनेका हाल धादिङ रेडक्रस सभापति सिताराम कोइरालाले सबैभन्दा धेरै अनियमितता गरेको रेडक्रस कर्मचारी बताउँछन् ।


उनले आफूले गरेको अनियमितता बापतको कर दाखिला गरेको स्रोत बताउँछ । त्यस्ते उपसभापति नारायण तिमिल्सेना र कोषाध्यक्ष दुर्लभ कुमार तामाङले पनि कर बुझाएको बताइएको छ । आगामी माघ २४ गते आयोजना गरिएको जिल्ला रेडक्रसको वार्षिक साधारण सभाको मुखैमा आफू चोखो बन्न कर बुझाएको बताइएको छ ।


स्रोतका अनुसार जिल्ला सभापति सिताराम कोइरालाले रु ५ लाख भन्दा बढी रकम बुझेका थिए । उनले कर कार्यालयमा ७५ हजार रुपैयाँ कर बुझाएका छन् । यसबाट हेर्दा उनले करिब साढे ६ लाख रुपैयाँ लिएकाे खुलस्त हुन्छ । एक प्रतिशत भने यसअघि नै बुझाएको कोइरालाले बताए ।


त्यस्तै उपसभापति तिमिल्सेना र कोषाध्यक्ष दुर्लभकुमार तामाङले पनि सोही हाराहारीकै रकम बुझेका थिए । ‘मैले र कोषाध्यक्षले ६५ हजार ५ सय रुपैयाँका दरले कर बुझायौँ,’ तिमिल्सेनाले दियोपोस्टसँग भने,‘एक प्रतिशत अगाडी नै बुझाएका हौँ ।’ करलाई आधार मानेर हिसाब किताब गर्दा करिब पाँच लाख रुपैया उनले आफ्नो गोजिमा हालेको स्पष्ट देखिन्छ ।

सभापति कोइरालाले आफूहरुले १५ प्रतिशत रकम बुझाएको बताए । उनले आफूले दाखिला गरेको रकम हेरेर मात्रै भन्न सक्ने बताए ।


सभापति सिताराम कोइरालाले ३ जना सदस्य मनोनित गरेका छन् । जसमा एक जना महिला हुनुपर्ने विधानमै व्यवस्था छ । तर उनले विधानको धज्जी उडाउँदै ३ नै जना पुरुष सदस्य मनोनित गरेका थिए । त्यति मात्रै होइन सभापति कोइराला र कोषाध्यक्ष दुर्लभ कुमार तामाङ २०७२ साल बैशाख १८ गतेदेखि आजको दिनसम्म रेडक्रस जिल्ला शाखा भवनमा नै दुवै जनाले अड्डा जमाएर बसेको छन् ।


यस विषयमा प्रतिक्रिया लिन कोषाध्यक्ष दुर्लभ कुमार तामाङको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सिफारिस