थोपल खोला र आँशी खोला दोभान ‘कब्जा’ : सार्वजनिक जग्गामा अवैध धन्दा चलाउने को–को ?

दियो पोस्ट  


दियोपोस्ट संवाददाता


धादिङ, ८ माघ । धादिङको सदरमुकाम धादिङवेशी थोफ खोला, अरुण खोला र आँसी खोलाको बीचमा पर्छ । तर, सदरमुकाममा बढ्दो जनघनत्वका कारण खोलाहरु क्रमश सुक्ने र फोहोर हुने क्रम बढेको छ । त्यतिमात्रै होइन भूमाफिया र स्थानीय व्यापारीहरुले खोला नै कब्जा गरेर अवैध रुपमा घर टहरा बनाइरहेका छन् ।


निलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पुछारबजारमा दुई वटा नदिको देभान छ । आँसी खोला र थोपल खोलाको दोभानमा यतिबेला मोटरपार्टस् र घर टहराले भरिएको छ ।


सुनौलाबजार पुरानो सदरमुकामदेखि शव साङ्कोष र मुरलीभन्ज्याङबाट शव ल्याएर सोही स्थानमा दाहसंस्कार गरिन्छ । त्यसकारण त्यो ठाउँमा पहिले घर टहरा थिएन । सार्वजनिक दोभान र खोलाले चर्चेको जमिन भएका कारण कसैले घर टहरा बनाएका थिएनन् । तर,यतिबेला भने भूमाफियाले खोलाको दोभानमा रहेको करिब ६ रोपनी जग्गामा अवैध घर टहरा र मोटरपार्ट बनाएका छन् ।
निलकण्ठ नगरपालिका वडानम्बर १२ मा पर्ने यो क्षेत्रको ६ रोपनी जग्गा हत्याउने प्रमुख पात्र हुन्–केशव प्रसाद रिजाल र सुरेन्द्र प्रसाद रिजाल ।


रिजाल परिवारले खोलाको सरकारी जग्गा कब्जा गरेर घर टहरा मात्रै बनाएका छैनन् भाडामा लगाएर समेत रकम अशुली गरिरहेका छन् । यो सुचना पाएको निलकण्ठ नगरपालिकाले घरटहरा भत्काउन ३५ दिने सुचना नै निकालेको छ ।


गत पुस २४ गते नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले खोला कब्जा गरेर बनाइएको घर टहरा खाली गर्न ३५ दिने सुचना नै निकालेको छ ।


त्यस्तै धादिङ जिल्ला ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ मैदी उखुबारीका दामोदर भट्टले पनि खोला कब्जा गरी मोटरपार्टस सञ्चालन गरेका छन् । भूमाफिया केशर प्रसाद रिजालकै आफन्त समेत रहेका उनले खोलाको ओइलानी जग्गामा भूमिका मोटरपाट्स सञ्चालन गरेर अकुत सम्पत्ति कमाउँदै आएका छन् । मैदीकै अर्का अर्जुन अर्यालले पनि खोलाको सरकारी जग्गामा मोटरपार्टस तथा वर्कसप सञ्चालन गरिरहेका छन् । उनको स्वामित्वमा रहेको भिमसेन अटो मोटरपार्टसले सरकारी जग्गामै यस्तो धन्दा चलाइरहेको छ । नगरपालिकाले सोही मितिमा भिमसेन मोटरपाट्स र भट्टले सञ्चालन गरेको भूमिका मोटरपार्टसलाई टहरा खालीगर्न ३५ दिने सुचना निकालेको छ ।
सरकारी जग्गामा अवैध धन्दा चलाउने अर्का व्यक्ति हुन् गणेश कुमार श्रेष्ठ उनले सोही स्थानमा गणेश कुण्ड स मिल सञ्चालन गरेका छन् । गणेश कुण्डलाई पनि खाली गर्न नगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।


त्यस्तै लालबहादुर श्रेष्ठले शंखदेवि मोटरपार्टस र मण्डली मोटर पार्टस मार्फत खोलाको जग्गामा अवैध धन्दा चलाउँदै आएका छन् । उनको कम्पनि मण्डली मोटर पार्टसलाई ३५ दिन भित्र खाली गर्न नगरपालीकाले सुचना नै निकालेको छ ।

त्यस्तै सार्वजनिक जग्गामा राधिका बडी बिल्डर्स ग्यारेज सञ्चालनमा छ । स्थानिय राधिका थापा मगरले सञ्चालन गरेको उक्त ग्यारेजलाई पनि नगरपालिकाले खाली गर्न भनेको छ । तनहुमा लजरश विकले सोही स्थानमा अल्फा ओमेगा मोटर पार्टस् सञ्चालन गरेका छन् । जो सार्वजनिक जग्गामै पर्दछ ।


भूमाफिया र अवैध धन्दावालाको साँठगाँठमा निलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उद्व रिजालले किराना पसल सञ्चालन गरेका छन् । उनी आफू समेत श्रीमति सँगै अवैध टहरामै बस्दै आएको एक् स्थानियले दियोपोस्टलाई बताए । यता निलकण्ठ नगरपालिकाका शिक्षक शिव भट्टले सदिक्षा मोटर पार्टस सञ्चालन गरेर खोलाको जग्गामा धन्दा चलाइरहेका छन् । उनको धन्दा पनि नगरपालिकाले लगाम लगाउने तयारी गरेको छ ।