माओवादी महाधिवेशन : किलो सेरा टुको पहिलो गोली थाप्ने ‘ज्युँदो शहिद’माथि फेरी अन्याय !

diyopost.com
दियो पोस्ट  सोमबार, पौष १९, २०७८ | १:००:२२

 

धादिङ्ग । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द शत्र सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नामावाली वाचन गरेसँगै बन्द शत्र सकिएको छ ।

अध्यक्ष दाहालले विधान अनुसार बन्द शत्रमा समानुपातिक तर्फ १ सय ४५ र खुला तर्फ एक सय ११ जनाको नामावली प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रीय समितिमा धादिङबाट पुष्प विक्रम मल्ल, शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओम शर्मा र कल्पना धमलाको नाम केन्द्रीय समितिमा छ । मल्ल यसअघि नै केन्द्रीय समितिमा थिए । अन्य ४ जना भने नयाँ केन्द्रीय सदस्यका रुपमा पछि थपिएका व्यक्ति हुन् ।
धादिङ्गबाट केन्द्रीय समितिमा थपिएका मध्ये २०३६ सालदेखि मसाल हुँदै माओवादी राजनीतिमा सक्रिय रामबहादुर भण्डारीमाथि फेरी अन्याय भएको छ । २०३६ सालदेखि सक्रिय राजनीतिमा रहेका भण्डारी २०५२ सालदेखि भूमिगत भएका थिए ।

जनयुद्धकालमै उनका दुई भाई छोरा बेपत्ता भएका थिए । उनलाई तत्कालिन सरकारले किलो सेरा २ को अपरेशन चलाउँदा पहिलो गोली प्रहार गरेको थियो । प्रहरीले मृत्यु भयो भनेर फालेका भण्डारीलाई स्थानियले उद्दार गरेर अस्पताल पुर्याएका थिए । उनलाई नेता कार्यकर्ताले ज्युँदो शहिद भनेर सम्बोधन गर्ने गर्छन् । घाइते अवस्थामै ३६ महिना जेल समेत बसेका उनै भण्डारीलाई माओवादी केन्द्रीय समितिको सुचीमा नराखेपछि धादिङ्गका नेता कार्यकर्ताले चर्को विरोध गरेका छन् ।

जिल्ला इन्चार्ज शालिकराम जम्मकट्टेल भएपनि धादिङ्गको फिल्डको राजनीतिमा भने भण्डारी नै सक्रिय छन् । उनको नाम केन्द्रीय समितिमा नदेखेपछि कार्यकर्ताले ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्दै चर्को विरोधको स्वर सुनिन थालेको छ ।

यसअघि २०७० सालमा सम्पन्न निर्वाचनमा माओवादीले भण्डारीलाई समानुपातिक उम्मेवार बनाएको थियो । तर, समानुपातिकमा उनलाई उम्मेदवार बनाएर उनको नाममा आएको भोटप्रति गद्दारी गर्दै माओवादी केन्द्रले पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सांसद चयन गरेको थियो । पार्टीको निर्णयमा चित्त नबुझाउँदै कार्यकर्ताले जिल्लास्थित माओवादी कार्यालयमै आगजनी समेत गरिदिएका थिए ।

यसअघि सम्पन्न पार्टीको जिल्ला र प्रदेशको सम्मेलनमा भण्डारीलाई केन्द्रीय समितिमा लैजाने मौखिक आश्वासन नेताहरुले दिएका थिए । सोही कारण उनले जिल्ला सह इन्चार्जमै चित्त बुझाएर बसेका थिए । तर, केन्द्रीय समिति घोषणाका क्रममा उनको नाम कहिँ कतै सार्वजनिक नभएपछि कार्यकर्तामा फेरी विरोधको स्वर सुनिन थालेको छ ।

सम्बन्धित खबर